खुराक अनुशासनका १५ फाइदा

282

आरबी बुढाथोकी

खाना सबै प्राणीका लागि अति आवश्यक मानिन्छ रहेकोले मानव जीवनमा खनाको छुट्टै महत्व हुन्छ। शरीरलाई स्वस्थ र जीवित राख्न खाना खाइन्छ। आधुनिक र अस्तव्यस्त युगमा खान नजान्दा मानिसहरु विभिन्न रोगको शिकार भएका छन् । संसारमा जति मानिस खान नपाएर मरेका छन्, त्यसको दुई गुणा बढी मृत्यु धेरै खाना खाएर भएको छ।

खुराक अनुशासन (डाइट डिसिप्लेन) बसेर खानाको सदुपयोग गर्ने देशमा जापान एक नम्बरमा पर्छ भने दुरुपयोग गर्नेमा खाडी राष्ट्रहरु अगाडि छन्। जापानका अधिकांश नागरिकको खुराक अनुशासनकै कारणले सरदर आयु उच्च छ र बौद्धिकतामा पनि अगाडि परेको अध्ययन देखाएकोछ ।

कुनै जमाना थियो, नेपालमा पनि भोकमरी चल्थ्यो। कति मानिस खान नपाएर मर्थे। बिहान–बेलुका हात मुख जोर्न मुस्किल हुँदा अर्काको बनी–बुतो गरेर गुजारा चलाउनुपथ्र्यो। तर अहिले स्थितिमा सुधार आएको छ। खाना नपाएर मर्नेको संख्या खासै छैन। कतिपय ठाउँमा खानाको लागि निकै संघर्ष गर्नुपर्ने अवस्था भने अझै पनि छ।

सहरी क्षेत्रमा खान नजान्दा या बाध्यताले खानु पर्दा धेरै मनिस रोगी हुन पुगेका छन्। खानासम्बन्धी पूर्ण ज्ञान नभएकोले आफूले खाने खानामा अनुशासन नहुँदा यस्तो समस्या बढ्दै गएको हो। दैनिक रुपमा कति खाने र के खाने भन्ने पूर्ण ज्ञान नहुँदा स्वास्थ्यमा समस्या आउन थालेको हो। अन्धाधुन्ध खाना खाँदा पेय पदार्थ सेवनले स्वास्थ्यमा नकारात्मक असर पर्छ। पार्टी, चाडबाड या अन्य सभा–समारोहमा आवश्यकताभन्दा बढी खाने गर्नाले पनि स्वास्थ्यमा असर गरिरहेको हुन्छ।

कसरी बस्ने खुराक अनुशासनमा
विश्वव्यापी रुपमा सामान्यतः २ सयदेखि ३ सय क्यालोरीसम्मको खानालाई सन्तुलित खानाका रुपमा लिइएको अनुसार रेसिपी तयार पारी क्यालोरी टेस्ट गरेर सरकारको खाद्य प्रयोगशालामा पठाई प्रमाणित गरेर मात्र होटेल रेस्टुरेन्टमा खुराक अनुशासन मिलाएर ग्राहकलाई खाना पस्कने नियम हुन्छ। सर्वप्रथम खानामा अनुशासित हुन जरुरी छ। स्वस्थ एवं पोषणयुक्त खाना सबैको प्राथमिकतामा पर्छ। स्वस्थ रहन नियमित व्यायाम गर्न जरुरी छ र त्यहीअनुसार खाना खाने ज्ञान पनि हुनु जरुरी मानिन्छ।

आफ्नो उमेर, वजन, उचाइ, काम लगायतका कुरालाई ध्यानमा राखेर खाना खानु नै खुराक अनुशासनमा बस्नु हो। एकै पटकमा टन्न खाएर दिउँसोभर भोकै बस्नु पनि खुराक अनुशासनभित्र पर्दैन। जसले स्वास्थ्यमा नराम्रो असर गरिरहेको हुन्छ। प्रायः नेपाली ग्यास्टिकले ग्रसित हुनुको कारण पनि खुराक अनुशासनमा नबस्नु हो। हरेक कुरा समय तालिकाअनुसार गर्नाले शरीरमा समस्या कम आउँछ।

बिहानको खाजा–नास्ता गहकिलो हिसाबले सन्तुलन मिलाएर लिन सकिन्छ। त्यसपछि बिहानको खाना कमै मात्रामा लिँदा राम्रो हुन्छ। दिउँसोको नास्ता पनि लाइट खालको खानु उत्तम मानिन्छ र बेलुकाको खाना त झन् कम र सहज रुपमा पच्ने खालको हुनु जरुरी छ। खाना सन्तुलनसहित झोल पदार्थ अर्थात् पानी पनि प्रशस्त पिउनु जरुरी छ। कुन खानामा कुन तत्व कति पाइन्छ, पूर्ण ज्ञान हुनुका साथै शरीरलाई स्वस्थ राख्न कतिसम्म क्यालोरी हुन जरुरी छ, त्यो पनि ख्याल गर्नुपर्ने हुन्छ। सकेसम्म चिल्लो पदार्थ कम गर्दा शरीरका लागि राम्रो मानिन्छ।

खुराक अनुशासनमा बस्दा हुने फाइदाहरू
– सधैं तन्दुरुस्त र फुर्तिलो भइन्छ, जसले काममा चाख जगाउँछ।
– अनआवश्यक वजन घटाउन मद्दत गर्छ।
– क्यान्सर जस्तो घातक रोग लाग्नबाट जोगाउँछ।
– मुटुसम्बन्धी रोगबाट जोगाउन मद्दत गर्छ।
– आगामी पुस्ताका लागि पनि फाइदा पुग्छ।
– हड्डी र दाँत मजबुत बनाउन मद्दत पु¥याउँछ।
– काम गर्ने इच्छामा पूर्ण परिवर्तन ल्याउँछ।
– स्मरण शक्तिमा सुधार ल्याउँछ।
– सुताइमा सुन्दर रातको अनुभव दिलाउँछ।
– काम गर्ने शक्तिमा वृद्धि हुन्छ।
– दीर्घ जीवनका लागि ठूलो सहायता पु¥याएको हुन्छ।
– तनाव कम हुनुका साथै सधैं खुसी हुने बानी बसाउँछ।
– बौद्धिकतामा वृद्धि हुँदै जान्छ।
– मधुमेह, उच्च रक्तचाप जस्ता दीर्घ रोग हुनबाट बचाउँछ।
– पेट छरितो बनाउन मद्दत पु¥याउँछ।

-(बुढाथोकी सोल्टी क्राउन प्लाजाका सु–सेफ हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here