सुविधासम्पन्न सभागृह बनाउने टुङ्गो

63

चितवन / चितवन जिल्लामा सुविधासम्पन्न सभागृह बन्ने टुङ्गो लागेको छ । भरतपुर महानगरपालिकाले पहिले प्रस्ताव गरेका दुई ठाउँमा विवाद भएपछि जिल्ला समन्वय समितिको पार्क निर्माणका लागि छुट्याइएको ठाउँमा सभागृह बनाउने निर्णय भएको हो ।

जिल्ला समन्वय समितिको कार्यालय पूर्वपट्टि रहेको चार बिघा चार कट्ठा जमीनमा सभागृह बनाउने निर्णय गरिएको हो । शहरी विकास विभागले सभागृह निर्माणका लागि रु ५० करोड विनियोजन गरिसकेको छ ।

 सभागृहसँगै उत्तरपट्टि व्यावसायिक सटरसमेत निर्माण गरी जिससको आन्तरिक आम्दानी बढाउन सहयोग हुने भएको छ ।महानगरपालिकाले सभागृह निर्माण गर्न लागेको हो ।

महानगर प्रमुख रेनु दाहालले मन्त्रालयमा निर्णय गइसकेकाले छिट्टै काम अगाडि बढ्ने जनाउनुभयो । उहाँका अनुसार मन्त्रिस्तरीय निर्णयसँगै जग्गाको अन्तिम टुङ्गो लाग्नेछ ।

जग्गाको टुङ्गो लाग्नै समय लागेकाले छिटो काम गर्नका लागि विदेशी परामर्शदाता छनोट गरी नक्साङ्कन गर्ने तयारी महानगरले गरेको छ । दाहालका अनुसार दुई हजार ५०० जना क्षमताको ठूलो हलसँगै विभिन्न क्षमताका साना हलसमेत निर्माण गरिने छ ।

महानगरले एक वर्षदेखि सभागृह निर्माणका लागि जग्गा खोजी थालेको थियो । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको जग्गामा सभागृह बनाउने निर्णय गरे पनि नेपाली काङ्ग्रेसले विरोध गरेको थियो ।

त्यस्तै जिससको पश्चिमतर्फको खुला चौरमा सभागृह निर्माणका लागि सर्वदलीय निर्णय भए पनि स्थानीयले विरोध गरेपछि महानगर पछि हटेको थियो । अहिले टुङ्गो लागेको ठाउँमा भने हालसम्म कुनै अवरोध आएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here