अन्तराष्ट्रिय शान्ति र सुरक्षाको विषयमा सबै मुलुकलाई बलियो भएर उभिन प्रधानमन्त्री ओलीको आग्रह

99

न्यूयोर्क/ प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको बृहत् अभिरुचिमा सबै मुलुकलाई बलियो भएर उभिन आग्रह गर्दै नेपालले शान्तिस्थापकको पेशागत क्षमता सुधार गर्न विश्वस्तरीय तालीम सुविधा उपलब्ध गराउने प्रस्ताव राख्नुभएको छ ।

संयुक्त राष्ट्र सङ्घको मुख्यालयभित्र ट्रस्टिसिप च्याम्बरमा आयोजित ‘शान्ति स्थापनार्थ कार्य’ (एक्सन फर पिसकिपिङ)को उच्चस्तरीय बैठकमा प्रधानमन्त्री ओलीले हरेक द्वन्द्वको परिस्थिति फरक हुने र त्यसका लागि भिन्न उत्तर आवश्यक हुने जनाएका छन् ।

द्वन्द्वको राजनीतिक समाधान खोज्नुपर्ने र घरमै तयार भएको, राष्ट्रले स्वामित्व लिएको र नेतृत्व दिएको राजनीतिक प्रक्रियाले दिगो शान्ति दिनसक्छ भन्ने कुरालाई नेपालले स्पष्टसँग प्रदर्शन गरेको जनाउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालले संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापना गर्ने ४५ अभियानमा एक लाख ३६ हजार सैनिक परिचालन गरेको र यस वर्ष नेपालले राष्ट्र सङ्घीय अभियानमा संलग्नताको ६० वर्ष मनाउँदै गरेको जानकारी दिनुभयो । उहाँले नेपालले राष्ट्रिय कठिनाइको समयमा पनि सैनिक तथा प्रहरी उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घ वडापत्रको सिद्धान्त तथा उद्देश्यप्रति वचनबद्धता प्रकट गरेको स्मरण गर्दै कर्तव्यको रेखामा आफ्नो जीवनसमेत बलिदान दिने ७३ शान्ति स्थापक तथा बहादुर सैनिक प्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले शान्ति प्रयासमा महिलाको पूर्ण समान तथा अर्थपूर्ण सहभागितामा त्यसको सफलताको प्रमुख तत्व हुने जनाउँदै ‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त वचनबद्धताको घोषणापत्र’ बाट शान्ति प्राप्त गरी फरक बनाउन चाहेको काम सम्पन्न गर्न सकिने भएकाले आफूले यसलाई समथर्न गरेको जनाउनुभयो।

‘संयुक्त राष्ट्र सङ्घको शान्ति स्थापनार्थ कारवाही सञ्चालनप्रति साझेदारीयुक्त बचनबद्धताको घोषणापत्र’ तयार गर्न सदस्य मुलुक तथा सम्बन्धित अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरू परामर्श लिइएको छ । शान्ति स्थापनार्थ कार्यमा सुरक्षा परिषद्का सदस्य, सेना, प्रहरी तथा शान्ति स्थापना गर्न वित्तीय सहयोग गर्ने दाता, यस्तो कार्य गराउने मुलुकका सरकार तथा क्षेत्रीय तथा उपक्षेत्रीय संस्थाको वचनबद्धता यस घोषणापत्रमा समेटिएको छ ।

शिखरबैठक कक्षमा नेपाली टोलीको रूपमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, अमेरिकाका लागि नेपाली राजदूत अर्जुनकुमार कार्की, संयुक्त राष्ट्र सङ्घका लागि नेपाली स्थायी नियोगका कार्यवाहक राजदूत निर्मलराज काफ्ले, परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी, परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव भरतराज पौडेल, शिष्टाचार महापाल दीपक अधिकारी उपस्थित हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here