प्रधानमन्त्री ओलीको दशैं शुभकामना सन्देश यस्तो

489

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको जनाउँदै राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य भएकामा जोड दिनुभएको छ ।

दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले भन्नुभएको छ, `यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौं । हामी आमजनताको विश्वास र अपेक्षालाई शिरोपर गर्दै समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्य हासिल गर्न रत्तिभर समय खेर नफाली अघि बढ्न चाहन्छौं ।´

उहाँले भन्नुभएको छ, `देशमा रहेका काम गर्न सक्ने उमेर समूहका युवा जनसङ्ख्याको प्रधानता समृद्धिको एउटा प्रमुख आधार हो तर यो उमेर समूहको जनसङ्ख्या रोजगारको खोजीमा विदेशी भूमिको समृद्धिका लागि अहरोत्र खटिरहेको छ । सरकार यो अवस्थाको अन्त्य गरेर स्वदेशमै आकर्षक रोजगारीको व्यवस्था गर्न प्रयत्नशील छ ।´

दशैँ पर्वले नेपालको विविध भाषा, संस्कृति, परम्परा र विभिन्न स्थानमा रहेका नेपालीबीच भाइचारा, मेलमिलाप, सुसम्बन्ध कायम गर्ने माध्यम बनेको बताउँदै देशविदेशमा रहेका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले चाडपर्व सामाजिक र सांस्कृतिक पहिचान अभिव्यक्त गर्ने महत्वपूर्ण माध्यम भएको जनाउनुभएको छ ।

नेकपाका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्रीले देशको सामाजिक तथा आर्थिक रुपान्तरणमा योगदान गर्न प्रेरणा प्राप्त हुने विश्वाससहित सामाजिक विकृति एवम् विसङ्गतीविरुद्धको विजय गर्न सक्ने क्षमता सबैमा प्रदान होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले खुशियालीको पर्वका रूपमा रहेको विजयादशमीले सबैमा नयाँ उत्साह एवम् उमङ्ग, जोश तथा जाँगर थप्दै समुन्नत नेपाल र सुखी नेपाली बनाउन प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

उहाँले लामो राजनीतिक सङ्घर्षको युग पार गरेर देशले विकास र समृद्धिको युगमा प्रवेश गरेको उल्लेख गर्दै संविधानले व्यवस्था गरेअनुसारका स्थानीय तह, प्रदेशसभा र सङ्घीय संसद्को निर्वाचन सम्पन्न भएर जनप्रतिनिधिमूलक संस्थाहरु क्रियाशील भई देश राजनीतिक सङ्क्रमणकालको चरण पार गरेर सामाजिक–आर्थिक रुपान्तरणको बाटोमा लम्किसकेको जनाउनुभएको छ ।

वर्तमान सरकार राजनीतिक स्थिरतासँगै देशलाई आर्थिक समृद्धि र विकासको दिशामा अघि बढाउने मूल ध्येयलाई साकार तुल्याउन कार्यरत रहेको र देशलाई आर्थिक–सामाजिक रुपान्तरणको बाटोमा तीव्र गतिका साथ अग्रसर गराउन जनताले दिएको अभिभारा आफूहरुले शिरोपर गरेको उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here