प्रकाण्ड फेरि गिरफ्तार, सरकारलाई अवहेलनामा कारबाही गर्ने सर्वोच्चको चेतावनी (भिडियो सहित)

3672

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले आज फेरि गिरफ्तार गरेको छ । सर्वोच्च अदालतले प्रकाण्डलाई पटक–पटक गिरफ्तार गरेकोमा सरकारलाई अवहेलनामा कारबाही गर्ने सम्मको चेतावनी दिएको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिएको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न यो समेत चौथो पटक आदेश दिएको हो । पटक–पटक आदेश दिइसकेको भएपनि सरकारले अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरी अर्को जिल्लामा पुर्‍याउने काम गरेको छ । प्रकाण्ड संविधानले प्रत्याभूत गरेको वैयक्तिक स्वतन्त्रताको हक उपयोग गर्न बञ्चित भएको भन्दै सर्वोच्चको आदेशमा भनिएको छ– ‘नागरिकको मौलिक हक कुण्ठित हुँदा मौलिक हकको प्रचलनका लागि यस अदालतबाट एउटै व्यक्तिको गैरकानूनी थुनाका सम्बन्धमा पटक–पटक आदेश जारी गर्नु परेको सन्दर्भमा कहिँ यस अदालतको आदेश निस्तेज पार्ने र छल्ने प्रयत्न गरिएको त होइन ?’

विधिको शासन भएको लोकतान्त्रिक मुलुकमा यस्तो कार्य कदायी क्षम्य हुन सक्दैन भन्दै सर्वोच्चले भनेको छ– ‘यस अदालतले गरेको आदेशको मर्यादाको र पालनाको लागि नेपालको संविधानको धारा १२८ उपधारा ४ को अधिनमा रही अन्य उपयुक्त आदेश समेत जारी गर्नुपर्ने अवस्था आउन सक्छ ।’ सर्वोच्च अदालतले यस्तो अवस्था आउन नदिन राज्यका निकायहरु अझ गम्भिर जिम्मेवार हुनुपर्ने तर्फ सजग गराएको छ ।

त्यस्तै नागरिकको वैयक्तिक स्वतन्त्रताको उपभोगको विषयमा सरकार तथा सरकार मातहतका निकायहरु असंवेदनशील र गैर जिम्मेवार हुने छुटका लागि अदालत मौन रहन नसक्ने चेतावनी पनि आदेशमा उल्लेख छ । अदालतले प्रकाण्डलाई सर्वोच्च अदालतका मुख्य रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको छ । प्रकाण्ड रिहा भए लगत्तै प्रहरीले गिरफ्तार गरी लगेको छ । आजै उमा भूजेल ‘शिलु’लाई पनि सर्वाेच्चले दोस्रो पटक रिहा गर्ने आदेश गरेको थियो । उनलाई पनि सर्वाेच्च परिसरबाटै प्रहरीले गिरफ्तार गरी लगेको छ ।

सर्वोच्चको आदेश यस्तो छ :

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here