वीरगञ्ज/वीरगञ्जमा रहेको नारायणी रंगशालालाई प्रादेशिक रंगशाला बनाउन माग गर्दै मानव साङ्लो बनाइएको छ ।
नेकपा, नेपाली कांग्रेस र राजपा नेपालका केही नेताहरुको बिशेष पहलमा मानव साङ्लो बनाइएको हो । दशरथ रंगशालापछि दोस्रो ठूलो रंगशाला भएपनि नारायणी रंगशालालाई उपेक्षा गरेको आरोप लगाएका छन् ।
प्रदेश २ को सरकारले नारायणीलाई प्रादेशिक रंगशाला नबनाई जनकपुरमा प्रादेशिक रंगशाला बनाउन लागेको भन्दै वीरगञ्जका केही दिनदेखि विरोध भइएरहेको छ ।
मानव साङ्लोमा सहभागीहरुले वीरगंजमा प्रादेशिक रंगशाला नबनाए प्रदेश सरकारविरुद्ध कडा भन्दा कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
राजपाका महासचिव राजेशमान सिंहले प्रदेश सरकारले नारायणी रंगशलालाई उपेक्षा गरेकोले आन्दोलनमा उत्रनु परेको बताए । ‘पहिला मध्यमाञ्चलस्तरीय रंगशालाको रुपमा नारायणी परिचित थियो, अब प्रदेश सरकार आएपछि यसलाई प्रादेशिक रंगशालाको रुपमा विकास गर्नुपर्ने हो । तैपनि भाडामा जग्गा लिएर जनकपुरमा प्रादेशिक रंगशाला बनाउन खोजिएको छ,’ उनले भने, ‘पूर्वाधार मात्रै होईन नारायणीको डीपीआर पनि तयारी अवस्थामा छ । ‘
प्रदेश सरकारको कदमले संघीय सरकारले नारायणीका लागि छुट्याएको ३ अर्ब रुपैयाँ पनि नआउने हो कि भन्ने चिन्तामा रहेको बताए । पुनः सर्वपक्षीय बैठक बसेर थप आन्दोलनका कार्यक्रम तय गरिने भएको छ ।
संरक्षणको अभावले जीर्ण बन्यो रंगशाला
दशरथ रंगशाला पछिको दोस्रोे ठूलो रंगशाला भएपनि उचित संरक्षण र मर्मत संभार नभएका कारणले नारायणी रंगशाला जीर्ण अवस्थामा छ ।
१५ हजार दर्शक अटने प्याराफिट भएपनि भत्किएर प्वाल परेकोले उत्तर र दक्षिण तर्फको प्यारापिटमा मानिसहरु बस्न सक्ने अवस्थाको छैन ।
गतवर्ष विशाल गोल्ड कपमा पूर्व र पश्चिम तर्फको प्यारापिट मात्रै प्रयोगमा ल्याईएको थियो । साल्ट ट्रेडिङ कर्पोरेसनलाई नुन गोदामको रूपमा प्रयोग गर्न दिएको कारण प्यारापिट कमजोर भएको बताइन्छ ।
०४२ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङले खेलकुदको बिकासको लागि चन्दा र करहरु संकलन गरी रंगशाला निर्माण गरेका थिए ।
झण्डै १ करोडको लागतमा रंगशाला निर्माण भएपनि रंगशालाको जमिन संरक्षणका लागि तारबार र पर्खाल केही पनि लगाईएको छैन् ।
रंगशाला परिसरमा १७ विगाहा १५ कठ्ठा ७ धुर जमीन मध्ये जिल्ला खेलकुद विकास समिति पर्साको नाममा १३ विगाहा ७ कठ्ठा २ धुर जमीन मात्रै छ ।
निर्माण भएदेखि रङ्गशाला दुई तीन पटक मात्रै मर्मत भएकोले खेलकुद विकास समितिमा राजनीतिक नियुक्ति हुने हुँदा संरक्षण गर्नुको सट्टा बजेट सिध्याउने काम मात्रै भएका कारण रंगशालाको अवस्थामा सुधार आउन सकेको छैन ।
रंगशालाको लागि २ अर्ब ६६ करोडको डीपीआर तयार पारिएको भएपनि रकमको अभावमा काम अघि बढ्न सकेको
छैन ।
अहिले पर्खाल लगाउनका लागि ७५ लाख बजेट आएको र काम भईरहेको मध्यमाञ्चल खेलकुद विकास समितिका अध्यक्ष मानदेव हजराले जानकारी दिए ।


















