विश्व सिमसार दिवस, मनाइँदै

263

काठमाडौँ/हरेक वर्ष फ्रेब्रुअरी २ का दिन मनाइने ‘विश्व सिमसार दिवस’ यस वर्ष ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । यसले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्ने भएकाले नै वन तथा वातावरण मन्त्रालयले सिमसार क्षेत्रको संरक्षण कार्यलाई प्राथमिकतामा राखेको छ ।

जैविक विविधताको दृष्टिले महत्वपूर्ण प्राकृतिकस्थलको रूपमा रहेको सिमसारले मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक रामचन्द्र कँडेलले सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्ने बताउनुभयो । सिमसार संरक्षण तथा पर्यापर्यटन विकासमा सिमसारले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । पर्यटकका लागि पौडी खेल्ने, डुङ्गा चलाउनेदेखि सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायतका प्राकृतिक सौन्दर्यताको अनुभव सिमसारले नै उपलब्ध गराउने उहाँले बताउनुभयो ।

सिमसारमा आश्रित समुदायको गरीबी निवारणमा पनि पर्यटन विकासले ठूलो भूमिका खेलेको हुन्छ । उपमहानिर्देशक कँडेलले भन्नुभयो, “पर्यटनले जैविक विविधताको संरक्षणलाई आर्थिक स्रोत जुटाउने कार्य पनि गर्छ भने स्थानीय समुदायलाई आर्थिक उपार्जनका लागि अवसर पनि प्रदान गर्छ ।” यसका लागि दिगो पर्यटनको विकास र सिमसार संरक्षणको उचित सन्तुलन हुनु जरुरी छ । नेपालको आर्थिक वृद्धिदरमा ३ दशमलव ५ प्रतिशत पर्यटन विकासले योगदान दिएको छ भने १५ प्रतिशत कूल वैदेशिक मुद्राको आय पनि पर्यटन विकासबाट नै हुने गरेको देखिन्छ । सिमसारको अत्याधिक उपयोग, भूमि अतिक्रमण, मिचाहा प्रजाति आदिले सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको उहाँले जानकारी दिनुभयो ।

लोपोन्मुख वन्यजन्तुको बासस्थान

विभागका अनुसार नेपालको करीब पाँच प्रतिशत भू–भाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको १९९८ को अभिलेखअनुसार नेपालमा १६३ सिमसार तराईमा छन् भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

लाखौँ घुमन्ते चरा, माछा, उभयचर, किटपतङ्ग र बोटबिरुवाका लागि महत्वपूर्ण बासस्थान हो, सिमसार । सिमसारले धेरै जनसमुदायका लागि जीवनयापनको आधार पनि प्रदान गरेको छ । विभागको तथ्याङ्कअनुसार नेपालमा पाइने १७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने ८७८ प्रजातिका चरामध्ये १९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिको वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । त्यस्तै २४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले सिमसार महासन्धि ९रामसार महासन्धि १९७१० २ फेबु्रअरी १९७१ मा इरानको रामसार भन्ने शहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन २ फेब्रुअरीलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन शुरु गरिएको हो ।

दश सिमसार रामसारमा सूचीकृत

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्दछ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या १७० पुगेको छ । साथै दुई हजार ३१४ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १७ डिसेम्बर १९८७ का दिन नेपालले कोशी टप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर १७ अप्रिल १९८८ देखि रामसार महासन्धिको नेपाल पक्ष राष्ट्र बनेको उपमहानिर्देशक कँडेलले बताउनुभयो ।

रामसार सूचीमा नेपालका कोशीटप्पु वन्यजन्तु आरक्ष, घोडाघोडी ताल, जगदीशपुर जलाशय, बीसहजारी ताल समूह, राराताल, फोक्सुण्डो ताल, गोसाइँकुण्ड ताल, गोक्यो ताल समूह, माईपोखरी र पोखराका ताल गरी जम्मा १० सिमसार सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कूल क्षेत्रफल ६० हजार ५६१ हेक्टर रहेको विभागको तथ्याङ्क छ । यस वर्षको सिमसार दिवस मन्त्रालयले गण्डकी प्रदेशको वन मन्त्रालय, पोखरा महानगरपालिकालगायत सरोकारवाला निकायको समन्वयमा पोखरामा विविध कार्यक्रम गरी भव्य रूपमा मनाउँदै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here