पुनः शुरु हुने भयो अमेरिका दक्षिण कोरिया संयुक्त सैन्य अभ्यास

311

काठमाडौं / संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाकाबीचमा हुने भनिएको संयुक्त सैन्य अभ्यास पुनः शुरु हुने भएको छ । यसै वर्षको जुन महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको उच्चस्तरीय वार्तापछि सो सैन्य अभ्यास रोकिएको थियो ।

त्यस समयमा रोकिएको सो सैन्य अभ्यास अहिले पुनः शुरु गर्न लागिएको दक्षिण कोरियाली अधिकारीले जानकारी दिएका छन् । सो उच्चस्तरीय वार्तापछि पनि यी दुई देशका उक्त सैन्य अभ्यासका तयारी गरिरहेका बेला यता उत्तर कोरियाले आपत्ति जनाएपछि रोकिएको थियो ।

तर यो सैन्य अभ्यासलाई सानो आकारको भनिएको छ । त्यस अभ्यासमा अमेरिका र दक्षिण कोरियाका गरी जम्मा ५०० जना मात्र सैनिक सहभागी हुने भएका बताइएको छ । दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएअनुसार सो सैन्य अभ्यास सोमबारबाटै हुनेछ । यो अभ्यास दुई हप्तासम्म चल्ने र दक्षिण कोरियाको दक्षिणी शहर पोहाङमा हुने जानकारी पनि सो मन्त्रालयले दिएको छ ।

दक्षिण कोरियाली रक्षा मन्त्रालयका प्रवक्ता चोइ हियोन सुले भने– हामीले पहिले नै घोषणा गरेअनुसारको सैन्य अभ्यास गर्ने तयारी हामीले गरिसकेका छौँ र यो सानो सङ्ख्याको सैन्य अभ्यास गर्नेछौँ । सम्वाददाताहरुलाई उनले सोमबार यो जानकारी दिएका थिए। संयुक्त राज्य अमेरिका दक्षिण कोरियाको नजिकको सहयोगी हो । उसले उत्तर कोरियाको पारमाणवकि खतराबाट बचाउन भन्दै दक्षिण कोरियामा २८ हजार ५०० अमेरिकी सेना राखेको छ ।

यी दुई देशले विगत लामो समयदेखि यस्तो सैन्य अभ्यास सञ्चालन गर्दै आएका छन् । यसलाई उनीहरुले आफ्नै शब्दमा विशुद्ध रक्षात्मक प्रकृतिको र कसैका विरुद्धमा पनि लक्षित नरहेको भन्ने गरेका छन् । तर यस अभ्यासलाई उत्तर कोरियाले भने आफ्ना विरुद्धको अमेरिकी र दक्षिण कोरियाको रणानीति भन्ने गरेको छ । गत जुन महिनामा पनि यदि सोलमा सो सैन्य अभ्यास गर्ने हो भने आफूले जुनमा सिंगापुरमा भएको सहमति भङ्ग गर्ने जनाएको थियो । त्यसपछि सो अभ्यास रोकिएको थियो । तर सोमबारबाट शुरु हुन लागेको यस अभ्यासका बारेमा पनि उत्तरको कुनै प्रतिक्रिया प्राप्त भएको छैन । एजेन्सी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here