एसपी विष्टका छोरा किरणको प्रधानमन्त्रीलाई खुलापत्र

259

काठमाडौं/  निर्मला हत्याकाण्ड प्रकरणमा निलम्बनमा परेका एसपी डिल्लीराज विष्टका छोरा किरण विष्टले निर्मला हत्या प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुलापत्र लेखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पत्रमा ‘सञ्चारमाध्यमले पनि कतिपय अवस्थामा अपुष्ट खबर लेखिदिँदा आफ्नो चरित्रहत्या हुन पुगेको’ उल्लेख गर्दै पत्रमा आफू निर्दोष रहेको र निर्मलाले न्याय पाउनुपर्ने पक्षमा रहेको पनि जनाएका छन् ।

उनले पत्रमा भनेका छन्, ‘निर्मला पन्त बैनीलाई न्याय दिलाउनका लागि अनुसन्धान कार्यमा आफ्नो तर्फबाट पूर्ण सहयोग रहेको छ तर सहयोग गर्दागर्दै पनि केही व्यक्तिले सुनियोजित रुपमा मलाई र मेरो परिवारलाई गम्भीर तनाव र पीडा हुने गरी चरित्र हत्या गर्ने कार्य भइरहेकाले एउटा निर्दोष नागरिकलाई स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकार यो देशमा छ भने मलाई अनाहकमा सामाजिक सञ्जालबाट यस्तो मानसिक यातना किन ?’

निर्मला हत्या प्रकरणमा डीएनए परीक्षणबाट पनि आफू निर्दोष भइसकेको प्रमाणित हुँदा पनि डीएनए नतिजा नै गलत भनेर आएको विषयमा पनि किरणले दुखेसो पोखेका छन् । उनले राष्ट्रिय मानवअधिकार आयोग र उच्चस्तरीय छानबिन समितिको प्रतिवेदनप्रति असहमति जनाउँदै लेखेका छन्, ‘राष्ट्रिय मानवअधिकार आयोग र उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन पेश तथा सार्वजनिक गर्दा सबै पक्षलाई समेटेर प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा म लगायत मेरो परिवार र उक्त दिनमा मसँग कार्यक्रममा सहभागी रहेका व्यक्तिहरु कसैसँग पनि सोधपुछ तथा बुझ्ने कार्य नगरी एकपक्षीय रुपमा प्रतिवेदन तयार गरेको देखिएको छ । यसमा मेरो मानवअधिकार अटाएन र ?’

Related image

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here