इरानमाथिको प्रतिबन्ध सही कदम – राष्ट्रपति ट्रम्प

115

न्यूयोर्क/ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्तराज्य अमेरिकाले विश्वव्यापीकरणको विचारधारालाई अस्वीकार गरी देशभक्तिलाई अगाडि सारेको जनाउनु भएको छ ।

संयुक्त राष्ट्रसंघको न्यूयोर्क मुख्यालयमा आयोजित ७३औं महासभामा मङ्गलबार सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले हरेक मुलुकले आफ्नो देशलाई पहिलो बनाउने गरी काम गर्न आग्रह गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले विश्वले इरानको आणविक कार्यक्रमलाई असफल बनाउनेगरी लगाइएको आर्थिक प्रतिबन्धलाई कार्यान्वयनमा ल्याउन मद्दत गर्नुपर्ने खाँचो औंल्याउनुभयो । उहाँले यमन र सिरियामा रक्तपातपूर्ण युद्ध फैल्याउन इरानले लगानी गरिरहेको आरोप लगाउँदै यस्ता घृणित कार्य रोक्नका लागि इरानमाथि आर्थिक दबाब सिर्जना गर्नुको विकल्प नरहेको जनाउनुभयो ।

उत्तर कोरियासँग आणविक निःशस्त्रीकरणका बारेमा वार्ताहरु अघि बढेको र चाँडै अर्को शिखर बैठकको आयोजना हुने जानकारी दिँदै राष्ट्रपति ट्रम्पले निःशस्त्रीकरणका कार्यहरु पूरा भएपछि आर्थिक प्रतिबन्धहरु फुकुवा हुने स्पष्ट गर्नुभयो ।

उहाँले उत्तर कोरियासँगको सम्बन्ध सामान्यीकरण गर्न दक्षिण कोरियाका राष्ट्रपति मून जाए इन र जापानका प्रधानमन्त्री सिन्जो आबेले गर्नुभएको मध्यस्थताका लागि धन्यवाद पनि दिनुभयो ।

राष्ट्रपति ट्रम्पले कुनै समय दक्षिण अमेरिकाकै धनी राष्ट्र भेनेजुएलाको अव्यवस्था र गलत राजनीतिक प्रणालीका कारण मुलुक लगभग टाट पल्टिएको चर्चा गर्दै अहिले त्यहाँबाट २० लाखभन्दा बढी मानिस अन्य देशमा पलायन हुन बाध्य भएको जनाउनुभयो । उहाँले भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोको सरकारमाथि थप प्रतिबन्ध लगाउने जानकारी दिनुभयो ।

संयुक्तराज्य अमेरिकाले प्रत्येक वर्ष विभिन्न मुलुकका लागि उपलब्ध गराइआएको आर्थिक सहायताको समीक्षा गर्नुपर्ने समय आएको चर्चा गर्दै अमेरिकी सहयोग अमेरिकाकै हितमा समेत नभएकामा दुःख व्यक्त गर्नुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– विगतका असमान व्यापार सम्झौताहरु हामीलाई स्वीकार्य छैन । अमेरिकामा सामान थुपार्ने, आफ्ना सामानमा अनुदान दिने, अमेरिकी उद्योगमाथि लक्षित गर्ने तथा आफ्नो देशको मुद्रालाई तोडमोड गर्ने कार्य अब सह्य हुँदैन ।

उहाँले राष्ट्रसंघको कार्यशैलीमाथि समेत प्रश्न गर्दै अमेरिकी हित विपरीत रहेका कारण राष्ट्रसंघीय मानवअधिकार आयोगबाट अमेरिका बाहिरिएको जनाउनुभयो ।

राष्ट्रपति ट्रम्पले भन्नुभयो– अमेरिकाका सन्दर्भमा अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसीसी) को कुनैपनि क्षेत्राधिकार, वैधानिकता र अख्तियारी छैन । राष्ट्रसंघीय मानवअधिकार आयोग र आइसीसीले अमेरिका र इजरायलका विरुद्ध काम गर्न थालेको छ ।

राष्ट्रपति ट्रम्पले आफ्नो राष्ट्रपतीय कार्यकालमा अमेरिकाले अभूतपूर्व प्रगति गरेको, रोजगारी बढेको, व्यापार घाटामा कमी आएको, विदेसिएका कलकारखाना स्वदेश फर्किन थालेको भनाइ राखेर सम्बोधन शुरु गर्नुभएको थियो ।

अमेरिका र अमेरिकी सामथ्र्यलाई केन्द्रमा राखेर गरिएको ट्रम्पको सम्बोधनप्रति पक्ष र विपक्षमा बहस शुरु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here