२०१८ को बाघ गणना : ३७ बाघ थपिए

484

काठमाडौँ/ वन तथा वातावरण मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा पाइने पाटे बाघको सङ्ख्यामा १९ प्रतिशतले वृद्धि भएको छ ।

राष्ट्रिय संरक्षण दिवसका अवसरमा आज यहाँ आयोजित समारोहमा मन्त्रालयले राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको हो । बाघ गणनाको नतिजा सम्बन्धी प्रतिवेदनका बारेमा जानकारी गराउँदै राष्ट्रियनिकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईले बाघको सङ्ख्या २३५ देखिएको जनाउनु भएको छ ।

सन् २०१३ को गणनाअनुसार नेपालमा बाघको सङ्ख्या १९८ थियो । पछिल्लो गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका हुन् ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म बाघगणना गरेको उपमहानिर्देशक भट्टराईले बताउनुभयो । विभागले गणना कार्य पश्चात् क्यामेरा ट्र्याप डाटालाई कम्प्युटर प्रवेश, ग्रीडअनुसार तथ्याङ्क व्यवस्थापन, पुनः नामाकरण, प्रजातिअनुसार तथ्याङ्क उल्लेख, प्रत्येक बाघको फोटो छुट्याउने, क्यामेरा ट्र्याप तथा लाइनट्रान्सेक्ट विवरण, प्रजाति अवलोकन तथ्याङ्क, जिपिएस, दुरी, वियरिङ, बासस्थान उपयोग सर्भेलगायत कार्य गरी बाघको पछिल्लो सङ्ख्या सार्वजनिक गरिएको उहाँले जनाउनु भएको छ ।

नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै राष्ट्रियस्तरमा बाघ गणनासमेत गर्दै आएको छ । नेपालमा बाघको सङ्ख्या सन् १९९५ मा ९८, सन् २००० मा १०९, सन् २००५ मा १२६, सन् २००९ मा १२१, सन् २०१३ मा १९८ रहेको र हाल त्यसको सङ्ख्या वृद्धि भएको विभागले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here