प्रधानमन्त्री ओलीसँग निर्मला पन्तको बुवाआमाबीच झण्डै एक घण्टा लामो छलफल

115

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्मला पन्तको न्यायको माग राख्दै काठमाडौँ आएका कञ्चनपुरका यज्ञराज पन्त र उनकी पत्नी दुर्गादेवीले भेटघाट गरेका छन्। सोमबार बिहान बालुवाटारमा प्रधानमन्त्रीसँग उनीहरुको झण्डै एक घण्टा लामो छलफल भएको हो।

भेटमा प्रदेश ७ बाट प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेता, पूर्वमन्त्री सहित कञ्चनपुरबाट आएका महिलाअधिकारकर्मीहरु सहभागी थिए। खचाखच भरिएको भेटघाट कक्षमा प्रधानमन्त्रीको एक छेउमा उनको पार्टीका नेता भिम रावल बसेका थिए भने अर्को छेउ नजिकै बसेका थिए नेता लेखराज भट्ट।

प्रधानमन्त्रीको सामुन्ने सोफामा बसेर निर्मलाकी आमा दुर्गादेवीले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको घटनाको बृतान्त प्रधानमन्त्रीलाई सुनाइन्। उनले गुहार माग्दा सहयोग नगरेका कारण घटनामा प्रहरीको भूमिका शंकास्पद लागेको प्रधानमन्त्रीलाई बताइन्।

यसका साथै आफ्नी छोरी निर्मला हराएपछि खोज्न जाने क्रममा उनको साथी बबिता (जुन घरमा निर्मला गृहकार्य गर्न भनेर गएकी थिइन्) ले उखुबारी नजिकै साइकल भेटिएपछि लास पनि त्यतै होला भनेकोले घटनामा उनको संलग्नताबारे गहिरो छानबिन गरिदिन पनि प्रधानमन्त्रीलाई आग्रह गरिन्।

‘छोरी खोज्ने क्रममा साइकल भेटिएपछि शव पनि त्यतै होला भनेर बबिताले किन भनिन्रु त्यत्ति बेलासम्म त मेरो छोरी हराएको कुरा मात्रै थियो, हत्या भइसकेको अथवा मृत भइसकेको पूर्व जानकारी बबितालाई कसरी भयोरु प्रधानमन्त्री ज्यू यस कुरामा पनि छानबिन गरिदिनुपर्‍यो,’ दुर्गादेवीले प्रधानमन्त्रीलाई भनिन् ।

उनले त्यसो भनिरहँदा प्रधानमन्त्रीले शव सबैभन्दा पहिले कसले भेट्टाएको भनेर प्रश्न गरेका थिए। जवाफमा दुर्गादेवीले स्थानीय दीपक नेगीले भेट्टाएको भनेर जवाफ दिएकी थिइन्।

दुर्गादेवीले गहभरी आँशु पारेर प्रधानमन्त्रीसँग आफ्ना कुरा राखिरहँदा निर्मलाका बुवा यज्ञराज पन्त भने प्रधानमन्त्रीसँग बोलेनन्। उनी प्रधानमन्त्रीसँग भएको छलफलमा एकटकसँग टोलाएर बसिरहेका देखिन्थे।

दुर्गादेवीले प्रधानमन्त्रीलाई आफ्ना कुरा राख्ने क्रममा पटक पटक ‘न्याय पाउने आशा राखेर तपाईलाई भेटन आएको’ बताएकी थिइन्। उनले छोरीको बलात्कारपछि हत्या भएपछि आफू मानसिक र शारीरिक रुपमा समेत बिक्षिप्त भइसकेको बताउँदै चाँडोभन्दा चाँडो अपराधी पत्ता लगाउन आग्रह गरिन्।

दुर्गादेवीले आफ्ना कुरा राखिसकेपछि प्रधानमन्त्री ओली, ‘अब म आफ्ना केही कुरा राख्छु’ भन्दै बोल्न थालेका थिए तर उनलाई बिचमै रोके नेपाली कांग्रेसका नेता एनपी साउदले। उनले घटनाका सम्बन्धमा केही कुरा राख्न पाऊ भनेपछि प्रधानमन्त्री ओलीले टाउको हल्लाउँदै समर्थन जनाए।

साउदले निर्मला पन्तको हत्या घटनामा प्रहरीले चरम बदमासी गरेको उल्लेख गरे। उनले राज्यले गरेको अनुसन्धान र छानबिनले अहिलेसम्म नतिजा दिन नसक्नु दुःखद रहेको बताउँदै मानवीय सभ्यतामै कलंक लगाउने घटनाका अपराधी जोसुकै भएपनि पत्ता लगाएर कारबाही गर्न आग्रह गरे।

उनले आफ्ना कुरा राखिसकेपछि प्रधानमन्त्री ओली ‘ल ठीक छ म अब आफ्ना कुरा राख्छु’ भन्दै दोस्रोपटक बोल्न तम्सिए तर उनलाई फेरि रोके उनकै पार्टीका नेता भिम रावलले। म पनि थोरै कुरा राख्छु भन्दै रावलले प्रधानमन्त्रीसँग अनुमति मागे।

उनले निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा आफूहरु संवेदनशील रहेको जनाउँदै भने, ‘मेरा मित्र एनपी साउदले भनेझैँ अपराधी जोसुकै भएपनि कारबाही हुनेछ भन्नेमा सरकार प्रतिवद्ध रहेको हामीलाई विश्वास छ, प्रधानमन्त्रीज्यूले मातहतका निकायमा अपराधी पत्ता लगाउन दिनुपर्ने सबै निर्देशन दिईसक्नुभएको होला भन्नेमा म विश्वस्त छु।’

रावलले आफ्ना कुरा राखिसकेपछि प्रधानमन्त्री ओलीले तेस्रोपटक बोल्न खोज्ने प्रयास गरे। तर उनलाई तेस्रोपटक पनि बोल्न रोकियो। प्रधानमन्त्री बोल्न मात्रै के थालेका थिए निर्मलाका आमाबुवासँगै गएका अधिकारकर्मी महिलाहरुले ‘आफूहरुले पनि भनाइ राख्‍न पाउनुपर्ने’ भन्दै होहल्ला गरे।

‘तपाईहरुलाई दिनभरी बोल्न दिएर सकिदैँन कुराहरु सुनिसकियो अब मेरा कुराहरु पनि सुन्‍नुस् भन्दै प्रधानमन्त्री बोल्न थालेका थिए तर महिलाहरुले होहल्ला गरे, न्याय पाउनुपर्छ भन्दै एक महिला चिच्याइन्। उनलाई सुरक्षाकर्मीले बाहिर लगे। त्यसपछि प्रधानमन्त्रीको अनुमतिमा एक जना अधिकारकर्मी बोल्न थालिन्।

‘प्रधानमन्त्री ज्यू तपाईको अभिव्यक्तिले हामी कञ्चनपुरबासी रातदिन रोएका छौँ। तपाईलाई झुटो विवरण कसले सुनायो रु हामीले मेयरको घरमा कहिले निर्मलाको शव लग्यौँ भन्दै प्रश्न गरिन्। उनको प्रश्न सुनेर प्रधानमन्त्री ओली मुसुक्क हाँसेका थिए।

केही दिनअघि नेपाल टेलिभिजनमा प्रधानमन्त्री ओलीले कञ्चनपुरमा हत्या गरिएकी बालिकाको शव मेयरको घरको आगनमा लगेको जनाएका थिए तर उक्त कुरा झुटो रहेको कञ्‍चनपुरबासीको भनाइ छ। ती अधिकारकर्मी महिलाले प्रधानमन्त्री ओलीलाई मात्रै होइन उनको छेउमै बसिरहेका नेता भीम रावलतिर पनि प्रश्‍न तेर्साइन्, ‘तपाईँले निर्मला पन्तको हत्यापछिको आन्दोलनमा कांग्रेसले राजनीति गर्‍यो भनेर भन्‍नुभएको छ, पीडितले आन्दोलन गर्दा कांग्रेसले खेल्यो भन्‍ने ? ’

उनले यसो भनिरहँदा भिम रावल बीचमै बोलेका थिए र आफूले त्यस्तो भनेको नभई अपराधीलाई जुनसुकै हालतमा कारबाही गरिनुपर्ने कुरा राखेको बताएका थिए। रावलले त्यसो भनेपछि महिलाहरुले तपाईले बोलेको कुरा रेकर्ड गरेका छौँ, सुन्‍ने ? भनेर होहल्ला गरेका थिए।

त्यसपछि सुरक्षाकर्मीको सहयोगमा भेटघाट कक्ष शान्त भयो र प्रधानमन्त्री बोल्न थाले। उनले निर्मला पन्तको हत्या घटनामा सरकार अत्यन्त संवेदनशील रहेको र अपराधी पत्ता लाग्‍ने कुरामा आफू विश्वस्त रहेको जनाए।

‘अपराधी जुनसुकै ओहदाको होस्, जुनसुकै दलको होस् छोड्ने र जोगाउने कुरै हुँदैन पत्ता लाग्छ, कानूनी कारबाही हुन्छ, यसमा ढुक्क रहन म आग्रह गर्छु,’ उपस्थित सबै नेताहरुतर्फ हेर्दै प्रधानमन्त्रीले भने ‘कुनै दलको आडमा अपराधीलाई जोगाउने कुरा हुँदै-हुँदैन।’

उनले आफूले नेपाल टेलिभिजन मार्फत बोलेको कुरामा पनि स्पष्ट पार्न खोज्दै भने, ‘अदालतले प्रमाणित नगरेसम्म, मैले कसैलाई अपराधीको नजरले हेर्नै मिल्दैन, बम दिदीबहिनीको कुरामा पनि त्यही हो, अपराध फरक कुरा अनि चरित्र फरक कुरा।’

अपराधी प्रमाणित नभएसम्म बम दिदीबहिनीको चरित्रमाथि प्रश्‍न उठाउन नहुने कुरा प्रधानमन्त्रीले यसअघि नेपाल टेलिभिजनमार्फत बोलेका थिए।

सोमबारको भेटमा उनले भने, ‘बलात्कार त बम दिदीबहिनीले गरेका पक्कै पनि होइनन् होला। तर हो उनीहरुलाई कसले बलात्कार गर्‍योरु अनि कसले हत्या गर्‍यो भन्ने कुरा भने थाहा हुनसक्छ त्यसतर्फ अनुसन्धान अगाडि बढेको छ। अपराधी पत्ता लाग्छ।’

प्रधानमन्त्री ओलीले निर्मला हत्या घटनाको अनुसन्धानमा प्रहरीले त्रुटीभन्दा पनि नियतबस बदमासी गरेको पाइएको बताउँदै त्यही भएर प्रहरी अधिकारीहरुलाई निलम्बन गरेर छानबिन गरिरहेको जनाए ।

‘फिल्डमा खटिएका प्रहरीले नजानेर गर्ने गल्ती एउटा कुरा हो तर निर्मलाको अनुसन्धान घटनामा माथिबाटै आदेश दिने प्रहरीले केही न केही बदमासी पक्कै गरेको छ, सरकारले उनीहरुलाई निलम्बन गरेर छानबिन गरिरहेका छ, अपराधी पक्कै पनि पत्ता लाग्छ,’ प्रधानमन्त्रीले भने।

प्रधानमन्त्रीले यस्तो भनिरहँदा बीचमै एक महिलाले ‘निलम्बन होइन प्रधानमन्त्री ज्यू हामीलाई न्याय चाहिएको हो’ भनेर हल्ला गरेपछि पूर्वमन्त्री तथा नेकपाका नेता कर्ण थापाले उनलाई म्यानर छैन भन्दै हप्काएका थिए।

त्यसपछि न्याय माग्न आएका बेला हप्काउने भन्दै महिलाहरुले फेरि हल्ला सुरु गरे। तर प्रधानमन्त्रीले आफ्ना कुरा राख्न छोडेनन् र भने ‘न्याय दिनकै लागि त सरकार लागिपरेको छ, सुरक्षा अधिकारीको टोली फेरिएको छ, छानबिन र अनुसन्धानका लागि बलिया टोलीहरु खटाइएको छ। अपराधी जतिसुकै बलियो र जुनसुकै ओहदाको भएपनि कारबाही हुन्छ पत्ता लगाउने ठाउँहरु धेरै छन्। ‘

उनले आफूले जुनसुकै अवस्थामा पनि अपराधी पत्ता लगाउन गृहमन्त्रालयलाई निर्देशन दिइसकेको जनाएका छन् । देशसञ्चार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here