पूर्वी नेपाल पुगेर कर्नालीलाई सम्झँदा

34

डा.दीपेन्द्र रोकाया
यी पंक्तिहरू लेख्दै गर्दा म धनकुटाको देबवासमा छु । यहाँका कर्मचारीहरूसँग कक्षामा अनुभूति साँट्दै गर्दा निकै नयाँ र रोचक विषयहरू पनि उप्के । धनकुटाले कुनैबेला पश्चिम धनगढीका लागि तोक लागेको विकासलाई यो त धनकुटाका लागि भनिएको हो भनी यता पारेको विकासको चर्चा समेत सुन्न पाइयो । देशमा ठुला मान्छे भएपछि जे गर्न पनि पाइदो रहेछ । धनकुटाले प्रधानमन्त्री पायो, मन्त्री पायो, क्षेत्रीय सदरमुकाम पायो । सुदुरपूर्वको केन्द्र भई रह्यो । जसले गर्दा यहाँका विकास भयो । यतिबेला दैनिक १२ ट्रक विभिन्न खालका तरकारी वंगलादेश, भारत, भुटानलाई निर्यात गर्छ भन्ने सुन्न पाइयो । यसो त यहाँको दुध, अम्लेसो, अलैचीहरू जान्छ, विदेशी पैसो भित्रिन्छ । आफ्नो ठाउँमा खास मान्छे जन्मनु र उसको प्रभावले केही कुरा बन्नु चानचुने विषय मान्नु हुन्न ।

साथीहरूले कर्नालीको विकासको कुरा उठाए । मैले पूर्वको आइतवारदेखि शनिवारसम्म लाग्ने हाटवजार लगाउने चलन सिक्नैपर्ने पक्ष हो । किनकि यसले उत्पादनले मुल्य पाएको र भएको अर्थतन्त्रले चलयमान हुन पाएको छु । समग्रमा म विकासशास्त्रको समेत विद्यार्थी भएकाले देशमा ‘वालवालिकालाई लगानी, युवालाई रोजगार र जेष्ठ नागरिकलाई सम्मान’ गर्न नसकेसम्म समग्र मानवीय विकास हुने देखिन्न । यो कार्यक्रम कर्नाली प्रदेश सरकारको आ.व. २०७५÷०७६ मा उल्लेख गरेपनि सरकारले अपनत्व गरी कुनै कार्यक्रम बनाएको पाएको छैन ।

वालवालिका भनेका भोलिको पुस्ता हो । यस पुस्ताको विकासको लागि विज्ञान, प्रविधि, इन्जिनियरिङ, स्वास्थ्य, मानविकी, खेलकुद, व्यापार व्यावसायजस्ता क्षेत्रमा हरेक व्यक्तिको कम्तीमा ५० वर्षको आँकलन गरी ३० वर्षे ऊर्जा देशले उपयोग गर्ने गरी शिक्षादिक्षा दिनेबारे सोच्न पर्दछ । यसो भयो भने हरेक व्यक्तिले संभावना बोकेर जन्मेको अनुभव हुनेछ । आखिर हामीले शुरु गरेको कामको परिणाम दिने वा ल्याउने पुस्ता त्यही नयाँ पुस्ता हो भन्ने बुझी वालवालिकालाई पञ्चतत्व सुहाउँदो शिक्षा दिने व्यवस्था गर्न आवश्यक छ । यसो भयो भने हामीले रोपेको विरुवाले सही फल दिने आशा गर्न सकिन्छ ।

आज हरेक दिन पन्ध्र सय युवाले जहाज चढेर खाडी क्षेत्रमा काम गर्न गइरहेका छन् । त्यसमा कर्नाली प्रदेशका कम छन्, भन्ने अनुमान गरिएको छ तर त्यही अनुपातमा खुला सिमा उपयोग गर्दै भारतका गल्लीहरूमा कुल्ली काम गर्न कर्नाली प्रदेशका युवाहरू विदेश पलायन भइरहेका छन् । गाउँघरमा रहेकाहरू पनि विरक्तिएका देखिन्छन् । अघिल्लो दशकमा माओवादी जनयुद्धले नोकरी पाए सरह राजनीतिक अभियानमा लाग्ने अवस्था सिर्जना गरायो । तर यस अभियानले निकै ठुलो राजनीतिक परिवर्तन त ल्यायो, तर त्यस अनुसार व्यवस्थापन हुन नसक्दा ‘संगैका साथी सिंहदरवारमा मलाई केले भुल्यायो’ भन्ने भईरहेको छ । अर्कोतर्फ खुराफात गरी पद र प्रतिष्ठा हत्याउनेहरूका बिरुद्ध यो वा त्यो आक्रोशको आगो सल्किरहेको पाइन्छ । यो सबै बेरोजगारीको पीडाले भएको हो । यतिबेला केही नेताहरूले राजनीतिक क्रान्ति सकियो भनीरहे पनि राजनीतिक संघर्षका नाममा हतियार उठ्ने सम्भावना पनि उत्तिकै खतराका रूपमा देखिरहेको छ ।

 

यसैले युवा केन्द्रित भई यो वा त्यो रोजगारीको ग्यारेन्टी गर्न सक्नु पर्दछ । यसका लागि क्रमबद्ध काम के हुन सक्छ ? भनी हेर्नपर्छ । मेरो विचारमा हाम्रा विद्यामान युवा जनशक्तिलाई सडक, उद्योग, बस्ती विकास, कृषि, पर्यटन, वातावरण र केही प्राविधिक शिक्षामा व्यस्त बनाउन सके रोजगारीको लागि अन्त जाने होइन, अन्तबाट दक्ष जनशक्तिको लागि आवेदन माग गर्नपर्ने हुन सक्ने देखिन्छ । हामीले अहिलेसम्म सडक नभएर महंगीको मार खेप्न परिरहेको छ । सडक भयो भने जनजीवनमा सहजता आउने छ । त्यसका लागि कर्नाली र भेरी कोरिडोरमा चारलेनको महत्वकांक्षी सडक निर्माण गर्नपट्टि लाग्न पर्दछ । यसमध्ये प्राथमिकतामा पार्नुपर्ने सडक रूपडिहा–हिल्सा सडक नै हो ।

यसैगरी कर्नाली ऊर्जामा निकै सम्भावना भएको प्रदेश हो । यहाँको माथिल्लो कर्नाली आफै बनाउने दिशामा अघि बढ्नु पर्दछ । यसका साथै अरु आयोजना निर्माण पश्चात बन्ने औधोगिक रूप र औधोगिक चेतनाले निर्माण गर्ने रोजगारी अनगिन्ती छन् । तर यहाँ आफ्नो हुँदाखाँदाको बजारको कुनै वास्ता नगरी विद्युतको बजार खोज्ने परिपाटी तथा दास मानसिकताले केही अवरोध आइरहेको छ ।

हामीले कर्नाली विकास आयोगको तर्फबाट त्यस विषयमा अध्ययन गर्दा के कुरा गहिरो गरी महसुस गरेका थियौ भने यदि कर्नालीका गाउँबस्तीमा सुरक्षित एकीकृत बस्ती विकास गर्न सकिएन भने प्राकृतिक विपतिका साथै विकास भयो भन्ने नमुना स्थापित गर्न निकै गाह्रो पर्ने देखेका थियौ । यसै प्रतिवेदनको सुझावको आधारमा कर्नाली प्रदेश सरकारले ‘मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम’ ल्याएको छ । यस कार्यक्रमलाई सफल पार्न सरकारको नीति तथा अनुगमन, निजी क्षेत्रको अगुवाईमा लगानी र स्थानीय समुदायको श्रमसहित सहभागिता सुनिश्चित गर्नपर्ने हुन्छ । यसो भयो भने कर्नाली सभ्यताले भौतिक चोला फेरिने आशा गर्न सकिन्छ ।

 

यसो त मान्छेहरूका आ–आफ्ना रुची हुन्छन् । परम्परागत शिप र क्षमता छन् । परम्परागत कृषि काममा रहेको जनशक्तिलाई विशिष्टिकरण गर्दै जान सकियो र कृषिलाई नेतृत्वदायी भूमिका निर्वाह गर्ने क्षेत्र ठान्ने गरी विकास गर्ने हो भने रोपेको १५ दिनदेखि एक वर्षसम्ममा उत्पादन प्राप्त गर्ने आधार मिल्दछ । यसो गरियो भने उत्पादन आयात होइन हाम्रा अर्गानिक उत्पादनलाई औषधिजन्य रूपमा निर्यात गर्न सक्नेछौ । धेरैले कर्नालीमा कृषियोग्य जमीन कम छ भन्ने गर्दछन् तर अर्थशास्त्रीय दृष्टिकोणबाट हेर्दा उत्पादन गर्ने तरिकामा फरक पर्ने गरेको देखिन्छ । हामीसँग विभिन्न तापक्रमको हावापानी तथा वातावरण छ । यसका साथै, एउटा खाली मान्छे भारी बोक्न वा भाषा जाने पुग्छ कि पर्यटकहरूलाई घुमाउदै आफुले समेत भरपुर मनोरञ्जनका साथै आम्दानी गर्ने ठाउँ छ ।

हरेक गाउँमा होम स्टेको राम्ररी व्यवस्थापन ग¥यौ भने विदेशी पर्यटकका लागि दैनिक १०० डलर र आन्तरिक पर्यटकलाई कम्तीमा ७०० नेपाली रूपैया खर्च गर्ने अवस्था सिर्जना गर्न सक्नु पर्दछ । कर्नाली प्रदेश कैलाश मानसरोवर जाने दक्षिणको सबभन्दा सजिलो गेट हो । यसका साथै, विभिन्न धार्मिक, साँस्कृति, प्राकृतिक, ऐतिहासिक तथा नवनिर्मित पर्यटकीय स्तानहरू छन् । यसैले ‘विश्वको पर्यटकीय गन्तब्य नेपाल हो भने नेपालको पर्यटकीय गन्तब्य कर्नाली हो’ भन्ने कुरा स्थापित गराउन आवश्यक छ । पर्यटन धुँवा नआउने उद्योग भएकाले पर्यटनलाई अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्ने रोजगारी पनि हो ।

यसरी नै शिक्षा र स्वास्थ्यलाई जसरी मौलिक हकमा राखिएको छ, त्यही प्रकारले राज्यले सेवा विस्तार गर्न सकेमा कर्नालीको विकास हनुमानलाई श्रीलंका पुग्ने तागत छ भनी सुनाउँदा आफ्नो तागत हनुमानले देखाएझैको स्थिति निम्तिनेवाला छ । एक अध्ययनले कर्नालीमा आवासीय विद्यालय सरकारी स्तरबाटै सञ्चालनमा ल्याउन सकिने र जसका आधारमा भर्नाबाट मात्र होइन, विद्यालय शिक्षाबाट कोही पनि बन्चित हुने देखिएको छ ।

एवं प्रकारले जेष्ठ नागरिकलाई अनुभव बैंकको रूपमा लिई विभिन्न परियोजना सञ्चालनमा ल्याउन आवश्यक छ । यसो गर्न सकिएमा कोही कसैले पनि अभिभावकले बुढेस कालमा अपहेलित हुनपर्ने छैन । विकास भन्ने कुरा सम्झँदा बरोबर याद आउछ, युरापतिर एउटा भनाई नै छ, रोम शहर एकै दिनमा निर्माण भएको होइन । सबैलाई चेतना भया ।

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here