गुरुङको ‘असल संस्कार : समृद्धिको आधार’ पुस्तक विमोचित

220

काठमाडौं /  संस्कार समाज नेपालकी अध्यक्ष तथा समाजसेवी पशुपति गुरुङद्धारा लिखित ‘असल संस्कार, समृद्धिको आधार’ नामक कृतिको विमोचन गरिएको छ ।

रिपोर्टर्स क्लब नेपालमा संस्कार समाज नेपालले एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तकको विमोचन गरेको हो ।

प्राध्यापक उषा ठाकुर, पूर्व राज्यमन्त्री तथा साहित्यकार भद्रा कुमारी घले, तोयानाथ पौडेल, कृष्णप्रसाद पौडेल, खेम तिवारीलगायतले उक्त पुस्तक संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा प्रा. उषा ठाकुरले साहित्य र संस्कार संस्कृृतिबीच अन्योन्याश्रित सम्बन्ध रहने जनाईन् ।  उनले भनिन्,‘समाज सुधारको लागि साहित्यकारहरुको ठूलो भूमिका हुन्छ, देशको विकास र समृद्धि भाषण गरेर आउँदैन, बोलेका कुराहरु व्यबहारमा उतार्नुपर्छ, राजनीति, सामाजिक मुल्य मान्यताहरु संस्कारयुक्त हुनुपर्छ, यसको लागि पशुपतिजीको कृति एकदमै पठनीय छ, राम्रो छ, त्यही पंक्तिमा पशुपति गुरुङ उभिनुभएको छ, यसलाई निरन्तरता दिनुहोला, मेरो शुभकामना छ ।’

कार्यक्रममा पूर्व राज्यमन्त्री तथा वरिष्ठ साहित्यकार भद्रा कुमारी घलेले साहित्यमा लोकजीवनको कथावस्तु समेटिनुपर्ने धारणा राखेकी छिन् ।

उनले भनिन्,‘नेपाली साहित्यमा आफ्नोपन, मौलिकपन हराउँदै गएको छ, लोकसाहित्य, लोकसंस्कृति, लोकसंगीत हुुनुपर्छ यही मान्यतामा रहेर पशुपतिले पुस्तक लेख्नुभएको छ ।  यस कृतिको महत्व निक्कै ठूलो छ । समाजको लागि साहित्यले ठूलो भूमिका खेलेको हुन्छ । यस अभियानमा पशुपति लाग्नुभएको छ, आफू र आफ्नो समाज मात्रै नभएर सिंगो देशको बारेमा चिन्ता र चासो राख्ने मानिसहरु समाजमा निक्कै कम छन्, सात जना महिलाहरुले सुरु गरेको संस्कार समाज नेपालले ठूलो भूमिका खेलेको छ,आगामी दिनहरुमा पनि यस्तै भूमिका खेल्दै जानुहोला भन्ने मेरो कामना छ।’

कार्यक्रममा कृतिकार गुरुङलाई कक्षा १० सम्म पढाएका शिक्षक तोयानाथ पौडेलले आफूले शिक्षा दिएको विद्यार्थीले पुस्तक लेखेर आफैलाई विमोचन कार्यक्रममा बोलाउँदाको खुशी शब्दमा व्यक्त गर्न नसकिने जनाए ।

उनले भने,‘कास्की घान्द्रुकको गुरुङ परिवार निक्कै राम्रो, सफा सुन्दर र शिक्षित थियो, घान्द्रुकमा स्कुल स्थापना गर्नको लागि पशुपतिका बुवाले ठूलो भूमिका खेल्नुभएको थियो, उहाँको परिवार नै समाज सुधारक तथा सेवामा लागेको देखिन्छ, संस्कारिलो परिवेश र परिवारबाट हुर्केबढेकी पशुपतिले एउटा संस्था चलाएकी रहिछन्, यो निक्कै खुशिको विषय हो, यसरीनै भविष्यमा थप प्रगति गर्दै जानु मेरो शुभकामना छ ।’

त्यस्तै अर्का शिक्षक कृष्ण प्रसाद पौडेलले मुलुकको विकास र समृद्धिको आधारस्तम्भका रुपमा आफूलाई उभ्याएको कृतिकार गुरुङलाई धन्यवाद ज्ञापन गरे । उनले भने,‘उनले आफ्नो जन्मभूमि र जीवनका २२ वर्षहरु जापान र कोरियामा बिताएका पलहरुलाई यस कृतिमा समावेश गरेकी छिन्, जन्मभूमिलाई भुलेकी छैनन्, यो सबैभन्दा राम्रो कुरा हो, जन्मभूमिप्रतिको माया र देशको विकास नहुनका कारणहरुलाई विदेशमा सिकेर स्वदेशमा केही गरौं भनेर फर्केकी छिन्, यसरीनै समाज र देशको विकासमा समर्पित रही रहनको लागि पशुपतिलाई मेरो अनुरोध छ ।’

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर २६ का वडा अध्यक्ष खेमराज तिवारीले छोटो समयमा संस्कार समाज नेपालले समाजमा ठूलो महत्व राख्न सफल भएको जनाए ।

उनले भने,‘संस्कार समाज नेपाल स्थापना भएको धेरै समय भएको छैन् । तर, समाजमा यो संस्थाले ठूलो योगदान दिईसकेको छ, सिंगो देशलाई संस्कार सिकाउने र समृद्धिको पहिलो आधार नै संस्कार हो भन्ने संन्देश प्रवाह गरेको छ, यस सस्थाको अध्यक्ष तथा आज विमोचित कृतिका कृतिकार पशुपति गुरुङ दिदीलाई यस अभियानमा निरन्तर लागिरहनको लागि आग्रह गर्दछु, साथै यहाँहरुको अभियानमा मेरो साथ रहने प्रतिवद्धता जनाउँदछु ।’

कृतिका कृतिकार पशुपति गुरुङले पुस्तकमा आफूले जीवन–भोगाइ र समाजका दृश्यहरु समावेश गरेको सुनाईन् । उनले भनिन्,‘हाम्रो देश किन बनेन ? हाम्रा यूवाहरु विदेश जानुपर्ने बाध्यता र संस्कार कहिले हट्छ ? हाम्रो देश कहिले बन्ला ? यस्ता धेरै प्रश्नहरुले मलाई विदेशमा घोचिरहेका हुन्थे, म विदेशमा कति रोएँ ? कति दुःख पाएँ त्यसको कुनै लेखाजोखा छैन्, हाम्रो नेपाल संस्कारविहिन बन्दै गएको अवस्था छ, यसमा सम्पूर्ण नेपालीहरु गम्भिर बन्नुपर्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here