साढे एघार हजार शिक्षकले सम्पत्ति विवरण बुझाएनन्

284

काठमाडौं/ विद्यालय शिक्षक किताबखानामा आर्थिक वर्ष २०७४/०७५ मा करीब ११ हजार ६२३ शिक्षकले सम्पत्ति विवरण बुझाएका छैनन् ।

करीब ७९ हजार ३१ शिक्षकमध्ये ६७ हजार ४०८ शिक्षकले मात्र सम्पत्ति विवरण बुझाएको किताबखानाका उपनिर्देशक रवीन्द्रकुमार बुढाप्रिथीले जानकारी दिनुभयो ।

शिक्षकलाई साउनदेखि भदौ २८ गतेसम्म सम्पत्ति विवरण बुझाउन अन्तिम समयसीमा तोकिएको थियो । उहाँका अनुसार स्थायी शिक्षकले किताबखाना र अस्थायी शिक्षकले जिल्लास्थित जिल्ला शिक्षा समन्वय एकाइ कार्यालयमा बुझाउने छन् ।

भ्रष्टाचार निवारण ऐन–२०५९ को दफा ५० मा प्रत्येक वर्ष सार्वजनिक पद धारण गरेको व्यक्तिले आव शुरु भएको ६० दिनभित्र सम्पत्ति विवरण सम्बन्धित कार्यालयमा बुझाउनुपर्ने व्यवस्था रहेको छ ।

उहाँले सङ्कलन गरिएको सम्पत्ति विवरण राष्ट्रिय सतर्कता केन्द्रलाई बुझाइएको बताउनुभयो । ऐनअनुसार सम्पत्ति विवरण नबुझाउनेलाई केन्द्रको सिफारिशमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु पाँच हजार जरिवाना गर्ने व्यवस्था रहेको छ ।

उपनिर्देशक बुढाप्रिथीले करीब चार हजार शिक्षकले आफ्नो सङ्केत नम्बर गलत भरेर बुझाएको जानकारी गराउनुभयो । उहाँका अनुसार आव २०७३/०७४ मा ११ हजार ४५५ शिक्षकले सम्पत्ति विवरण बुझाएनन् ।

मुलुकभरि करीब एक लाख सात हजार ८५३ स्थायी र अस्थायी शिक्षक रहेको किताबखानामा विवरण रहेको छ । गत वर्ष चार हजार ४३० शिक्षकले गलत सङ्केत नम्बर भरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here