नेकपाका प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

74

काठमाडौँ, ६ कात्तिक नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा अस्वीकृत गरेको हो । बैठकको निर्णयबारे जानकारी दिंँदै प्रवक्ता श्रेष्ठले भन्नुभयो, “सचिवालयको बैठकले केन्द्रीय प्रवक्ताले पदबाट दिएको राजीनामा अस्वीकार गरेको छ ।” प्रा डा गोविन्द केसी अनशन प्रकरण विषयमा पार्टी अध्यक्षसँग विवाद भएको जनाउँदै प्रवक्ता श्रेष्ठले राजीनामा दिएका थिए ।
यस्तै वरिष्ठ नेता माधवकुमार नेपालले अघि सारेको प्रस्तावबारे सचिवालय बैठकमा गम्भीर छलफल भएको थियो । नेता नेपालले यसअघिको सचिवालय बैठकको निर्णयप्रति असहमति जनाउँदै पत्र दर्ता गराएका थिए । नेता नेपाल र अन्य नेताले उठाएको विधि, प्रक्रिया, पद्धतिलगायत विषयलाई ध्यान दिंदै अगाडि बढ्ने र यसअघिका निर्णय भने यथावत् रहने निर्णय भएको समेत प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रदेश अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोक्ने सचिवालयको निर्णय विधि र प्रक्रियानुसार नभएको भन्दै नेपालले असन्तुष्टि जनाएका थिए ।
बाँकी कार्यसूचीमाथि छलफल गर्न यही कात्तिक ७ गते अपराह्न ३ बजे अर्को बैठक बस्नेछ । प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको एकीकरण तथा जनवर्गीय सङ्गठनका केन्द्रीय कमिटीको एकीकरण, पार्टी, संसद्, सरकार सञ्चालनलगायत विषयमा निश्चित भएको कार्यसूचीबारे आगामी बैठकदेखि छलफल प्रारम्भ हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here