ओली सरकार त कति छिटो (७ महिनामै) नाङ्गै

254

हुकुमबहादुर सिंह
ओलीका केही सकारात्मक पाइलाहरूलाई र उनका देशभक्तिका खासगरी भारतीय नाकाबन्दी र मधेसी दलका केही नेताहरू (महतो, ठाकुर, राउतआदि)का नेपालविरोधी अभिव्यक्ति र गतिविधिका विरुद्ध आफूलाई खडा गरेको देखेर नेपाली जनताले यदि ओलीको नेतृत्वमा सरकार बन्यो भने देशको स्वतन्त्रता र राष्ट्रियतामाथि भारतीय गिद्दे दृष्टिमा छेकबार लगाइने छ र नेपालको विकास र समृद्धिको मार्ग अलि फराकिलो बन्ने छ भन्ने आशा र भरोसामा गत निर्वाचनमा संसदमा र प्रदेशमा दुईतिहाइ बहुमत दिएको स्पष्ट छ । अत्यधिक मत ल्याउनेहरू विगतका एमाले, माओवादी केन्द्र र केही अन्य स–साना कम्युनिष्टका सदस्यहरू पनि छन् । प्रचण्ड नेतृत्वका माओवादी केन्द्र त भारतको र मधेसी नेताहरूको गुलामीमा बदनाम बनेको यथार्थ थियो, तर ओली भने यति छिट्टै नाङ्गै हुने छन् भन्ने नेपाली जनताले कल्पना पनि गरेका थिएनन् । हुन त नेकपा (क्रान्तिकारी माओवादी)ले आफ्नो देशभक्त जनगणतान्त्रिक मोर्चामार्फत निर्वाचनको उपयोग गर्ने नीतिअनुसार संसदीय व्यवस्थाको भण्डाफोर गर्दै निर्वाचनकै दौरानमा भनेको थियो– ‘यो वाम गठबन्धन केबल जनतालाई कम्युनिष्टको नाममा भ्रम दिएर पा“च वर्षका लागि उनीहरूलाई बेवकुफ बनाएर नेपालमा सत्ता र सरकार चलाउने रणनीति हो । यिनीहरूबाट देश र जनताका पक्षमा खासै उपलब्धिपूर्ण काम केही पनि हुने छैन ।’

नेकपा (क्रान्तिकारी माओवादी)ले निर्वाचनकै दौरानमा र पछि पनि भन्दै आएका कुराहरू अहिले नेपाली जनताका मात्रै होइन, स्वयम् ओलीको पार्टीभित्रका केही नेताहरूले समेत बोल्न बाध्य भएका छन् । ओली सरकार बनेपछि स्वयं ओलीले १८० डिग्रीमा आफूलाई बदलिदिएका छन् । राष्ट्रियताको सवालमा उनी यति बदनाम बने कि स्वयम् भारतीय प्रधानमन्त्रीले भैया भन्ने हिम्मत गरे । उनको भ्रमणका दौरानमा भारतीय कमाण्डो फौजलाई जनकपुरबाट छिराएर मुस्ताङसम्म मार्चपास गर्ने काममा सहयोग गरे । त्यति मात्रै कहा“ हो र ? भारतीयहरूद्वारा तयार पारिएको सुदूरपश्चिमको लिम्पियाधुरा, लिपुलेक आदि क्षेत्र ओगटेको करीब ३७२ वर्ग कि.मि क्षेत्रफल नेपाल भूमि भारतीय नक्सामा गाभिएको नेपालको नक्कली नक्सा आफ्ना पछाडि झुण्ड्याउन लगाएर प्रधानमन्त्री कार्यालयमा मात्र नभइ नेपालका सबै सरकारी कार्यालय, सेना, प्रहरी, न्यायक्षेत्र आदि र गैरसरकारी कार्यालयहरू, सबै शिक्षण संस्थाहरूमा समेत फैलाउने गरेको उनले चालै नपाएको भनिरहेका छन् तर नेकपा (क्रान्तिकारी माओवादी)ले उनको औपचारिक ध्यान आक्रर्षित गर्दासमेत यतिका दिनसम्म पनि ती नक्सा सम्बन्धित कार्यालयबाट हटाउने चासो दोखाएका छैनन् । नेपालको सीमा मिचिएकोबारे केही बोलेका छैनन् । अहिले आएर भारतीयहरूको चासो संंविधानमा संशोधनद्वारा उसका इच्छा पूरा कसरी गराउने भन्ने धूनमा उनी लागेका छन् । भरखरै उनले संविधान संशोधनको लागि उनका विश्वासपात्र रक्षामन्त्री ईश्वर पोख्रेलमार्फत् गृहमन्त्रीलाई समेत बाइपास गरेर संसदमा संशोधन प्रस्ताव दर्ता गराएका छन् । अब यो नागरिकताको बारेमा उनले पेश गरेको उक्त प्रस्तावले नेपालको राष्ट्रियतालाई फिजीकरण गर्दै सिक्किमीकरणको मार्गतर्फ लैजाने निश्चित छ । यसरी ओलीको राष्ट्रवाद पूरै नाङ्गिएको छ । त्यसैगरी नेपाली जनताका जनजीविका झन्–झन् कठिन बन्दै गएको छ । ओली र उनका मन्त्रीहरू सबै कमाउने धन्दामा लागेको देखिएको छ । नेपाली जनताको अति आवश्यक तरकारी र उपभोग्य वस्तु तेल आदि माथिको तिनीहरूले लिएका कमिशनका कुराहरू बाहिर पत्रपत्रिकामा छ्याछ्याप्ती आएका छन् । चिनीमा अर्बौ रुपियाँको कमिशन, आलु तरकारीमा त्यस्तै कमिशन आखिर ओली सरकार कमिशनको खेलमा चुर्लुम्म डुब्दै गएको छ । गृहमन्त्रीले सिण्डिकेटको ढाड भा“चेको छु भनेर कूर्ले, सुनकाण्डको माफियाको जालो तोडें भनेर कूर्लिए, शान्तिसुरक्षा सुदृढ गराएँ भनेर कुर्लिए, ठेकदारहरूमाथि कडा निगरानीका हुँकार गरे, आखिरमा भयो के ? नेपाली जनताका लागि ‘हात्ती आयो, हात्ती आयो फुस्सा’ । आखिर यी कम्युनिष्ट हौं भन्नेहरू प्रदेशका मुख्यमन्त्री, मन्त्री र सांसद छन्, त्यसैगरी केन्द्रीय सरकारमा प्रधानमन्त्री, मन्त्री र सांसद आदि छन् । त्यसैगरी प्रशासन तन्त्रमा उनीहरूकै मान्छेहरूको बाहुल्यता छ । सेना, प्रहरी आदिमा उनकै बर्चश्व छ, यदि नभए उनीहरूसित जनताको ती सबलाई तह लगाउने दुईतिहाइ मत छ । आखिर यी सब देशको हित विपरित, जनताको हित विपरित कसले काम गरेको छ त ? उत्तर स्पष्ट छ, यिनै तथाकथित कम्युनिष्ट हौं भन्नेहरू गाउ“देखि केन्द्रसम्म छन् र यी सबका जिम्मेवार यिनै हुन् । यसो गरेर यी नामधारी कम्युनिष्टहरूले नेपालका अन्य क्रान्तिकारी कम्युनिष्टहरूलाई पनि बदनाम गराउने काम गर्दै छन् ।

आखिरमा ‘वाम गठबन्धन’को नाममा अनेकौ जनपक्षीय नारा दिएर सरकारमा जान सफल भएको ओली सरकारको सक्कली रूप नेपाली जनताको नजरमा त नाङ्गै पो भएर देखिएको छ । ओली सरकार त आखिरमा दलालहरू, तस्करहरू, बलात्कारीहरूको सरकार पो रहेछ । समग्रमा यो जनताको सरकार होइन रहेछ, यो त भारतीय एकाधिकार दलाल नोकरशाही पु“जीपति वर्गको सरकार पो रहेछ भन्ने स्पष्ट आवाज जनताको बीचमा उठ्न थालेको छ । ओली सरकार त कति छिटो सातै महिनामा नाङ्गो देखियो । [email protected]

जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here