शहीद आज बाँचेका भए सायद संघर्षको अग्रमोर्चामा हुन्थे

176

– निशा तामाङ

आज शहीद दिवसको दिन परेछ । आजको दिन शहीदहरूकै बारेमा लेख्न मन लाग्यो । जबदेखि राजनीतिबारेमा चासो गर्न थालें तबदेखि शहीद भनेको के हो भन्ने प्रश्नको उत्तर पनि पाउँन थाले मैले । शहीद वास्तवमा व्याख्या गरेर नसकिने व्यक्तित्वको पहिचान हो । अरुको अधिकारको लागि मारिएको मानिस नै शहीद हो भन्ने कुरा मैले बुझें ।

हुन त म मर्छु नै भनेर कोही मानिस शहीद बन्न तयार भएको हुँदैन । तर मारिने सम्भावनालाई समेत बेवास्ता गर्दै अधिकारका निम्ति आन्दोलनको मोर्चामा उभिनेहरू नै मारिन्छन र शहीदको सम्मान प्राप्त गर्छन् । त्यसैले शहीदका सपना शाकार पार्ने वचनबद्धता बाँच्नेहरूले गरिरहेका हुन्छन् र शहीदको भ¥याङ चढेर सत्तामा पुग्छन् । तर विडम्वना नै भन्नुपर्छ सत्तामा पुगिसकेपछि शहीदको खेति सुरु गर्न थाल्छन् । राजनीतिलाई आजको परिवेशमा यसरी नै बुझ्नु पर्ने अवस्था देखिन्छ।

देशले रगत मागे बलि मेरो चढाउ, रुदिनन् मेरि आमा ऊ नेपालकी छोरी ! यी गीतका पंक्ति शहीदप्रतिको सम्मानमा लेखिएका हुन् । नेपालको परिप्रेक्षमा शहीद दिवस देशका लागि ज्यान दिने शहीदहरूको सम्झना गरिने दिन हो। माघ १६ गतेलाई शहीद दिवसको रूपमा मनाइन्छ। राणा शासनविरूद्ध लडेका वीर शहीदहरूको सम्झनामा नेपालमा शहीद सप्ताह पनि मनाउने गरिन्छ । धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्री लगायतका व्यक्तिहरू राणाशासनको विरुद्धमा बलिदानी दिएकाले उनीहरूकै सम्झनामा शहीद दिवस मनाउने गरिन्छ आजको दिन ।

शहीदहरूको सम्झना अरु कसैले भन्दा सत्तामा रहेका पदासीन व्यक्तिहरूले गर्ने गरेको पाइन्छ । लाग्छ , शहीदहहरूकै कारणबाट राजनीतिक नेताहरू सत्तामा पुगेका हुन् । तर नेताहरूले शहीदहरूका सपनालाई बिर्सिदिएका छन् । शहीद दिवस मनाउनु र शहीदहरू उत्पादन गर्दै जानु नै सत्तासीनहरूको दिनचर्या बनिरहेको अवस्थाले मर्नेहरू व्यर्थमा मरेछन् भने जस्तै मलाई लाग्न थालेको छ । शहीदहरूले देशलाई स्वतन्त्र तुल्याउन देश विकास गर्न तथा देशमा शान्ति कायम गर्न महत्वपूर्ण योगदान दिँदै आएको भनेर सत्तासीनहरू भन्ने गर्दछन् तर काम उल्टो गर्दछन् । विदेशी दासत्व सत्तासीनहरूले स्वीकार गर्न नछोडेसम्म देशलाई स्वतन्त्र मान्न सकिन्न । देशलाई स्वतन्त्र बनाउनको निम्ति विदेशी हस्तक्षेपबाट देश मुक्त हुनुपर्छ । कहिले कुनै देशको पराधीन नभएको नेपालका राणा शासकहरूले नेपाली जनतामाथि निरंकुशतन्त्र कायम गरेका थिए । त्यही निरंकुशतन्त्रका विरुद्ध संघर्ष गर्ने क्रममा राणा शासकहरूबाट मारिएका व्यक्तित्वहरू नै वर्तमान अवस्थासम्मका लागि स्वतन्त्रताका अगुवा मानिन्छन् । यिनै शहीदहरूको सम्मान गर्ने परम्परा शहीद दिवस बनेको छ ।

हुन त ऐतिहासिक कालखण्डमा विभिन्न वीर शहीदहरूले बलिदानी दिएका छन् । राणाशासनकालदेखि अहिलेको अवस्थासम्म नेपाली जनताले आफ्नो बलिदानी दिएर शहीद बनेका छन् । देशमा राणाशासनबाट प्रजातन्त्र ल्याउन र प्रजातन्त्र पछि लोकतन्त्र हुँदै गणतन्त्र स्थापना गर्न वीर शहीदहरूले ज्यानको बलिदानी दिएका छन् । आजको अवस्थो यिनै वीर शहीदहरूले बलिदानी दिएर नै प्राप्त भएको हो भन्न सकिन्छ ।

शहीदहरूकाबारेमा लेखिरहँदा र देशको आजको राजनीतिक, सामाजिक र आर्थिक अवस्थालाई हेर्दा शहीदहरू बाँचेका भए सायद संघर्षकोे अग्र मोर्चामा आजपनि उनीहरू नै हुन्थे जस्तो लाग्दछ । आजका सत्तासीनहरू शहीदहरूको रगतमा टेकेर नै नेता बनेका हुन् । शहीदहरूका सपना पुरा गर्ने कसम खाँदै गरेका नेताहरूले शहीदका सपना भनेको देशको स्वाधीनता हो र जनताको सन्तुष्टी हो भन्ने कुरालाई चटक्कै बिर्सिदिएका छन् । देश विकासका पुर्वाधारहरू के हुन् भन्ने कुरातर्फ आजका सत्तासीनहरूले बुझ्ने प्रयास गरिरहेका छैनन् ।

नेपाललाई स्वतन्त्र नबनाएसम्म विकासका पुर्वाधारको सदुपयोग हुनसक्ने अवस्था छैन । नेपालको स्वतन्त्रताका निम्ति नेताहरूको विवेक स्वतन्त्र हुनु जरुरी छ । नेताहरूले आफ्नो विवेकलाई विदेशीहरूको चाकडीमा समर्पण गरेर देश स्वतन्त्र हुन सक्दैन । देशलाई स्वतन्त्र बनाउन पहिलो शर्त नै नेताहरूको राष्ट्रभक्ति नै आवश्यक हुन्छ । नेताहरूले शहीदको खेती गर्ने कामलाई बन्द गर्नुपर्छ । देशको स्वतन्त्रता र जनताको सुखी जीवन नै शहीदका सपना हुन् । हाम्रा नेताहरूलाई यत्ति कुरा बुझाउन जरुरी छ । [email protected]

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here