पानी र जवानी निर्यातमै ओली सरकार सक्रिय

709

–निमकान्त पाण्डे
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलो पटक नेपाल भ्रमणका क्रममा ३ अगष्ट २०१४ का दिन नेपालको संविधानसभालाई सम्बोधन गर्ने क्रममा ठट्यौली पारामा भनेका थिए–‘पानी र जवानी पहाडमा टिक्दैन ।’

बुझ्नेका लागि यो भनाइ निकै गम्भीर थियो । किनभने लामो समयदेखि नेपालको पानीमा भारतीय स्वार्थ र नियन्त्रण रहँदै आएको थियो भने नेपाली चेलीहरू पनि देह व्यापारका लागि भारतमा खरिदबिक्रीका वस्तु जस्तै बनेका थिए । जुन कुरालाई भारतीय प्रधानमन्त्री मोदीले संकेत गरेका थिए ।

भलै जनताको प्रतिनिधि बनेर संविधानसभामा बसेकाहरूले त्यो सांकेतिक हमलालाई नबुझी मोदीकै बोलीमा सहमति जनाउँदै थपडी पिट्ने काम गरे । जबकी लामो समयदेखि नेपालले भोग्दै आएको समस्याका बारेमा कसैले बोल्ने हिम्मत समेत गरेनन् । जुन हाम्रो बिडम्बना हो ।

मोदीकै कारण नेपालमा नाकाबन्दी गरियो । त्यही नाकाबन्दीमा अडान लिएका कारण वर्तमान प्रधानमन्त्री लोकप्रिय बने र अहिलेको दुई तिहाईको सरकार र नेकपा एक्लैलाई प्रष्ट बहुमत प्राप्त हुनु ओलीले भारतीय हस्तक्षेपका विरुद्ध लिएको अडान मुख्य कारण थियो भन्ने कुरा सबैलाई थहा छ ।

राष्ट्रियताका विषयमा अडान लिनसक्ने परिचय बनाएका वर्तमान प्रधानमन्त्री ओलीले दुई तिहाई सरकारको नेतृत्व गरेको एक वर्ष पुग्न लागिसक्यो । यसबीचमा नौ महिने सरकारको नेतृत्व गर्ने ओली र दुई तिहाई सरकारको नेतृत्व गर्ने ओलीका बीचमा निकै भिन्नता देखियो । कमजोर सरकारको शक्तिशाली ओलीका सामु शक्तिशाली सरकारको नेतृत्व गर्ने ओली निरीह र कमजोर मात्र देखिए । त्यसको उदाहरण पानी र जवानीकै विषयलाई हेरे पुग्छ ।

अनावश्यक हस्तक्षेपका विरुद्ध भारतसँग झुक्दैनौँ भन्ने प्रधानमन्त्री ओलीले शक्तिशाली सरकारको नेतृत्व गरे यता आफ्नै अडानमा टिक्न सकेको देखिएन । भारतले नेपालका नदीहरूमा गरिरहेको अनावश्यक नियन्त्रणलाई मुक्त गर्न ओली सरकार दृढ देखिएन । माथिल्लो कर्णाली र अरुण ३ जस्ता महत्वपूर्ण जलभण्डार भारतकै पोल्टामा पार्न वर्तमान सरकार नै सक्रिय देखियो । आफैले सहमति जनाएको बहुचर्चित महाकाली सन्धि, गण्डकी र कोशीमा समेत नेपालको हित र स्वार्थ खोज्ने काममा ओली सरकार चुकिरहेको छ । यत्ति मात्र होइन, पछिल्लो समय नेपालबाट भारतमा चेलिबेटी बेचबिखनका घटनाहरू समेत सतहमै देखिन थालेका छन् । बरु भारत र नेपालकै केही अधिकारकर्मी संस्थाहरूले नेपाली चेलिबेटीको उद्धार गरेर नेपाल फर्काइरहेका छन् । तर सरकार यसमा निरिह बनिरहेको छ ।

भारतीय प्रधानमन्त्रीले नेपालको संसदमै आएर तिमीहरूको पानी र जवानी हामीले नै प्रयोग गर्छौँ भन्ने घुमाउरो भनाईलाई स्वाभिमान प्रति सजग छु भन्ने वर्तमान प्रधानमन्त्री ओलीले गम्भिरताका साथ लिन सक्नुपथ्र्याे, तर त्यो गम्भिरता प्रधानमन्त्री र वर्तमान सरकारसँग देखिएन । बरु नेपालको पानीमाथि भारतीय गिद्धे नजरलाई निरन्तरता दिँदै थप सहयोगका लागि वर्तमान सरकार अग्रसर देखियो भने नेपाली चेलीहरूको इज्जतमाथि वर्षाैँदेखि खेंिलदै आएका घटनाले पनि निरन्तरता पाउँदै आइरहेको छ ।

बरु वर्तमान सरकार पानी र जवानीलाई थप निर्यातमै जोड दिँदै आएको छ । विगतमा भारतमा मात्र निर्यात हुँदै आएको नेपालको जवानी अव खाडी मुलुक हुँदै अफ्रिकन मुलुकमा समेत विक्री हुन सुरु भएको छ । वर्तमान सरकार नेपालको सबैभन्दा महत्वपूर्ण प्राकृतिक स्रोत पानीलाई छिमेकी मुलुकको स्वार्थ अनुसार प्रयोग गर्न र विकासको मेरुदण्ड मानिने युवा जनशक्ति चाहे त्यो श्रम गर्न होस् वा देह व्यापारकै लागि नै किन नहोस् ! विदेशमा निर्यातका लागि सरकारले नै सहज वातावरण बनाउँदै गइरहेको छ ।

शक्तिशाली सरकार बनेसँगै नेपालभित्रै रोजगारीका अवसर प्राप्त हुने अपेक्षा राखेका नेपाली युवाहरू अहिले थप निराश बन्दै गइरहेका छन् । सरकार स्वेदशमै रोजगारी सिर्जना गर्ने भन्दा पनि थप रोजगार गन्तव्य मुलुक खोज्ने नाममा युवाहरूलाई पलायनकै बाटो तयार पार्दै गइरहेको छ । जसको परिणाम नेपालको विकासका लागि आवश्यक जनशक्ति कम हुँदै गइरहेको छ भने यसका कारण सामाजिक, सांस्कृतिक र अन्य विभिन्न किसिमका समस्याहरू पनि उत्पन्न हुँदै गइरहेका छन् । प्रत्येक दिन वैदेशिक रोजगारीमा जानेहरूको मृत शरीर बाकसमा बन्द भएर आउने क्रम बढ्दै गइरहेको छ भने रोजगारीका शिलशिलामा विदेशिने प्रवृत्तिले पारिवारीक विखण्डनका समस्या पनि जटील बन्दै गइरहेका छन् । यसले युवाहरूमा निराशा भन्दा केही दिन सकिरहेको छैन ।

अर्काेतर्फ जलस्रोतमा धनी हाम्रो देश नेपालका महत्वपूर्ण जलस्रोत भारतलाई जिम्मा लगाउँदा अहिले पनि नेपालले भारतबाट विद्युत आपूर्ति गर्नुपर्ने विडम्बना छ । यहाँको जलस्रोतको सदुपयोग गर्दै जलविद्युत निर्यात र सिंचाई मार्फत कृषि क्षेत्रको विकास र रोजगारीको सिर्जना गर्नुपर्ने नेपाल अहिले कृषि उपज र जलविद्युतमा समेत भारतमाथि निर्भर हुनुपर्ने बाध्यता बढ्दै गएको छ । यसले वर्तमान सरकार पानी र जवानी बेचेरै आफ्नो सत्ता टिकाइराख्न क्रियाशील छ भन्ने कुरा पुष्टि गर्छ । तर यो दीर्घकालसम्म जाँदा निकै घातक र प्रत्युत्पादक हुन जान्छ । यसतर्फ सरकार किन गम्भीर हुन नसकेको हो ? बुझिनसक्नु नै छ ।- जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here