विद्यार्थीले दिए डा.केसीलाई चुनौती, चिकित्सा विधेयक सम्बन्धमा केसी र थापा अनशनमा

176

इलाम /  प्रतिनिधिसभामा विचाराधीन चिकित्सा विधेयकमा आफूसँग भएको सहमति हुबहु सम्बोधन हुनुपर्ने अडान राख्दै आमरण अनशन बसिरहनुभएका प्रा डा गोविन्द केसीलाई एक युवकले चुनौति दिएका छन् ।

काठमाडौँ, कागेश्वरी मनहरा वडा नं २ निवासी २७ वर्षीय विजय थापा समितिले हालै बहुमतले पारित गरेको चिकित्सा विधेयक कसैको दवाव र प्रभावमा नपरी सार्वभौम संसद्बाट पारित हुनुपर्ने माग गर्दै यहाँ आमरण अनशन बस्नुभएको छ ।

काठमाडौँस्थित पशुपति बहुमुखी क्याम्पसका विद्यार्थी थापा मुख्य चोकस्थित लाँकुरी चौतारामा यही पुस २७ गतेदेखि अनशन थालेका हुन् । थापाले राखेका नौ मागमध्ये पहिलो माग नै प्रा डा केसीको मुख्य मागको ठीक विपरीत छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका हाडजोर्नी विशेषज्ञ प्रा डा केसीले इलाम बजारको पश्चिममा इन्द्रमाया लिम्बूको घरमा पुस २५ गतेदेखि अनशन शुरु गर्नुभएको हो । दुवै अनशनस्थलको दूरी एक किलोमिटरभन्दा कम छ ।

डा.केसीले चिकित्सा विधेयकलाई विषय बनाएर आमरण अनशन बस्नुभएको यो १६ औँ पटक हो भने विद्यार्थी थापाको दोस्रो पटक हो ।

प्रा डा केसीले यसअघिको १५ औंँ अनशन तोड्दा भएका सम्झौता सरकारले हुबहु पालना नगरेका कारण १६ औंँ चरणको आमरण अनशन बस्नुपरेको उहाँका निकट सहयोगी धर्म गौतमले जनाए । चाँडै सङ्घीय संसद्ले प्रा डा केसीका मागलाई विधेयकमा समेट्ने अपेक्षा गरिएको गौतमले जनाए ।

थापाले काठमाडौंँ उपत्यका बाहिर इलाम लगायत देशैभरि चिकित्सा कलेज खोल्न पाउने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । यो मागले समेत प्रा डा केसीलाई चुनौती दिएको छ । प्रा.डा केसी उपत्यका बाहिरसमेत मेडिकल कलेज तत्काल खोल्न नदिनुपर्ने अडानमा हुनुहुन्छ । प्रा डा केसीले कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई कारवाही हुनुपर्ने भनी अनशनको मागपत्रमा उल्लेख गर्नुभएको छ ।

इलाममै जन्मनुभएका थापाले आफ्ना बुवा भूतपूर्व नेपाली सैनिक भएको र आफू विभिन्न सामाजिक अभियानमा पहिलेदेखि नै निरन्तर लागिरहेको जनाउँदै स्वदेशमा चिकित्सा कलेज खोल्न नदिने र विदेशका कलेजमा घरबारी बन्धक राखेर अभिभावकले आफ्ना छोराछोरीलाई पढाउन पठारहनुपरेको अवस्था देखेर गत वर्ष बैशाख १३ गते काठमाडौंँको खुलामञ्चमा पहिलो पल्ट आफूले निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारीको माग राखेर सत्याग्रह गरेको जानकारी  दिए ।

इलामकै भिन्न भिन्न स्थानमा आमरण अनशन भइरहेपछि इलामका बासिन्दा विभाजित बनेको पाइएको छ । दुवै अनशनस्थलमा नेपाल प्रहरीले सुरक्षा पहरा दिँदै आएको छ । दुवैका पक्षमा समर्थनका जुलूस निस्कन थालेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here