सुनसरी / सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टा नजिक एक जनाको गोली हानी हत्या गरिएको छ । सुनसरीको दुहबी नगरपालिका–९ जयबाबा इँटाभट्टाका सुपरभाइजर ५० वर्षीय फिदा हुसेनको हत्या भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
सुपरभाइजर हुसेनलाई कालो रङ्गको लुगा लगाएर मोटरसाइकलमा आएका दुई जनाले गोली प्रहार गरेको प्रत्यक्षदर्शीले बताएका छन् । बिहान श्रीमतीसँग मर्निङवाकका लागि इँटाभट्टातर्फ जाँदै गर्दा हुसेनमाथि गोली प्रहार भएको हो । घटनास्थलबाट तीन गोलीको खोका बरामद गरिएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलले जानकारी दिए ।
प्रहरीले घटनाबारे जानकारी पाएलगत्तै यसमाथि अनुसन्धान शुरु गरेको जनाएको छ । एसपी अधिकारीका अनुसार, हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।