सरकारी मिडियामा निर्मला पन्तसम्बन्धी समाचार नल्याउन सञ्चारमन्त्रीको निर्देशन

258

काठमाडाैं / दुई तिहाइ बहुमतको केपी ओली नेतृत्वको सरकारलाई सबैभन्दा बढी आलोचित र विवादमा पार्ने मुख्य प्रकरण निर्मला पन्तको हत्या घटना भएको छ ।

सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले सरकारी मिडियामा निर्मला पन्तसम्बन्धी समाचार नल्याउन निर्देशन दिएका छन् ।

अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाको हिजोको प्रिन्टअनुसार केही समयअघि मन्त्रीपरिषद् बैठकको निर्णय सात दिनपछि मात्र सुनाउने भनेर चर्चामा आएका बास्कोटाले हालै सरकारी सञ्चारमाध्यमहरू गोरखापत्र, नेपाल टेलिभिजन, रेडियो नेपाल, राष्ट्रिय समाचार समितिमा निर्मला पन्त बलात्कारपछि हत्याका सामग्रीलाई स्थान नदिन निर्देशन दिएको जनाइएको छ ।

निर्मला प्रकरणसम्बन्धी समाचारले सरकारको लोकप्रियतामा ह्रास आएको भन्दै त्यससम्बन्धी समाचार, आलोचनात्मक लेख केही नदिन उनले निर्देशन दिएको रेडियो नेपालका एक पत्रकारले जानकारी दिए ।

मन्त्री बास्कोटाले निजी सञ्चारमाध्यमले निर्मला पन्त प्रकरणलाई प्रमुख स्थान दिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । सरकारी सञ्चारमाध्यमले निर्मला पन्तसम्बन्धी सामग्री नदिँदा सरकारलाई रचनात्मक सहयोग पुग्ने उनको अपेक्षा थियो । मन्त्री बास्कोटाको सो निर्देशनलगत्तै चारवटा सरकारी सञ्चारमाध्यममा निर्मला पन्त प्रकरणका सामग्री ‘ब्ल्याक आउट’ भएको छ ।

अंग्रेजी राष्ट्रिय दैनिक रिप्ब्लिकाका अनुसार हिजो आइतबारको संस्करणमा गोरखापत्रले निर्मलाको बुवा सम्बन्धि कुनै पनि समाचारहरु कभर नगरेको दाबि गरेको छ ।

सामाजिक संजालमा मन्त्री  बाँस्कोटाको चर्को आलोचना शुरु भैसकेको छ , मन्त्री बाँस्कोटाको आदेशलाई गैरजिम्मेवार हर्कतको सबै पराकाष्ठ नाघेको आरोप लगाएका छन् सामाजिक संजाल प्रयोगकर्ताहरुले ।


निर्मलाको बलात्कारपछि हत्या भएको सोमबार चार महिना पुगेको छ । तर, अहिलेसम्म उनको बलात्कार र हत्यामा संलग्नको पहिचान गर्न प्रहरीले सकेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here