उत्तर कोरियाली उच्च सैन्य अधिकारी वासिङटनतर्फ

100

वासिङटन उत्तर कोरियाका एकजना वरिष्ठ सैन्य अधिकारी शुक्रबार संयुक्त राज्य अमेरिकाको वासिङटनतर्फ लाग्नु भएको छ । उत्तर कोरियाली सेनाका ती उच्च सैन्य जर्नेल किम योङ चोल उत्तर कोरियाली सरकारका एकजना प्रभावशाली व्यक्ति मानिनुहुन्छ । उहाँ उत्तर कोरियाली नेता किम जोङ उनको विश्वास पात्रका रुपमा काम गरिरहेका उच्च सैन्य अधिकारी हुनुहुन्छ ।

उत्तर कोरियाली सैन्य अधिकारीको रुपमा भएको यो अमेरिकी भ्रमणलाई एक दुर्लभ भ्रमणका रुपमा लिइएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ् उनबीच आगामी केही समयभित्रै द्विपक्षीय शिखर वार्ता हुने बताइएको छ ।

उहाँहरुबीच हुन लागेको दोस्रो शिखर वार्ताको तयारीको साथै कोरियाली प्रायद्वीपमा निःशसस्त्रिकरण र दशकौँदेखि उत्तर कोरिया र अमेरिकाबीच जारी द्वन्द्वको अन्त्यको वार्ताको लागि उत्तर कोरियाली उच्च अधिकारीको वासिङ्टन भ्रमण हुन लागेको बताइएको छ ।
चोलले शुक्रबार अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग भेटवार्ता गर्ने बताइएको छ । चोल र पोम्पेओबीचको भेटवार्ताको समयतालिका भने दिइएको छैन ।

पोम्पेओले बिहानको खानाको लागि किमलाई निम्ता गर्नुभएको र यसपछि दुवैजना ह्वाइट हाउसतर्फ जाने बताइएको छ । किमको गत नोभेम्बरको शुरुमा नै वासिङटनको भ्रमण गर्ने समय तालिका रहेको थियो । तर त्यस समयमा अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा चीसोपना आएपछि सो भ्रमण रद्द भएको थियो । किम जोङ उनले नयाँ वर्षको शुभकामनाको पत्र अमेरिकी राष्ट्रपति ट्रम्पलाई पठाएपछि पुनःसम्बन्धका नयाँपन आएको थियो ।

केही दिन अघिमात्र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई दोस्रो शिखर बैठकसम्बन्धी पत्र पठाएको समाचार अमेरिकी सञ्चारमाध्यमले खुलासा गरेको थियो । संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको आगामी शिखर वार्ताका विषयमा पत्रमा चर्चा गरेको बताइएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमबीच दोस्रो चरणको वार्ता निकट भविष्यमा हुन लागेको बताइएको छ ।

उत्तर कोरिया र संयुक्तराज्य अमेरिकाबीचको सम्बन्ध गत वर्षबाट सुधार भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच गत जुनमा सिङ्गापुरमा शिखर वार्ता भएको थियो । सो पहिलो शिखर वार्तामा छिट्टै नै अर्को शिखर वार्ता हुने भनिएको भएपनि अहिले सम्म आयोजना हुन सकिरहेको छैन । तर अमेरिकी सञ्चारमाध्यमहरुले जर्नेल चोलको यो भ्रमणपछि दुई देशबीचको आगामी शिखर वार्ताको मिति तय हुने अनुमान गरेका छन् ।
–––

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here