दिल्ली भ्रमणपछि प्रचण्डमाथि उठेको गम्भीर प्रश्न

60

काठमाडौं/ नेकपाका दुई घटक तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता सम्पन्न भए पनि दुई दलका आन्तरिक संगठनहरूका बीचमा एकता टुंगो भर्खर लाग्दैछ । दुई दलबीच भएको चुनावी गठबन्धनकै कारण जनमत पनि नेकपाकै पक्षमा छ । हाल दुईतिहाइ बहुमतको सरकार यसैको परिणाम हो भन्ने पनि स्पष्ट छ । लामो समयदेखिको अस्थिरताको शिकार हुँदै आएको नेपालको राजनीतिमा स्थिर सरकारको आगमनले थोरै पनि उत्साह थपिएको छ । पाँच वर्षसम्म बिना कुनै रोकटोक एउटै सरकारले सत्ताको नेतृत्व गर्दा स्वाभाविक रूपमा परिणाम पनि सकारात्मक नै देखिन्छ । कतिपय विषयमा सरकार अलोकप्रिय भएपनि चीनसँगको पारवाहन सम्झौता, भारतमा हुने भनिएको बिम्स्टेक संयुक्त सैन्य अभ्यासबाट पछि हट्ने जस्ता कतिपय विषयले सरकारको विश्वास पनि बढिरहेको छ ।

नेपालमा स्थायित्वको युग सुरु भएको अनुमानका बीच नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालको हालै भएको भारत भ्रमणले भने नेपाल पुनः अस्थिरतातर्फ धकेलिन सक्ने संकेत पनि गरेको छ । सरकारले गरिरहेका कामलाई सघाउन र विगतमा भएका सम्झौता र सहमतिको कार्यान्वयनमा जोड दिनका लागि भारतको भ्रमण गरेको भनी दावी गर्दैआएका दाहालले हालै भारतीय पत्रिकासँग गरेको अन्तर्वार्तामा प्रधानमन्त्री ओलीसँग लेनदेनको विषयमा बोलेका छन् । यत्तिमात्र होइन, दाहालले यस विषयमा भारतीय नेताहरूसँग पनि कुरा गरेको र आफूले जिम्मेवारी नपाउने अवस्थामा परिस्थितिअनुसार चल्न सक्ने संकेत समेत गरेका छन् ।

आफू प्रधानमन्त्री नभए पनि भारतीय प्रधानमन्त्री एवं कर्मचारीहरूबाट उच्च किसिमको सम्मान पाएको भन्दै हौसिएका प्रचण्डले नेपाल भित्र र विशेष गरी पार्टीको आन्तरिक विषयलाई समेत भारतीय नेताहरूसँग भनेको भन्ने कुराले उनको अस्थिर स्वभावलाई पुनः एकपटक उजागर गरिदिएको छ । विगतमा नेपालको आन्तरिक मामिलामा नेपाली नेताहरूले नै हस्तक्षेप निम्त्याएको आरोप लगाउँदै आएका दाहालले यसपटक आफैले आन्तरिक विषयमा भारतीय नेतृत्वलाई जानकारी गराएर आन्तरिक राजनीतिमा भारतीय भूमिकालाई आमन्त्रण गर्ने प्रयास गरेका छन् ।
दुईतिहाइको बहुमत सरकार नेपालमा रहेको र यसले आफू अनुकूल काम गर्न सक्ने सन्देश दिनुको साटो वर्तमान सरकारको आयु र आफ्नो सत्तारोहणका बारेमा भारतीय नेताहरूलाई जानकारी गराएर प्रचण्डले वर्तमान सरकार पनि पाँच वर्ष नटिक्ने कुराको संकेत गरेका छन् । आन्तरिक रूपमा जे–जस्ता सहमति वा समझदारी भएपनि त्यसका बारेमा जानकारी दिने निकाय भारत थिएन र होइन पनि । तर यसपटक दाहालले आफ्नो वास्तविक औकातलाई भारतमा छताछुल्ल पार्दै पुनः एक पटक नेपालको राजनीतिमा भारतीय हस्तक्षेपलाई घुमाउरो ढंगले आमन्त्रण गरेका छन् ।

पछिल्लो समय नेपालको राजनीतिमा भारतीय प्रभाव कम हुँदै गइरहेको अनुमानका बीच दाहालले हालै गरेको भारत भ्रमणका क्रममा आन्तरिक राजनीतिको जोड घटाउका बारेमा जानकारी गराउनु र त्यसका बारेमा सार्वजनिक सञ्चारमाध्यमलाई समेत जानकारी गराउनुले प्रचण्डको राजनीतिक दरिद्रतालाई सार्वजनिक गरिदिएको छ ।

सत्ता र शक्तिका लागि मुलुकलाई दशकभन्दा बढी युद्धमा होमेका दाहालले शान्ति प्रक्रियामा प्रवेश गरेपछि सत्ताका लागि धेरै खेल खेल्ने प्रयास गरे । जनता, पार्टी र कार्यकर्ताका लागि भन्दा पनि व्यक्तिगत फाइदाका लागि राजनीतिलाई प्रयोग गर्न कुशल खेलाडी साबित भइसकेका दाहाल व्यक्तिगत मोह र बुर्जुवा जीवन शैलीको पछि लाग्दा नेता कार्यकर्ताबाट एक्लिदै तत्कालीन एमालेसँग लगभग विलयको अवस्थामा पुगेका छन् । तर पनि देश र जनताप्रति त्याग गर्ने भन्दा पनि कसरी सत्तामा पुगिरहने भन्ने उनको राजनीतिक कुनियत अहिले पनि रोकिने संकेत छैन । जसले गर्दा आफ्नै पार्टी र सरकार भित्रका भद्र सहमतिलाई आन्तरिक रूपमा व्यवस्थापन गर्नुको साटो साउथ ब्लकमा लगेर पोखिदिएका छन् । यसले दशकौंदेखि नेपालको आन्तरिक मामिलामा अनावश्यक चासो राखेको आरोप खेप्दै आएको भारतलाई पुनः नेपालको राजनीतिक जोड घटाउमा संलग्न हुन सहज वातावरण सिर्जना गरिदिएको छ ।

दशकौंदेखि अस्थिर राजनीतिको शिकार हुँदै आएको नेपाल भर्खर स्थिरतातर्फ अघि बढ्ने प्रयास गरिरहेका बेला प्रचण्डले दिल्लीसमक्ष बिसाएको नेपालको आन्तरिक मामिलाले अशुभ संकेत गरेको छ । व्यक्तिगत स्वार्थका लागि पार्टी सिध्याएको आरोप खेप्दै आएका दाहालमाथि अब अर्काे प्रश्न पनि थपिने निश्चित भएको छ । मुलुकलाई सधैं अस्थिर र अन्य मुलुुकको क्रीडास्थल बनाएर दाहाल आखिर के चाहन्छन् ?-जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here