‘सामाजिक सुरक्षा योजना’ दूरगामी महत्वको निर्णय : प्रचण्ड

199

कावासोती / नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनअघि सरकारले शुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यक्रम दूरगामी महत्वको निर्णय भएकोे जनाउनुभएको छ ।

नवलपरासी पूर्वको कावासोती–१७ ढोकीमा रहेको त्रिभुवन बाल माध्यमिक विद्यालयको स्वर्ण महोत्सव उद्घाटन समारोह तथा स्वर्ण स्तम्भ अनावरण कार्यक्रममा सम्बोधन गर्दै उहाँले सुरक्षाको दृष्टिकोणले योगदानमा आधारित सुरक्षा भत्ता जनता र श्रमिकले पाउने हुँदा  सरकारको यो कदम दूरगामी महत्वको भएको जनाउनुभयो ।

`जनसामाजिक न्याय, समाजिक सुरक्षाको दृष्टिकोणले र समाजवादको आधार तयार पार्ने दृष्टिकोणले यस कार्यक्रमले कोशेढुङाको भूमिका खेल्नेछ,´ पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, `सबैले कुनै न कुनै रुपले देश र जनताको प्रगतिका निम्ति गरेको योगदानको मूल्याङ्कन राज्यले गर्ने एउटा नयाँ  परिपाटी र संस्कारको थालनी भएको छ ।´

एक वर्षको अवधिमा पूर्वाधार विकासको प्रक्रिया थालनी, छिमेकी र अन्तर्राष्ट्रिय सम्बन्ध सुधार, ऐनहरु निर्माणलगायत काम भएकाले अहिल्यै केही भएन भनेर टिप्पणी हुनु गलत भएको जनाउँदै उहाँले अबको चार वर्षमा घोषणापत्रमा उल्लेख गरेअनुसार काम गरेरै छाड्ने अठोट व्यक्त गर्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, `अबको चार वर्षमा कम्तीमा पनि पूर्वपश्चिम रेल चल्ने वातावरण बनाइने, नारायणीमा जलमार्ग, केरुङ -काठमाडौं- लुम्बिनी र रक्सौल– -काठमाडौं- रेलमार्ग चल्ने स्थिति बनाउनतिर आफूहरुको प्रयत्न हुन्छ ।´

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here