व्यापार वार्ताका लागि चीनका उपप्रधानमन्त्री अमेरिका जाने

88

बेइजिङ/चीनका वरिष्ट व्यापार मध्यस्थकर्ता यही महिनाको अन्त्यतिर दुई मुलुकबीचको व्यापारका विषयमा वार्ता गर्न संयुक्तराज्य अमेरिका भ्रमणमा जाने निर्णय गरेको छ । चीनको बाणिज्य मन्त्रालयले चीनका उपप्रधानमन्त्री लिउ हीको नेतृत्वको टोली जनवरी ३० मा अमेरिका पुग्ने जनाएको छ । यही महिनाको शुरुमा अमेरिकी वार्ताकारहरुले चीनको तीनदिने भ्रमण गरेका थिए । दुई मुलुकबीच सन् २०१९ को मार्चभित्रै व्यापारका क्षेत्रमा देखिएका समस्या सुल्झाउन अर्जेन्टिनाको ब्युनस आयर्समा गतवर्षको डिसेम्बरमा सहमति भएको थियो ।

“तीन महिने व्यापार युद्धविराम” नाम दिइएको उक्त सहमति बमोजिम अमेरिका र चीन दुबैले आआफ्ना बस्तु तथा सेवामा थप करवृद्धि गरेका छैनन् । चिनीयाँ वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच भएको पूर्व सहमति बमोजिम दुई मुलुकबीचको आर्थिक तथा व्यापार विषयमा गहन छलफल हुने बताउनुभयो ।

उपप्रधानमन्त्री लिउ ही अमेरिकी अर्थमन्त्री स्टीभन मनचिन तथा अमेरिकी व्यापार प्रतिनिधि रबर्ट लाइटीजरको निमन्त्रणामा अमेरिका जान लाग्नुभएको पनि गाओले जानकारी दिनुभयो ।

दुई मुलुकबीचको व्यापार वार्तामा कुनै समाधान नखोजिए आगामी मार्च २ तारिखदेखि करिब २०० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत करवृद्धि हुने अमेरिकी राष्ट्रपतिले बताउनुभएको छ । अमेरिकाले यसअघि नै चिनीया सामानमा १० प्रतिशत करवृद्धि गरिसकेको छ । चीनले समेत प्रतिशोध स्वरुप केही अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here