भारत हुँदै बाहिर जाने र आउने नेपाली यात्रुलाई प्रवेशाज्ञा अनिवार्य

263

 काठमाडौं / नेपालीले भारतका जुनसुकै अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरेर तेस्रो मुलुक जाने गरेमा भारतीय अध्यागमनमा अनिवार्य रूपमा नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) पेश गर्नुपर्ने भएको छ ।

सरकारले श्रमको इजाजत नदिएका लिबिया, सिरिया, लेबनान, कुवेत, कतार, साउदी अरब, युनाइटेड अरब इमिरेट्स, इराक र ओमनमा नेपाली महिला अवैध रूपमा जाने र अलपत्र पर्ने भएपछि नेपाली महिलालाई अवैध रूपमा खाडी जान रोक्ने उद्देश्यले दुई देशको सहमतिमा करिब डेढ वर्षअघि एनओसीको नीति लागू गरिएको थियो । तर, भारतले सबै देश जाने सबै नेपालीबाट यस्तो कागज माग्न थालेपछि यात्रुलाई सास्ती भएको छ ।

अहिले युरोप, अमेरिका, अस्ट्रेलिया जानेले पनि एनओसी बुझाएर मात्रै जहाजमा उड्ने अनुमति पाउँछन् । तर, नेपाल भएर बाहिर जाने भारतीयलाई भने नेपालले यो नियम लागू गरेको छैन ।

भिसामा नयाँ नियम
भारतले चीन, हङकङ, मकाउ, पाकिस्तान र माल्दिभ्सबाट भारत जाने वा भारत भएर स्वदेश फर्किने नेपालीलाई भिसा (प्रवेशाज्ञा) समेत अनिवार्य गरेको छ । यसअघि चीनबाट भारत जाँदा मात्र प्रवेशाज्ञा अनिवार्य थियो । जब कि तेस्रो मुलुकबाट नेपाल आउन वा नेपाल हुँदै भारत फर्किन भारतीय नागरिकले नेपालको भिसा लिनुपर्दैन । तर, भारतले नेपाली र भुटानी नागरिकलाई कडाइ गर्दै लगेको छ ।

चीन र पाकिस्तानबाट हवाईमार्ग भएर भारत वा भारत हुँदै स्वदेश फर्किंदा यसअघि पनि नेपाली र भुटानी नागरिकले भारतीय भिसा लिनुपर्ने व्यवस्था थियो । तर, यस वर्षदेखि माल्दिभ्स, हङकङ र मकाउ थपिएको छ ।

भारतको त्रिवेन्द्रमस्थित अध्यागमन कार्यालयले एयर इन्डियाको एयरपोर्ट म्यानेजरलाई सम्बोधन गरेर पठाएको सर्कुलरमा नेपाली र भुटानी नागरिकलाई चीन, हङकङ, मकाउ, माल्दिभ्स र पाकिस्तानबाट भारत आउँदा अनिवार्य प्रवेशाज्ञा भएको सुनिश्चित हुनुपर्ने उल्लेख छ । यी देशबाट भिसाविना नेपाली वा भुटानी यात्रु ल्याएको पाइएमा भारतीय गृह मन्त्रालयले जारी गरेको ‘क्यारिअर लायबिलिटी एक्ट’ अनुसार कारबाही हुने उक्त सर्कुलरमा छ । तर, पछिल्लो निर्णयबारे भारतको अध्यागमन ब्युरोले आधिकारिक रूपमा सूचना भने सार्वजनिक गरेको छैन र नेपाललाई औपचारिक जानकारी पनि गराएको छैन ।  नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here