सामान्य मानिसले आफ्नो जीवनभरमा हजार वटा किताब पढ्न सक्दैनन् । तर अमेरिकाकी एक बालिकाले भने ४ वर्षको उमेरमै १ हजारभन्दा बढी किताब पढिसकेकी छिन् । डालिया मेरी आरानाले १८ महिनाकी छँदा अक्षर चिनेकी थिइन् र ३ वर्षको उमेरबाट आफैं किताब पढ्न थालेकी थिइन् । उनले अहिलेसम्म १ हजार भन्दा बढी किताब पढेर सिध्याइसकेकी छिन् ।
यति सानो उमेरमै अहिले उनी विश्वविद्यालयका पाठ्यक्रममा आधारित किताब पढ्न रुचाउँछिन् । उनले खरर्र पढ्न सक्छिन् र केही लामा शव्दको अर्थ नबुझेमा मात्र अभिभावकको सहयोग लिने गर्छिन् । उनकी आमा हालिमा र बुवा मुगुएलका अनुसार डालियाले जन्मेदेखि नै आफूहरूले पढेको ध्यान दिएर हेर्ने गरेको अनुभव सुनाउँछन् । साथै दिदी दाईले पढ्ने गरेको पनि उनले सानैदेखि ध्यान दिएर सुन्थिन् । १८–१९ महिनाकी हुँदासम्म त उनले धेरै अक्षर चिनिसकेकी आमा हालिमा भनिन् ।
यी बालिकाको पठन क्षमतालाई कदर गर्दै उनलाई विश्वकै सबैभन्दा ठूलो पुस्तकालय युएस लाइब्रेरी अफ कंग्रेसमा एक दिनका लागि लाइब्रेरियन बनाइयो । लाइब्रेरियन कार्ला हेडनसँग मिलेर उनले पुस्तकालयमा एकदिन कार्यभार सम्हालिन् ।


















