आज विश्व टेलिभिजन दिवस, टिभीको क्रेज पहिले र अहिले कति धेरै फरक !

602

टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ ।

टेलिफोन, टेलिभिजन, टेलिग्राफ लगायत थुप्रै टेलिहरु आजको संसारले पाएको छ ।  कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज ।

१८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुईवटामात्र टिभीका बाकसहरु हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुण्डिएका अाल्म्यूनियम पाइपबाट बनेका YAGI ऐन्टिना । आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसगंहरु कोट्याउन जरुरी लाग्दैछ ।

हतार हतार भात खाएर टिभी हेर्न जानेको हतारो, चिसै हात साँझमा टिभी कोठाको प्रवेश, तछाडमछाड गर्ने समूदायका सदस्यहरु अनि भुईमा बसेर अहिलेको योगा र धार्मिक प्रवचन सुन्न बसेका दर्शकहरु ।

बिहिवारको रामायण, आईतवारको पाकिस्तानी सिरियल, देवी, ओम नमः शिवाय, गीताञ्जली, विश्वघटना अनि हिजो-आजका कुरा, के तपाईलाई याद छ ती एतिहासिक सिरियलहरु?

नेपाल टेलिभिजनको २०४१ सालमा स्थापना भएपछी हामी नेपालीहरु टिभीसँग अझै नजिकिएका हौं, श्यामश्वेत टिभी अनि च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, टिभी अभूतपूर्व वरदान जस्तै थियो ।

एन्टिनाभएको घर एकतवरले धनी कहलाउँथे, किनकी त्यतिबेला अत्यधिक महङ्गो टिभी अहिलेजस्तै सबैको घरमा हुने कुरो परिकल्पनासम्मपनि गर्न सकिन्नथ्यो । कतिले धान वेचेर टिभी किने त कतिले वर्षौ जम्मा पारेको पैसाले अनि दाईजोमा पनि त आएका टिभीको फेरहिस्त लामै छ कि कसो ? टीभी एउटा साथी हो अनि संसार अनुभूत गर्न पाउने एउटा झ्यालपनि जसवाट हामी संसार नियाल्छौ ।

बाल कार्यक्रममा पत्राचार गर्ने बालवालिकाको लालसा अनि सदाझै हेर्ने बालसाम्रगीहरु, महजोडिका टेलिसिरियलहरू, वृतचित्रहरु, केही नबिराई हेरिन्थ्यो उतिबेला । शनिबारको फिल्म त झनै ब्यग्रताकासाथ प्रतिक्षा गरिन्थ्यो । स्कूलको परीक्षा परेको समय प्रशारण हुने फिल्म हेर्न नदिँदा अत्यन्त दुःख लाग्ने गर्थ्यो । रेडियो नेपालले आवाज ल्यायो घरदैलोसम्म तर नेपाल टिभीले त अावाज सहितको अनुहार, देश विदेशका रोचक, अाकर्षक दृश्हरुनै ल्याईदियो । टिभी जब बोल्न थाल्दथ्यो तब दर्शकका स्वरयन्त्रहरु चुप लाग्दथे, त्यो बाकसले सबैलाई अाफूप्रति अाकर्षित गर्दथ्यो ।

धर्मकर्ममा अत्यन्त अास्था राख्ने एकजना हजुरबूवाको संझना आँउछ, महाभारत या रामायण आँउदा वहाँ पुरै लम्पसार परेर दण्डवत गरेर मात्र श्रद्धापूर्वक हेर्नुहुन्थ्यो, टिभी कोठाको भिड अलि छेउ लाग्थे वहाँ लम्पसार पर्दा ठाँउ मिलाउनलाई ।

गाँउका सबैजना मिलेर पैसो उठाएर भिडियोमा VCR/डेक लगाएर ल्याएर फिलिम हेर्दाको रमाईलो पनि टिभीकै कारण सम्भव भयो । शुरुवातका भिडियो गेमका कार्टिजहरुपनि टिभीमै जोडेर सुपर मारियो, कन्ट्रा, एफ वान रेस लगायतका खेलहरु हामीमध्यधेरैले खेलेका हुनसक्छौं ।

टिभीले “ट्वाक्क टुक्क” सँगै हँसायो अनि कति कुरामा रुवायो, धेरै कुरा सिकायो अनि समाचार सुनायो, देखायो, टिभीभित्र मान्छे छिर्छ र तिनै मान्छे देखिन्छ भन्ने हल्ला पनि गरे कोहीकोहीले, संझदा हाँसो उठ्छ । विश्वकप फूटवल सँगै बसेर सादा टिभीमा हेरेको रंगीन यादहरुले आज पनि एउटा पुरानो यूगको अवयवहरुमा फिर्ता बोलाउँछ ।

विस्तारै रंगिन भयो हाम्रो टिभी, अनि थपिए टिभी हेर्ने च्यानलहरु, देश विदेश लगायतका सबै च्यानलहरु आज हामी हेर्दछौ, हात हातमा रिमोटमार्फत् अाफूलार्इ मनपरेको विषयगत कुनैपनि कुरा हामी टिभीमा सहजै हेर्न सक्छाैं । धेरैजसोको घरमा टिभी छ आजभोली, अरु त अरु हामीलाई बाबा रामदेवले योग गर्नसमेत टिभी मार्फत सिकाउँछन् साथै कृषि कार्यक्रमले कृषी सिकायो अनि रियालिटी कार्यक्रमले गाँउगाँउमा भएका प्रतिभालाई मूलधारमा समाहित गर्यो ।

सुन्दा अचम्म लाग्नसक्छ, अमेरिकाका भावी राष्ट्रपति डोनल्ड ट्रम्प तत्कालिन WWF (World Wrestling Federation) जुन अहिले WWE बनेको छ त्यसमा ब्यवसायिक कुस्तिवाज तथा कुस्तिवाजमाथि लगानी गर्ने तथा सन् २००७ ताका रियालिटी शोः द एपरन्टाईसका निर्णायक थिए यसअर्थमा टिभीले हामीलाई धेरै ठूला अनि नयाँ अनुहारहरु दिएको छ र दिने गर्दछ । एकफेर सोचौँ न! कतिधेरै टिभीमा देखिएका अनुहारहरु आज धेरै सफल अनि चर्चित भएका छन्, स्वर्गीय ईन्द्र लोहनीको ‘बहस’ होस् या विजय कुमारको ‘दिशानिर्देश’ या दूर्गानाथ शर्माको ‘विश्व घटना’ वा वर्तमान समयमा रङ्गमञ्च, चलचित्र अथवा सामाजिक चेतनामा सार्ह्रै लोकप्रिय कलाकार जोडी धुर्मुस-सुन्तली नै किन नहोउन हामीले टिभिमार्फत् एउटा अाशा पाएका छाैं, कतिले जीवनसंगको लडार्इमा एउटा बाँच्ने बहाना पाएका छन् । विभिन्न हाँस्य कार्यक्रमका पात्रहरु आज ठूला नाम र उत्कृष्ट जीवन्त पात्रहरू बनेर हामीमाझ परिचित छन् । आजको दिन पर्दापछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिन हो ।

दिशा गरेपछी हात धुनपर्छ, साबुन पानी नभए खरानी पानी, झाडापखालामा जीवन जल खुवाउने, आयोडिनयूक्त नुन देखि छोरीलाई स्कूल पुर्याउने अनि पोलियो थोपा खुवाउनेसम्मका सूचनाहरु कलात्मक पारामा टिभीमार्फत् नेपाली समाजमा प्रवाह भएको हो ।

ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ?

विस्तारै विहान विहान ईमेज च्यानल, दिब्यदृष्टि, च्यानल नेपाल, योगं एसिया, नेपाल वान हुँदै कान्तिपुर, एभिनूज, न्यूज24 सम्म आएको नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २५ भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ ।

डिस या केवलको तार बेगैर हेर्न सकिने च्यानलहरुलाई टेरिस्टेरियल भनिन्छ जुन Yagi प्रविधिमा अाल्म्यूनियमबाट बनेको एण्टेनालार्इ जोडेर टिभीमार्फत् हेर्न सकिन्थ्यो, विस्तारै एण्टेना हराए अनि एनालग प्रविधिको विस्तार स्वरूप धेरै च्यानलहरूकासाथ डिस केबल सञ्जालको विस्तार भयो । ईन्टरनेट मार्फत् अनलाईन टिभी पनि एउटा नौलो प्रयोग भएको छ आजभोली ।

केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ ।

समग्रमा भन्दा टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ । हाम्रोपात्रो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here