महिलाका मुद्दा – एक साताभित्रै फैसला

276

काठमाडौं/ काठमाडौं जिल्ला अदालतले बलात्कार तथा जघन्य अपराधका मुद्दामा शुक्रबारदेखि फास्ट ट्र्याकबाट सुनुवाइ सुरु गरेको हो । फास्ट ट्र्याक मुद्दामा १० मुद्दा निरन्तर सुनुवाइको चरणमा रहेको जिल्ला अदालतका प्रमुख न्यायाधीश रमेश पोखरेलले जानकारी दिए । अब यी मुद्दामा प्रहरीको अनुसन्धानको रिपोर्ट लिने, अभियुक्त र पीडितको बकपत्र लिने, साक्षी बकाउने, चिकित्सकबाट रिपोर्ट लिने र बहस गराउने काम लगातार हुनेछन् । अविच्छिन्न सुनुवाइ हुने यो प्रक्रियामा प्रमाण जुटेमा एक साताभित्रै फैसला पनि आउनेछन् ।

अनुसन्धानकर्ता, मुद्दा अभियोजनकर्ता र अदालत तीनै पक्ष बसेर बलात्कारलगायत जघन्य अपराधका मुद्दाको सुनुवाइ निरन्तर गर्ने र सरकारी साक्षीलाई मुद्दा अभियोजनसँगै पेस गर्ने निर्णय भएपछि फास्ट ट्र्याक सुनुवाइ सुरु भएको हो । पीडितलाई तत्काल न्याय दिलाउन तथा दोषी उम्कन नदिन सुनुवाइका लागि छुट्टै इजलास गठन गरिएको हो ।

यस्तै प्रक्रियाबाट न्याय दिलाउन अग्रसर हुन महान्यायाधिवक्ता कार्यालयले देशैभरिका सरकारी वकिलको कार्यालयलाई निर्देशन दिएको छ । ‘बलात्कार तथा महिला हिंसाका मुद्दा अदालतमा छिटो पेस गर्न र न्यायिक प्रक्रियामा सहयोग गर्न सरकारी वकिल कार्यालयलाई पत्राचार गरिएको हो,’ कार्यालयका प्रवक्ता सञ्जीवराज रेग्मीले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here