ऊर्जामा लगानी बढाउन शिक्षा मन्त्रीको आह्वान

115

काठमाडौं / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय शिक्षामा नै नवीकरणीय ऊर्जाको महत्वसम्बन्धी विषय पाठ्यक्रममा समावेश गर्ने जनाउनुभएको छ । वि सं २०७५/२०८५ लाई सरकारले ऊर्जा दशक घोषणा गरी हरेक घरलाई ऊर्जा घर बनाउने तयारीमा लागेको मन्त्री पोखरेलले जनाउनुभयो ।

सोमबारदेखि काठमाडौंमा शुरु भएको ग्रामीण तथा शहरी विकासका लागि नवीकरणीय ऊर्जासम्बन्धी चौथो अन्तराष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुदैं मन्त्री पोखरेलले दिगो विकासका लक्ष्य हासिल गर्न ऊर्जा विकासमा सरकारले प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले दिगो ऊर्जा विकासबाट ‘सुखी नेपाली र समृद्ध नेपाल निर्माण गर्ने’ सरकारको प्रमुख लक्ष्यमा सहयोग गर्न अन्तराष्ट्रिय दातृ निकायसित आह्वान पनि गर्नुभयो ।

नेपालले राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय विकास साझेदार दातृ निकायका आर्थिक एवं प्राविधिक सहयोगमा साना/लघु विद्युुत् परियोजनाबाट ३० मेगावाट विद्युत, आठ लाख ५० हजार सौर्य घरेलु प्रणाली, चार लाखभन्दा बढी बायोग्यास प्लान्ट, १४ लाख सुधारिएको चुलो, १० हजार सुधारिएको पानीघट्ट, जडान गरिसकेको छ । साथै साना/लघु जलविद्युत् र सौर्य ऊर्जाबाट १८ प्रतिशत विद्युत् र समग्र नवीकरणीय ऊर्जा प्रविधिबाट ३४ लाख घरधुरी लाभान्वित भएका छन् ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र त्रिभूवन विश्वविद्यालय, इञ्जिनीरिङ अध्ययन संस्थानद्वारा संयुक्तरुपमा आयोजित सो तीनदिने सम्मेलनमा नेपाललगायत करीब २० देशको सहभागिता छ । सम्मेलनमा ऊर्जा र दिगो विकास, ऊर्जा सुरक्षा, जलवायु परिवर्तन र कार्बन व्यापार, हरित आर्थिक वृद्धि, नवीरकणीय ऊर्जा प्रविधि, लैङ्गिक मूल प्रवाहीकरण र ऊर्जा, मिनी ग्रीड, ऊर्जा दक्षता, विद्युुत् सम्झौता, स्वच्छ ऊर्जा प्रविधिमा लगानी, दिगो ऊर्जा पहुँचलगायत विषयमा कार्यपत्र प्रस्तुत हुनेछ ।

यसअघि नवीकरणीय ऊर्जासम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन सन् १९९८, सन् २००३ र २०११ मा काठमाडौँमा भएको थियो । साथै सन् २००९ मा नवीकरणीय ऊर्जा प्रविधि र दिगो विकाससम्बन्धी अन्तर्रा्ष्ट्रिय सम्मेलन र सन् २००६ मा राष्ट्रिय सम्मेलन आयोजना भएको थियो । करीब ८० वटा कार्यपत्र प्रस्तुत हुने उक्त सम्मेलनमा झण्डै २५० ऊर्जाविद्को सहभागिता छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here