सुन्दरी प्रतियोगिता र नेपालका कम्युनिष्टहरू !

281

-राधा बुढाथोकी मगर

यसपटकको विश्व सुन्दरी प्रयोगितामा नेपालका चर्चित कम्युनिष्ट नेताकी छोरी प्रतिस्पर्धामा पुगेको देखियो । म आफैले पनि विद्यार्थी जीवनदेखि कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याएकाले कम्युनिष्ट पार्टीका नेताहरू बिग्रिएको देख्दा मन दुखेर आउँछ । हुन त म अहिलेको अवस्थामा कम्युनिष्ट छैन । म स्वतन्त्र चिन्तक र व्यवसायीको हैसियतमा मात्र छु । तर पनि विगतको राजनीतिक आस्थाप्रति विशेष लगाव हुने रहेछ । कम्युनिष्ट पार्टी सत्तामा रहेका बेला कम्युनिष्ट नेताकै छोरी विश्व सुन्दरी प्रतियोगितामा प्रतिस्पर्धी भइरहेको खबरले पक्कै पनि कम्युनिष्ट विरोधी शक्तिहरूलाई खुशी तुल्याएको हुनुपर्छ ।

मलाई सम्झना छ, म स्वयं सहभागी भएर विश्व सुन्दरी प्रतियोगिताको विरुद्धमा सडकमा नाराबाजी गरिन्थ्यो । सडकको नाराबाजीमा मेरो साथमा देखिने त्यो बेलाका नेतृहरू पम्फा भुसाल, हिसिला यमि, शशी श्रेष्ठलगायतका महिलाहरू आज सत्तासीन पार्टीका वरिपरि रहेका छन् । सुन्दरी प्रतियोगिताले नारीको अपमान गरेको छ भनेर भन्ने महिलाहरू सत्तासीन पार्टीको नेतृत्वमा पुगेका बेला उनीहरूबाट अहिले सुन्दरी प्रतियोगिताको विरोधमा एक शब्द बोलेको पाइदैन । दुर्भाग्य नै भन्नुपर्दछ ।

सुन्दरी प्रतियोगिताले नारीलाई बेचबिखनको साधन बनाइरहेको छ । आजसम्म सुन्दरी प्रतियोगितामा सहभागी भएका कुन नारीको हैसियत राज्य सञ्चालन तहमा पुगेको छ ? अर्थात् कुन सुन्दरी नारी सुन्दरी भएकैकारण विशेष पदीय हैसियत प्राप्त गरेका छन् ? यो मूल्यांकनको विषय हो । मेरो अनुभवले भ्याएसम्म कुनै पनि सुन्दरी प्रतियोगितामा छानिएका नारीहरू केही समयका लागि मात्र बजारमा बिकाउ भइरहेका हुन्छन् । त्यो पनि विज्ञापनका लागि मात्र । उनीहरूको उमेर ढल्किएपछि सुन्दरताको उपयोग पनि विज्ञापनका रूपमा काम नलाग्ने हुन पुग्दछ । यो पुष्टि भैसकेको कुरा हो ।

सुन्दरी प्रतियोगिताले नारीलाई कहाँ पु¥याइरहेको छ भन्ने कुरातर्पm स्वयं नारीहरू सचेत बन्नु जरुरी छ । समाजमा भइरहने महिला हिंसाका विरुद्धमा विचार गोष्ठीहरू भइरहने गर्दछन् । त्यस्ता विचार गोष्ठीहरूबाट महिलामाथि हिंसा किन भइरहेको छ भन्ने विषयमा मात्र छलफल केन्द्रित भएको पाइन्छ । महिलामाथि हिंसा बढ्नुका कारण सुन्दरी प्रतियोगिता पनि एउटा कारण हुनसक्दछ भन्ने बुझ्नु जरुरी छ । सुन्दरी प्रतियोगिताका क्रममा शारीरिक अवस्थालाई अलि बढी नै यौन आकर्षण रूपमा प्रस्तुत गर्नुपर्ने प्रावधान राखिएको बुझ्न सकिन्छ । यौन आकर्षण नभएका नारी सुन्दरी प्रतियोगिताबाट सहजै बाहिरिनुपर्ने अवस्था आउँछ । नारीलाई यौन मनोरञ्जनको साधन मात्र ठान्ने समाजले नै सुन्दरी प्रतियोगिताजस्तो भद्दा प्रहसनलाई महत्व दिन्छ भन्ने कुरा कठिन छैन ।

एकातिर चार महिना अगाडि बलात्कृत भएर मारिएकी चेली निर्मला पन्तको हत्यारा पत्ता लगाउन अझै पनि सरकार असफल भएको छ । यो घटनापछि पनि कैयौ ठाउँहरूमा नारीहरू बलात्कृत भएका घटनाहरू सार्वजनिक भइरहेका छन् । नारीलाई प्रचार प्रसारको सामग्री बनाएर पुरुषहरूमा यौन उत्तेजना बढाउने काममा नारी सुन्दरी प्रतियोगिताले सहयोग पु¥याइरहेको त छैन ? सबैले मनन गर्नुपर्ने कुरा हो ।

कमसेकम देशमा कम्युनिष्ट पार्टीको सरकार भएको बेला यो सरकारले नारी अस्मिताको महत्व बुझेर नारीलाई शिक्षा अनिवार्य गराउने र साथै नारीहरूलाई रोजगारीमा प्राथमिकता दिने, बैंक कर्जा व्यवसायका लागि विशेष सहुलियत व्यवस्था गर्ने लगायतका नारी उत्थानका प्रयासहरू थालनी हुनुपर्दथ्यो । कम्युनिष्ट पृष्ठभूमिबाटै देशको राष्ट्रपति बन्न पुगेकी विद्यादेवी भण्डारी पनि महिला नै भएकाले उहाँबाट पनि नारीहरूको उत्थानका लागि विशेष कार्यक्रमहरू लागू गर्नेतर्फ ध्यान पु¥याउनुपर्ने आवश्यकता महसुस हुनुपर्ने हो । विद्या भण्डारी सुन्दरी प्रतियोगितामा सहभागी नभएरै पनि देशको महत्वपूर्ण पद राष्ट्रपतिको हैसियतमा पुग्नुभएको छ । यो यथार्थलाई बुझेर पनि नारी उत्थानका लागि केही योजना लागू गर्न सके हुने थियो भन्ने लाग्छ, बुझ्नुपर्नेले बुझिदिए हुन्थ्यो क्या रे !- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here