नेपालगंज / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको सम्पर्क कार्यालय, नेपालगंजको नवनिर्मित भवनको आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले मिति २०७५ साल कात्तिक १७ गतेका दिन विशेष कार्यक्रमका बीच उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा आयोगका प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार गर्नेसँग कुनै किसिमको सम्झौता हुन नसक्ने धारणा व्यक्त गर्दै यसलाई न्यूनीकरण गर्न नागरिक समाज, सञ्चार क्षेत्र, सरोकारवाला सबै निकायको सक्रिय सहयोग र साथको आवश्यकता छ भन्नुभयो ।
विकास निर्माणका आयोजना तथा सेवा प्रवाहमा हुने ढिलासुस्ती र अनियमितता कुनै पनि हालतमा सहन हुन नसक्ने उल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले आफ्नो जिम्मेवारीमा रहेका विकास निर्माणका कार्य समयमै सम्पन्न नगर्ने र गुणस्तरहीन सामग्रीको प्रयोग गर्नेलाई आयोगले कारबाही गर्न कुनै कसर बाँकी राख्दैन भन्नुभयो ।
उहाँले यस विषयमा संवेदनशील भएर काम गर्न निर्माण व्यवसायी, कर्मचारी तथा सरोकारवाला सबैको ध्यानाकर्षण गराउँदैहाल कार्यान्वयनमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा आयोगले विशेष निगरानी राखेको समेत जानकारी दिनुभयो ।देशमा संघीय संरचना बमोजिम संघ, प्रदेश र स्थानीय सरकार गठन भई कार्य प्रारम्भसमेत भइरहेको बताउँदै कानुन निर्माणका नाममा भ्रष्टाचारलाई प्रश्रय हुने किसिमका कानुन बनाएर स्थानीय तहमा भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती हुने कार्यको आयोगले सूक्ष्म रूपमा निगरानी गर्नुका साथै कानुन विपरीत कार्य गरेको पाइएमा कुनै किसिमको छुट कसैलाई नहुने बताउनुभयो। भ्रष्टाचारको नियन्त्रण गरी सुशासन प्रवर्द्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विकल्प अरू केही नभई सुदृढ अख्तियार दुरुपयोग अनुसन्धान आयोग मात्र भएकोले आयोगलाई थप सशक्त बनाई सम्पूर्ण सरोकारवाला निकायहरूले सहयोग गर्नुपर्ने जनाउनुभयो ।
भ्रष्टाचार निवारणका लागि आयोगले प्रवर्द्धनात्मक, निरोधात्मक र दण्डात्मक सहितको तीनखम्बे नीति अवलम्बन गरेकोउल्लेख गर्दै प्रमुख आयुक्त घिमिरेले आयोजनाहरूको काम तोकिएको समयमै सम्पन्न गर्न सम्बन्धित सरोकारवालालाई ध्यानाकर्षण गराउनुभयो।उहाँले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाई जनतालाई छिटो, छरितो रूपमा सेवा प्रवाह गर्न सम्बन्धित सरोकार निकायसँग आग्रह गर्नुभयो ।
आयोगको कार्यालय बुटवलको सम्पर्क कार्यालय, नेपालगंजको उक्त भवन नेपालगंज महानगरपालिका वडा नं।१८, कारकाँदोमा निर्माण भएको छ । सो भवनको निर्माण लागत अनुमान रु. ६,५२,५३,०९७।२४ रहेकोमा मिति २०७१।११।२८ मा ठेकेदार कम्पनी डि.एस. पृथ्वी जे.भी.सँग रु. ५,५०,२२,७४२।५६ (मू.अ. कर बाहेक) मा सम्झौता भई २ वर्षको ठेक्का सम्झौता अवधिरहेकोमा १ वर्ष म्याद थप भई ३ वर्षमा सम्पन्न भएकोमा निर्माण व्यवसायीलाई कुल भुक्तानी रु.५,२८,४५,५२२। (मू.अ. कर बाहेक) भएको हो । आयोगको सम्पर्क कार्यालय, नेपालगंजको उक्त कार्यालय परिसरमा प्रशासनिक र प्रहरी भवन गरी २ वटा भवन निर्माण भएका छन् ।