नेकपामा नेतैपिच्छे गुट

33

तत्कालीन नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रसँग पार्टी एकता घोषणा गर्दा भनेका थिए, ‘अब पार्टीमा कसैमाथि कुनै प्रकारको भेदभाव, अन्याय, पूर्वाग्रह र हिजो कुन पक्षको भन्ने किसिमको व्यवहार हुने छैन।’ तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेको हो । नेकपामा दुई अध्यक्ष छन्– ओली र पुष्पकमल दाहाल।

ओलीले नेपाल कम्युनिस्ट पार्टीमा २००८ सालदेखि नै गुटबन्दी सुरु भएको र ०१७÷०१८ सालदेखि विभाजन सुरु भएकाले नेपाल र नेपालीले लामो समयसम्म पीडा सहनुपरेको विचार पनि पार्टी एकता घोषणासभामा व्यक्त गरेका थिए। अब कम्युनिस्ट पार्टीमा कहिल्यै सुख्खायाम नआउने ठोकुवा गर्दै ओलीले योग्यता, क्षमता र सक्रियताका आधारमा पार्टीभित्र जिम्मेवारी बाँडफाँट गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। नेकपा गठनसँगै एमाले र माओवादी केन्द्र एकआपसमा अन्तरघुलित भएकाले अब पार्टीमा गुटउपगुटको अवस्था आउन नदिने प्रतिबद्धता अध्यक्षद्वय ओली र दाहालले एकैस्वरमा व्यक्त गरेका थिए । तर पार्टी एकताले पूर्णता नपाउँदै नेकपाभित्र गुटउपगुट देखिन थालेका छन्।

तल्ला तहका कमिटी एकता कार्यदलले प्रतिवेदन तयार पार्दा नेकपाका अध्यक्ष ओलीले नै आफ्ना गुटका मान्छेलाई च्यापेर गुट बाहिरकालाई पन्छाउने प्रयास गरेको आरोप लाग्यो। ओलीले आफू निकटलाई छानीछानी जिम्मेवारी दिन थालेपछि गण्डकी प्रदेश र प्रदेश ५ तथा अन्य विभिन्न जिल्ला र जनवर्गीय संगठनमा विवाद चुलियो । पार्टी संस्थापनले तल्लो तहको नेतृत्व चयनमा विभेद र हस्तक्षेप गरेको भन्दै विवाद सुरु भएको छ। यही विवादका कारण पार्टीले तल्लो तहमा एकता मिलाउन सकेको छैन।  नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here