गण्डकी प्रदेशमा तमु ल्होसार उपलक्ष्यमा बिदा

103

पोखरा/गण्डकी प्रदेश सरकारले ल्होसारमा सार्वजनिक बिदा घोषणा गरेको छ । तमुहरुको उद्गम थलो मानिने गण्डकी प्रदेशलाई गण्डकी सरकारले पुस १५ गते आइतबार सार्वजनिक बिदा दिन लागेको हो ।

प्रदेश सरकारलाई त्यस्ता विशेष अवसरमा वर्षको ६ दिन दिन पाउने व्यवस्था सुरुवात ल्होसारबाट गरिएको गण्डकी प्रदेश सरकारको भनाइ छ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ल्होसारका दिन बिदा दिने निर्णय गरेको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पुस ११ गते लमजुङ घलेगाउँमा भएको एक कार्यक्रममा ल्होसारमा बिदा दिने बताएका थिए । त्यसको दुई दिनपछि मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषदको बैठकबाट औपचारिक निर्णय गराएका हुन् ।

‘प्रदेश सरकार विभिन्न जातजाति र भाषाभाषीको सम्मान र संरक्षण गर्छ । प्रदेशले वर्षको ६ दिन त्यस्ता विशेष दिनमा बिदा दिन पाउँछ,’ मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकार प्रवक्ता रामशरण बस्नेतले भने, ‘त्यसको सुरुवात ल्होसारबाट भएको छ ।’

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विज्ञप्ति पनि जारी गरेर बिदाको जानकारी दिएका छौं । ‘पौष १५ गते आइतबारका दिन तमु ल्होसार पर्व परेकाले गण्डकी प्रदेशस्थित सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बिदा दिने गण्डकी प्रदेश सरकारबाट पौष १३ गते निर्णय भएको सम्बन्धित सबैमा जानकारी गराउँदछौं,’ मानुन मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।

अहिलेका गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा ३ वटै ल्होछारलाई सार्वजनिक बिदा दिने घोषणा गरेका थिए । सरकारले यही वर्षदेखि ल्होसार लगायत विभिन्न चाडमा दिने बिदाइ कटौती गरेको थियो ।

तमु ल्होछार पुसे १५, सोनाम ल्होछार माघ प्रतिपदा र ग्याल्बो ल्होछार फागुन प्रतिपदामा सार्वजनिक बिदा दिने चलन चलाएका पृथ्वीसुब्बाले संघीय सरकारले बिदा कटौती गरे पनि प्रदेशको अधिकार अनुसार गण्डकीमा तमु ल्होसारमा बिदा दिने निर्णय गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here