भक्तपुर जिल्लामा आईएनजीओ निषेध

97

काठमाडौं / भक्तपुर वर्षौंदेखि नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को एकल पकडमा रहेको जिल्ला हो । भक्तपुर जिल्लामा आईएनजीओ निषेध गरिएको छ ।

नेमकिपाको २०६४ सालको संविधानसभा निर्वाचनमा भक्तपुर-२ बाट सभासद निर्वाचित सुनिल प्रजापति अहिले भक्तपुर नगरपालिकाका मेयर छन् । प्रजापति ठाडै भन्छन्, ‘मागेर विकास गरिन्न, आईएनजीओ चाहिएन ।’

आईएनजीओहरुलाई भक्तपुर नगरपालिकाभित्र पस्नै नदिने उनले जनाए । ‘६ महिना, एक वर्ष समयावधि बाँकी भएकाहरुको नवीकरण गर्दिन्छौं’ उनले भने, ‘नयाँलाई छिर्न दिँँदैनौं ।’

यस्तो सम्भव छ त ? मेयर प्रजापति भन्छन्, सम्भव छ । उनी भन्छन्, इञ्जिनियरिङ नहुँदा ३०० वर्षअघि हाम्रा पुर्खाहरुले यत्रा संरचना बनाए । अहिले हामी आफैंले संरक्षण गर्न किन नसक्ने ? आफ्नो स्वाभिमान बचाइ राख्नका खोजेका हौं हामीले । मागेर कोही ठूलो हुन सक्दैन, स्वाभिमान मूल कुरा हो । स्वाभिमानी भएर बाँच्न गाह्रो होला, तर हामीले त्यसै गर्नुपर्छ ।’

युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले १६ र १७ मंसिरमा काठमाडौंमा गरेको विवादास्पद कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको सकृयतालाई उदाहरणको रुपमा पेश गर्दै प्रजापतिले भने, ‘कति देशमा प्रतिबन्धित धार्मिक समूहको कार्यक्रममा सहआयोजक भएर दौडधुप गर्नु संविधानले दिएको अधिकार हो ?’

स्थानीय तहलाई नियन्त्रण गर्ने प्रयासलाई लोकतन्त्रमाथिकै माखेसाङ्लो भन्दै उनले थपे, ‘यो भक्तपुरको मात्र होइन, ७५३ तहकै सवाल हो । शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन नहुने स्वास्थ्यमन्त्रीको बिचार मान्न सकिन्न ।’

शिक्षालाई केन्द्रकै मातहत राखिनुपर्ने भन्दै आन्दोलन गर्न सत्तारुढ दलले भातृ संगठनहरुलाई उचालेको आरोप लगाउँदै मेयर प्रजापतिले भने, ‘दुई तिहाइको सरकार स्थानीय तहहरुलाई कठपुतली बनाउने अभ्यासमा लाग्नु दुर्भाग्यपूर्ण छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here