‘ब्लड फर मोबाइल एप’ मोबाइल फोनबाट रक्त सेवा शुरु

244

रोल्पा/ समयमा रगत नपाउँदा मृत्युवरण गर्न बाध्य रोल्पाका बिरामीका लागि तत्काल रक्त सेवा उपलब्ध गराउने उद्धेश्यका साथ जिल्लामा ‘ब्लड फर रोल्पा’ मोवाइल अप्लीकेशनको सुरुवात गरिएको छ ।

रोल्पाका युवाको सक्रियतामा ‘ब्लड फर मोबाइल एप’ शुरु गरिएको हो । जिल्लामा ब्लड बैंक नहुँदा अप्रेशनको समयमा चाहिने रगत खोज्न निकै सकस हुने देखेर आफूहरूले युवाको सामाजिक दायित्व सम्झेर अभियान थालनी गरेको अभियन्ताले जनाएको छन् ।

रोल्पाका आठ युवाको सहभागितामा सो अवधारणा ल्याइएको हो । आकस्मिक रूपमा रगतको आवश्यक परेको खण्डमा यो मोबाइल एपमा रहेका व्यक्तिको सम्पर्क नम्बरबाट थप जानकारी लिन सकिन्छ । हालसम्म आकस्मिक रक्तदान गर्न इच्छुक ५० जनाको विवरण एप्समा राखिएको अभियन्ता विनोद डाँगीले जनाउनुभयो । एन्ड्रोइड मोबाइलमा यो एप्स डाउनलोड गरी आफूलाई आवश्यक परेको खण्डमा रगत भएको व्यक्तिलाई आफैँले फोन गरी तुरुन्त बोलाउन सकिने जनाइएको छ । हालसम्म उक्त एप्समा रहेका छ जनाले रक्तदान गरिसकेको जनाइएको छ ।

रगत नपाएर मर्नुपर्ने अवस्था भोग्दै आएका रोल्पालीका लागि अब त्यस्तो समस्या भोग्नु नपर्ने रोल्पा नगरपालिका प्रमुख पूर्ण केसीले जनाउनुभयो । जिल्लामा तत्काल ब्लड बैंक स्थापना हुनसक्ने अवस्था नभएकाले युवाको यो कदमले जिल्लावासीलाई ठूलो राहत पुग्ने छ ।

महिला स्वास्थ्य कार्यक्रमअन्तर्गत डेलीभरी पूर्व रगत व्यवस्थापन गर्नुपर्ने भएकाले आफूहरूले सधैँ यसको सकस भोग्दै आएकामा मोबाइल एप्लिकेशनपछि आफूहरूलाई पनि राहत भएको जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका मेडिकल सुपरिटेन्डेन्ट प्रकाश बुढाले जनाउनुभयो ।

आफ्नै कर्मचारी, नेपाली सेना आदिको सहयोगबाट रगत सङ्कलन गर्नुपर्ने बाध्यता रहेकामा अब भने केही सहजता हुने बुढाले प्रतिक्रिया दिनुभयो ।

मोबाइल एप्सलाई धेरैभन्दा धेरै नागरिकको पहुँचमा पु¥याए मात्र अभियानले सार्थकता पाउने डाँगीले जनाउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here