पूर्वराजाको पक्षमा जनता सडकमा उत्रनुले गरेको संकेत

121

काठमाडौं / नेपालको राजनीतिमा जनताले वैकल्पिक राजनीतिक शक्तिको खोजी सुरु गरेको संकेत हुन थालेको छ । दुईतिहाइ बहुमतको सरकार देशमा हुँदाहुँदै यो अवस्था किन आयो ? सत्तामा पुगेका दलका नेताहरू गम्भीर बन्न जरुरी छ।

प्रतिनिधिसभा र प्रदेशसभामा वाम गठबन्धनका पक्षमा निर्वाचनको परिणाम आउनु, त्यस लगत्तै दुई ठूला वामबीच एकता हुनु र जनताले विकास र समृद्धिको चाहना गर्नु संयोग मात्र होइन । त्यो त वर्तमान दुईतिहाइ नेतृत्वको सरकार र त्यसको नेतृत्व गरेको दलप्रतिको जनताको विश्वास र भरोसाकै परिणाम हो । अघिल्लोपटक नौ महिने सरकारको नेतृत्व गरेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनताप्रति देखाएको आशाको परिणाम पनि निर्वाचन तथा दुई ठूला दलबीच एकीकरणको वातावरण बनेको हो ।

प्रजातन्त्र र समृद्धिको नाममा मात्र विगत ७ दशकदेखि ठगिदै आएका जनताले त्यो अपेक्षा राख्नु स्वाभाविक थियो । विश्व २१औँ सताब्दीको समयसँगै चलिरहेका बेला १८औँ र १९औं सताब्दिलाई समेत पछ्याउन नसकेका नेपालीहरूले सपना देख्नु गल्ती पनि थिएन । आन्दोलनका नाममा धेरैपटक धोका सहेका नेपालीका लागि यसपटक पनि धोका शिवाय केही मिलेन । दैनिकी उस्तै छ, जीवनशैली झन कष्टकर छ, परिवर्तन देखे त आफैले चुनेर पठाएका जनप्रतिनिधिको जीवनशैलीमा मात्र । त्यसैले यसपटक पनि नेपाली जनताले ठगिएको महसुस गरिसकेका छन् । त्यसैको परिणाम हो कहिले पूर्वराजाको स्वागतमा झुम्मिने त कहिले अन्य वैकल्पिक राजनीतिक शक्तिहरूसँग नजिकिएर गतिविधि सहभागी हुने जनताको अवस्था रहेको छ।

जनतामा सत्तारुढ दल र प्रमुख प्रतिपक्षिसँग समेत विश्वास नहुनुको मुख्य कारण ती दलहरूको आन्तरिक एकता हुन नसक्नु नै हो । जसको परिणामस्वरूप देशको एजेण्डामा पनि एकता बन्न सकिरहेको छैन । भर्खरै एकीकरण प्रक्रियामा गएको नेकपा गुटगत राजनीतिको सिकार हुँदा राष्ट्रियता र जनतन्त्रका विषय ओझेलमा पर्दै गएका छन् । त्यसको परिणाम सरकारको काम गर्ने शैलीमा पनि देखिदै गएको छ । जसले गर्दा जनतामा चरम निराशा बढ्दै गएको छ । अर्काेतर्फ सरकारलाई सजग र खबरदारी गर्नुपर्ने दल नेपाली कांग्रेस पनि आन्तरिक गुटको राजनीतिमा रुमलिदै गएको छ । हाल चलिरहेको नेकपाको स्थायी कमिटी बैठक तथा कांग्रेसको महासमिति बैठकमा सतहमै देखिएको गुटबन्दीले दुवै दलमा आन्तरिक एकताको संकट देखिएको स्पष्ट हुन्छ ।

पार्टीभित्रै आन्तरिक एकता कायम हुन नसक्दा राष्ट्रियता तथा जनजीविकाका विषयमा पनि ती दलहरू प्रष्ट हुन सकिरहेका छैनन् । त्यसको परिणाम राष्ट्रिय राजनीतिमा पनि पर्दै गइरहेको छ । परिणाम जनतामा चरम निराशा मात्र नभएर वर्तमान राजनीतिक शक्तिसँग आक्रोशसमेत बढ्दै गइरहेको छ।

एकातर्फ मुलुक लामो संघर्षपछि शान्तिप्रक्रियाको चरणमा छ, अर्काेतर्फ जनताको विश्वास प्राप्त दलहरूप्रति जनताको विश्वास गुम्दै गइरहेको छ । त्यस बीचमा अझै सशस्त्र क्रान्तिको सम्भावना कायमै रहेको भन्दैआएका विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) तथा गोपाल किराती नेतृत्वको माओवादी केन्द्रका बीचमा एकतासँगै जनयुद्धका बाँकी कार्यभार पूरा गर्ने विषयमा छलफल भइरहेको चर्चा पनि त्यत्तिकै चर्चित छ । यदि वर्तमान सरकार र राजनीतिक दलहरूबाट जनताका पक्षमा अग्रगामी परिवर्तनका क्षेत्रमा काम हुँदै गएको भए तत्कालका लागि वैकल्पिक शक्तिको खोजी वा संघर्षको विषयले ठूलो महत्व पाउँदैनथ्यो । सरकार दिनप्रतिदिन अलोकप्रिय हुँदै जानु, जनताले जनजीविका र अधिकारकै लागि संघर्ष गर्नुपर्ने अवस्था सृजना हुनु र प्रतिपक्षको भूमिकासमेत सशक्त नहुँदा जनताले बाध्य भएर वैकल्पिक शक्तिको खोजी गर्नुपर्ने अवस्था सृजना हुँदै गइरहेको छ । यसै पनि पछिल्लो समय वर्तमान व्यवस्थाप्रति जनताको विश्वास गुम्दै गएको छ । अर्काेतर्फ प्रमुख राजनीतिक दलहरूबाट पश्चगामी भनिएका शक्तिहरूले आफ्नो पुनरागमनको सपनासमेत देख्न थालिसकेका छन् ।

यसबीचमा वर्तमान व्यवस्थाको मालिक भनिनेहरूबाटै विस्तारै व्यवस्थाप्रति वितृष्णा फैलाउने कामले गणतन्त्रको जग हल्लिन थालेको आभास हुन थालेको छ । पूर्वराजा ज्ञानेन्द्र शाह होटेलभित्र पारिवारिक जमघटमा नाच्दासमेत गणतन्त्र खतरामा परेको पुष्पकमल दाहाल र प्रधानमन्त्री केपी ओलीका टिप्पणीले नै वर्तमान व्यवस्थाको जग कति बलियो रहेछ भनेर अनुमान गर्न सकिन्छ । अर्काेतर्फ राजतन्त्रको वकालत गर्ने राप्रपा देशव्यापी रूपमा जागरण अभियानमा लाग्नु, नयाँ वर्ष मनाउन पोखरा पुगेका राजालाई स्वागत गर्न हज्जारौँ जनता सडकमा उत्रनु पक्कै पनि वर्तमान व्यवस्थाका लागि शुभ संकेत होइन । राज्यसत्ताको नेतृत्वमा रहेका शक्तिहरू सधै शक्तिमा भइन्छ जस्तो व्यवहार गर्ने र प्रतिपक्षले सत्तापक्षले राम्रो काम नगरे अर्काे निर्वाचनमा आफू शक्तिमा आउने समय कुरेर बस्ने प्रवृत्तिले नेपालमा नयाँ व्यवस्थाको र वैकल्पिक शक्तिको सम्भावनालाई थप बलियो बनाउँदै लगेको छ ।

व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठ्न नसक्ने वर्तमान राजनीतिक दलहरूको कार्यशैलीले नेपाल पुनः अर्काे राजनीतिक संकटको भुँमरीमा पर्ने सम्भावना बढ्दै गइरहेको देखिन्छ । यसतर्फ जतिसक्दो छिटो ध्यान नपु¥याउने हो भने वालुवाटार, खुमलटार र बुढानिलकण्ठबाट चलिरहेको वर्तमान राज्य व्यवस्था अन्तै सिफ्ट हुने खतरा संकेत भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here