फ्रान्समा पेट्रोलियम पदार्थको मूल्य बढ्दा हजारौं नागरिक आक्रमक बन्दै

242

बीबीसी । फ्रान्सको राजधानी पेरिसमा पेट्रोलियम पदार्थको मूल्य विरोधमा भइरहेको प्रदर्शनलाई नियन्त्रणका लागि पुलिसले अश्रु ग्यास प्रहार गरेका छन् भने पानीको फोहोराले पनि भीडलाई नियन्त्रण गर्न खोजेका छन् ।

पेरिसमा गत दुई हप्तादेखि प्रत्येक हप्ताको अन्त्यमा विरोध प्रदर्शन भइरहेको छ । पेरिसको शान्ज एलिजे इलाकाको संवेदनशील स्थानमा पुलिसले बनाएको ब्यारिकेड तोड्ने प्रयासका बीच केही प्रदर्शनकारीबीच झडप भएपछि स्थिती तनावग्रस्त बनेको थियो । प्रदर्शनकारीले थुप्रै गाडीमा आगलागीसमेत गरेका छन् । हज्जारौं प्रदर्शनकारीको नियन्त्रणका लागि तीन हजार पुलिस तैनाथ गरिएको थियो ।

प्रदर्शनकारीले पहेंलो रङको ज्याकेट लगाएर विरोध गरिरहेका छन् । त्यसैले उनीहरुलाई ‘एलो ज्याकेट’ भनिँदै छ । शान्ज एलिजे इलाकामा प्रधानमन्त्री कार्यालयसमेत केही अन्य महत्वपूर्ण भवन छन् । प्रदर्शनकारीलाई रोक्नका लागि भवन अगाडि सुरक्षा घेरा बनाउँदै पुलिसले मेटल ब्यारिकेड्स लगाएका थिए ।

अधिकारीका अनुसार अहिलेसम्म कुनै पनि प्रदर्शनकारी उक्त इलाकामा प्रवेश गर्न सकेको छैन ।

केही प्रदर्शनकारीले सडक किनाराबाट पुलिसमाथि पटाखा र ढुङ्गाले हमला गरे । प्रदर्शनकारीहरु राष्ट्रपति इम्यानुएल म्याक्रोंविरुद्ध नाराबाजी गरिरहेका थिए र उनको राजीनामा माग गरिरहेका थिए ।

किन रिसाएका छन् प्रदर्शनकारी ?

फ्रान्समा धेरैजसो कार डिजेलले चल्छ । देशमा पछिल्लो १२ महिनामा डिजेलको मूल्य करिब २३ प्रतिशतले वृद्धि भएको छ । औसतमा १.७१ डलर प्रतिलिटरको वृद्धि भइरहेको छ । यो सन् २००० पछि सबैभन्दा उच्च स्तर हो ।

वैश्विक स्तरमा कच्चा तेलको मूल्य बढेको थियो तर पछि कम पनि भएको थियो । तर म्याक्रों सरकारले डिजेलमा ७.६ सेन्ट प्रति लिटर र पेट्रोलमा ३.९ प्रति सेन्ट प्रतिशतको हाइड्रोकार्बन ट्याक्स लगाए । सरकाले बिजुलीबाट चल्ने कार र स्वच्छ इन्धन अभियान अन्तर्गत यो कदम उठाएको जनाएको थियो ।

त्यसपछि सन् २०१९ जनवरी १ तारिखदेखि डिजेलको मूल्यमा ६.५ सेन्ट र पेट्रोलमा २.९ सेन्टको बढोत्तरीको निर्णय लिइएको थियो । राष्ट्रपतिका अनुसार वैश्विक स्तरमा कच्चा तेलको मूल्यवृद्धि भएकाले फ्रान्समा पनि मूल्य वृद्धि भएको हो ।

शुक्रबार पश्चिमी फ्रानसमा अश्रु ग्यासको गोलासहित एक व्यक्तिलाई पुलिसले पक्राउ गरेको छ । पक्राउ परेका प्रदर्शनकारीले राष्ट्रपति म्याक्रोंसँग भेटको माग गरिरहेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here