अलग मधेश राष्ट्र बनाउने दुस्वप्नकारीलाई परास्त गर्नु पर्छः प्रचण्ड

136

काठमाडौ ७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँबाट अलग मधेश राष्ट्र बनाउने मधेशी जनतालाई बर्बाद पार्ने दुस्वप्नकारीलाई परास्त गर्नु आजको आवश्यकता भएको बताएका छन् ।

दशैँ तिहार तथा छठपर्वको अवसरमा नेकपा प्रदेश नं २ जनकपुरधामद्वारा मंगलबार आयोजना गरेको शुभकामना आदानप्रदान समारोहमा उनले काठमाडौँको निर्माणमा पहाडका मान्छेले मात्र नगरी मधेशीको पनि उलेख्य योगदान रहेको बताउँदै राष्ट्रिय एकताले नै मधेशी जनताको पहिचान स्थापित हुन सक्ने बताए । दाहालले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने पनि बताएका छन्। “प्रदेश सरकारले सङ्घीय सरकारलाई उछिनेमा दुर्घटनाको खतरा प्रबल हुन सक्छ,” उनले भने ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले प्रदेश सरकारले सङ्घीय सरकारको काममा भएको कमजोरीको निहुँमा उछिन्ने क्रियाकलापतर्फ लागेमा सङ्घीयता विरोधी तत्वले मौलाउन सक्नेप्रति चिन्ता व्यक्त गर्दै दुर्घटना हुने गरी अगाडि बढ्ने मूर्खतापूर्ण कार्य गर्नु नहुने बताए ।

उपयुक्त समयमा सविधान संशोधन गरी मधेशीको सम्मान, अधिकारप्राप्तिको कार्य भइरहेको जानकारी गराउँदै उनले भने, “प्रदेश नं २ को सुनको टुक्रा झैँ मानिएको सुनकोशी–कमला डाइभर्सन सिँचाइ परियोजना, त्रियुगी नदीबाट खानेपानी योजना, निजगढ अन्तर्राष्ट्रिय हवाई अड्डा, जनकपुरधाम–सिमरा रेल सेवाका निर्माण कार्य यथाशीघ्र शुरू गरी विकासको क्रान्तिकारी भूमिका निर्वाह गरिनेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here