राष्ट्रपति निवासमा प्रहरी तालिम केन्द्र हटाएर ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ बन्ने

296

काठमाडौं /  राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै अत्याधुनिक र सुविधासम्पन्न ‘भीभीआईपी पाहुना घर’ र ‘स्टेट ब्यांकेट’ (राजकीय सत्कार गृह) बन्ने भएको छ ।

त्यसका लागि थप जग्गा आवश्यक परेकाले सरकारले नजिकको प्रहरी एकेडेमीलाई महाराजगन्जबाट सार्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकारीले दिएका छन् ।

मन्त्रिपरिषदको भदौ २१ मा बसेको बैठकले राष्ट्रपति कार्यालय र निवास विस्तार गर्न प्रहरी एकेडेमी पनौती सार्ने निर्णय गरेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त निर्णय गृह मन्त्रालयलाई पठाई प्रहरी एकेडेमी डेढ वर्षभित्र पनौतीमा सारिसक्न लिखित निर्देशन दिइसकेको छ ।

राष्ट्रपति कार्यालयमा नेपाल भ्रमणमा आउने राष्ट्राध्यक्ष र सरकार प्रमुख तथा विशिष्ट पाहुनाहरूको सम्मानमा राष्ट्रपतिले रात्रि र दिवाकालीन भोज दिन अत्याधुनिक र सुविधा सम्पन्न ‘स्टेट ब्यांकेट’ समेत निर्माण गरिनेछ । ‘संघीय राजधानीमा विशिष्ट विदेशी पाहुनाहरूलाई राख्ने र उनीहरूको सम्मानमा राष्ट्रपति र सरकार प्रमुखले दिवा र रात्रिभोज दिने एउटा पनि सुविधासम्पन्न सरकारी आवास र स्टेट ब्यांकेट छैन । होटलहरूमा लगेर राख्नुपर्ने र राष्ट्रपति र प्रधानमन्त्रीले विशिष्ट सरकारी पाहुनालाई होटलमा नै भोज दिनुपर्ने बाध्यता छ । त्यही कारण राष्ट्रपति कार्यालयमा विशिष्ट अतिथि गृह र स्टेट ब्यांकेट बनाउन लागिएको हो’ ती अधिकारीले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हेलिकप्टरमा विदेशी राष्ट्रपति र सरकार प्रमुख सोझै राष्ट्रपति कार्यालयमा आउन र त्यहीँबाट बिदाइ गर्न हेलिप्याड बनाउने निर्णय भएको हो । हेलिप्याड बनाएपछि विशिष्ट अतिथिहरू मुलुक भ्रमणमा आउँदा र फर्कंदा राजधानीमा हुने ट्राफिक जामको समस्या पनि अन्त्य हुने र विदेशी पाहुनाको समेत सम्मान हुने धारणा सरकारको छ ।

राष्ट्रपति कार्यालयमा हेलिप्याडसँगै विशिष्ट अतिथिलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने तथा सैनिक टुकडीले सलामी दिने स्थलसमेत निर्माण गरिनेछ । शीतल निवासमा राष्ट्रपतिको सुरक्षामा खटिएका सेनालाई परेड खेल्ने स्थल र बस्ने भवनसमेत निर्माण गरिने भएको छ ।

राष्ट्रपति कार्यालय र निवासलाई भव्य र सुविधासम्पन्न बनाउन परिसरमा आकर्षक बगैंचा, पौडी पोखरी र खेल मैदानलगायतका भौतिक संरचनासमेत बनाउने योजना सरकारको छ । मन्त्रिपरिषद्ले राष्ट्रपति कार्यालयलाई विस्तार गर्ने निर्णय गरेसँगै सहरी विकास तथा भवन विभागलाई त्यसको विस्तृत इन्जिनियरिङ अध्ययन गरी आवश्यक संरचनाहरूको डिजाइन तयार गर्न निर्देशन दिएको छ । कान्तिपुर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here