सुदुरपश्चिम विश्वविद्यालयमा तोड्फोड र आगजनी

23

कञ्चनपुर  / अवैधानिक रूपबाट आफन्तलाई कर्मचारीको रुपमा राखेको भन्दै चार विद्यार्थी संगठनले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड गर्नुका साथै आगजनीसमेत गरेका छन् ।

पूर्व एमाले निकट अनेरास्ववियु, पूर्व माओवादी केन्द्र अखिल क्रान्तिकारी, कांग्रेस निकट नेवि संघ र नेकपा विप्लव निकट विद्यार्थी संगठनले विश्वविद्यालयमा आगजनी गर्नुका साथै प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका हुन् ।

गत आइतबार बैद्य निकट विद्यार्थी संगठनले विश्वविद्यालयामा तोडफोड आगजनी र प्रिन्सिपल डा. भुपेन्द्र बिष्टको कुर्सी जलाएका थिए । बुधबार पनि विद्यार्थी संगठनले विश्वविद्यालयका नासु बिनोदराज जोशीको कुर्सी जलाएका छन् ।

नेपाल विद्यार्थी संघका नेता किशोरप्रशाद जोशीले विश्वविद्यालय भित्र हुँदै आएको कर्मचारीको बेथिति विरुद्धमा कुर्सी जलाएको जनाए ।

कुर्सी जलाएपछि नेवि संघका हिक्मत खडका, अनेरास्ववियुका रोहित गजुरेल, अखिल क्रान्तिकारीका गणेश मिश्र र विप्लव क्रान्तिकारीका टिकेन्द्र पाठकले सम्बोधन गर्दै अवैधानिक नियुक्ती खारेजीको गर्नु पर्ने धारणा राखेका छन् । विद्यार्थी संगठन एवं नेताहरुले विश्वविद्यालय सुधार नहुन्जेलसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयले भने कुनैपनि कर्मचारी, शिक्षकलाई अवैधानिक ढङ्गबाट नियुक्ती नगरिएको जनाएको छ । ‘आन्दोलनमा उत्रेका विद्यार्थी नेताले आफ्ना मान्छे भर्ना नगरिएको झोकमा तोडफोड र आगजनी गरेका हुन्, सुदूरपश्चिम विश्वविद्यालय स्रोतले भन्यो, ‘विश्वविद्यालय सुधारका लागि भए तोडफोड र आगजनी गरिन्छ त ?’ नयाँ पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here