पेट्रोल पम्पमा अत्याधुनिक ठगी

187

पेट्रोल पम्पहरूले आधुनिक सफ्टवेयर प्रयोग गरी उपभोक्तालाई ठगी गर्दै आएको खुलेको छ । डिस्पेन्सिङ पम्पको ‘मदर बोर्ड’मा कम तेल दिँदा बढी परिमाण देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका थिए ।

आँखाले देख्न नसकिने र सामान्य सिस्टमले समेत हत्तपत्त पत्ता लगाउन नसक्ने सफ्टवेयर जडान गरेर पम्पले तेलमा ठगी गर्दै आएको तथ्य फेला परेको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जनाए । ‘डिस्पेन्सिङ पम्पको डिस्प्लेमा बढी परिमाण र मूल्य देखाउने, तर इन्धनचाहिँ कम झर्ने सफ्टवेयर जडान गरेको भेटियो,’ उनले भने, ‘हामीले दसैँअघिबाट गरेको अनुगमनले करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ ।’प्रहरीले तीन वर्षअघि पेट्रोल पम्पहरूले चिप्स प्रयोग गरी इन्धन ठगी गरेको फेला पारेको थियो । त्यतिवेला आँखाले सोझै देख्न सकिने चिप्स प्रयोग गरिएको पाइएको थियो ।

आइतबार लाग्यो ठगीको रहस्य
विभागले आइतबार काठमाडौंको सानोभर्‍याङस्थित बंगलामुखी आयल स्टोरमा अनुगमन गरी सफ्टवेयरमार्फत तेल ठगी हुने गरेको पत्ता लगाएको हो । सो पम्पलाई विभागले एक वर्षअघिबाट निगरानीमा राखेर अनुसन्धान गर्दै आएको थियो । ‘बंगलामुखी पम्पले तेल ठग्ने गरेको उजुरी आउँथ्यो, हामीले अनुगमन गरी चेकजाँच गर्दा सही परिमाण भेटिन्थ्यो,’ पुडासैनीले भने, ‘एक वर्षमा दुई–तीनपटक अनुगमनमा जाँदा सही परिमाण नै भेटियो । यद्यपि, पम्पका कर्मचारीले गरेको एउटा व्यवहारले ठगीलाई प्रमाणित गर्न सहयोग पुग्यो ।’

उनका अनुसार प्रत्येकपटक अनुगमनमा जाँदा पम्पमा आपूर्ति भइरहेको बिजुली कर्मचारीले बन्द गर्दथे । बिजुली नआएपछि तेल वितरण नै बन्द हुन्थ्यो । ‘हामीले एक–दुईपटकसम्म त बत्ती बाल्नुपर्‍यो, तेलको परिमाण चेकजाँच गर्न आएको भन्यौँ,’ पुडासैनीले भने, ‘तर, पटकैपिच्छे बत्ती निभाउने गरेको पाएपछि शंका लागेर त्यहीँबाट अनुसन्धान सुरु गर्‍यौँ ।’

बत्ती निभाउँदा सफ्टवेयरले काम गर्दैन
उपभोक्तालाई थोरै दिने, तर चेकजाँच गर्दा ठीक परिमाण आउने देखेपछि विभागका निरीक्षकले पम्पमा अदृश्य सामग्री राखेर ठगी भइरहेको निक्र्योल निकाले, तर पुष्टि गर्ने कुनै आधार थिएन । उनीहरूले अनुसन्धान गर्दै जाँदा डिस्पेन्सिङ पम्पमा तेलको परिमाण र मूल्य देखाउने एप्लिकेसनको सिस्टमलाई बिगार्ने सफ्टवेयर प्रयोग गर्ने गरेको तथ्य फेला पर्‍यो । ‘मदरबोर्डमा राखिएको सफ्टवेयर पत्ता लगाउन हाम्रो सिस्टमलाई समेत हम्मे पर्‍यो,’ पुडासैनीले भने ।

यस्तो सफ्टवेयरले एकपटक बिजुली आपूर्ति बन्द भएपछि काम गर्न छाड्छ । बिजुली आपूर्ति सुचारु भएपछि सफ्टवेयरमा फेरि सेटिङ मिलाउनुपर्छ । अनुगमन टोली आउँदा बत्ती निभाउनुको कारण पनि यही थियो । ‘हामी पम्पमा पुगेपछि बत्ती निभ्थ्यो । फेरि बत्ती बालेर पम्पबाट तेल हाली चेकजाँच गर्दा सफ्टवेयरले काम गर्दैनथ्यो र उचित परिमाण देखिँदोरहेछ,’ पुडासैनीले भने । सानो भर्‍याङको बंगलामुखी पम्पले एक वर्षदेखि सफ्टवेयर राखेर ठगी गर्दै आएको विभागको अनुमान छ ।

फितलो कारबाही
विभिन्न उपायबाट इन्धन ठग्ने पम्प सञ्चालकलाई फितलो कारबाही हुँदा समस्या सुल्झन सकेको छैन । एक वर्षअघि नै गुणस्तर तथा नापतौल विभागले बुटवलको विशाल इन्टरनेसनल आयल स्टोरलाई सफ्टवेयर बिगारेर तेल ठगी गरेको आरोपमा जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । तर, अदालतले ५ सय जरिवाना तिराउने फैसला गरेको थियो । स्ट्यान्डर्ड नापतौल ऐनमा एक हजार जरिवाना वा एक वर्ष कैद वा दुवै सजायको व्यवस्था भएपनि व्यवसायीले उन्मुक्ति पाएका थिए ।

यसपटक ऐन शंशोधन भई १० हजार जरिवाना र एक वर्ष कैद सजायको व्यवस्था गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जनाए । ‘अहिले ऐन शंशोधन भएको छ । अब मुद्दा परेपछि दोषी ठहर भएकालाई अनिवार्य जेल सजाय हुने प्रावधान छ,’ उनले भने ।

पम्प किन्दै ठगी गर्ने मेसिन जडान
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बाराका प्रमुख शशीभूषण यादवका अनुसार वीरगन्जस्थित पेट्रोल पम्प आपूर्तिकर्ता कम्पनी अरनिका ट्रेडर्सको ले उपलब्ध गराएका पम्पमा तेल ठगी गर्ने सफ्टवेयर जडान गरिएको भेटिएको छ । ‘अनुगमनबाट जति पनि पम्पले सफ्टवेयर जडान गरेर तेल ठगी गरेको भेटिएको छ, ती सबै अरनिका ट्रेडर्सको बिक्री गरेका किल्बर ब्रान्डका पम्प हुन्,’ यादवले भने । अरनिकाले पम्प किन्न आउने सबैलाई सफ्टवेयर जडान गरेर तेल ठग्ने विधिबारे जानकारीसमेत दिने गरेको छ । स्रोतका अनुसार उनको पसलबाट मदरबोर्डमा सफ्टवेयर जडान गरेर मात्र पम्प बिक्री हुने गर्छ । अहिले चार कम्पनीले पम्प आपूर्ति गर्छन् । त्यसमध्ये अरनिका ट्रेडर्सको हिस्सा सबैभन्दा बढी छ ।

बाराबाट पत्ता लाग्यो ठगी काठमाडौंमा पुष्टि

गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बाराका प्रमुख शशीभूषण यादवले स्थानीय पम्पमा अनुगमन गर्दा मेसिनमा देखिने र उपभोक्ताले पाउने तेलको परिमाणमा धेरै फरक पाए । त्यसपछि उनले सोधी–खोजी थाले । एउटै पम्पमा दोहोर्‍याएर अनुगमन गर्दा ठूलो अन्तरमा ठगी गरेको पाएपछि पम्प सञ्चालकलाई कानुनी कारबाहीको धम्की दिए । ‘त्यसपछि पम्प सञ्चालकले आफूलाई केही थाहा छैन, मिस्त्री बोलाएर सोध्छु भन्ने जवाफ दिए,’ उनले भने ।

पम्प फिटिङ गर्ने मिस्त्रीलाई यादवले नै बयान लिएपछि सफ्टवेयर जडान गरी ठगी गर्दै आएको पत्ता लाग्यो । तर, त्यसलाई पुष्टि गर्ने आधार थिएन । यादवले त्यसको जानकारी विभागलाई गराए । पहिलेदेखि निगरानीमा रहेको काठमाडौंको बंगलामुखी पम्पमा ठगीको थप अनुसन्धान गर्ने योजना विभागले बनायो । र, सफ्टवेयरबाट हुने ठगी पत्ता लगाउने सिस्टम ल्याएर पम्पमा परीक्षण गर्‍यो । नभन्दै आधुनिक ठगीको पुष्टि भयो ।

दसैँअघि बाराका पाँच पम्प समातिए
गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बाराले दसैँअघि तेल ठगी गरेको पाएपछि पाँच पम्पलाई सिल गरेर मुद्दा प्रक्रिया अघि बढाएको थियो । कार्यालयका प्रमुख शशीभूषण यादवका अनुसार १० लिटरको भाँडामा चेकजाँच गर्दा कलैयास्थित विजय आयल स्टोरले ४ सय मिलिलिटर ठगी गरेको भेटिएको थियो । त्यस्तै अमित आयल स्टोर, मोहम्मद आयल स्टोर, श्रीशंकर आयल स्टोर र स्वस्थानी आयल स्टोरले पनि ठगी गरेको भेटियो । उनीहरूविरुद्ध सुरुमा ‘पम्पमा अदृश्य उपकरण राखेर ठगी गरेको’ अभियोगमा मुद्दा प्रक्रिया अघि बढाइएको थियो । तर, आइतबार काठमाडौंको बंगलामुखी पम्पमा सफ्टवेयरमार्फत ठगी हुने गरेको पुष्टि भएपछि सोहीअनुसार मुद्दा चलाउने तयारी छ ।

मुलुकभरका १५ प्रतिशत पम्पबाट ठगी भइरहेको अनुमान छ

डिस्पेन्सिङ पम्पको डिस्प्लेमा बढी परिमाण र मूल्य देखाउने, तर इन्धनचाहिँ कम झर्ने सफ्टवेयर जडान गरेको भेटिएको छ । हामीले दसैँअघिबाट गरेको अनुगमनले हालसम्म करिब आधा दर्जन पम्पमा सफ्टवेयर राखेर तेल ठगी गरेको भेटिएको छ । तर, अहिलेसम्मको अनुगमनको प्रवृत्ति हेर्दा मुलुकभरका करिब १५५ पम्पले यसरी ठगी गरिरहेको अनुमान छ । नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here