बेलायतद्वारा आयरल्यान्डसँगको सीमामा कडाई गर्ने घोषणा

88

लन्डन/बेलायती प्रधानमन्त्री थेरेसा मेले उत्तरी आयरल्यान्डका व्यापारिक नेताहरुलाई सम्बोधन गर्दै युरोपेली युनियन (इयू)बाट अलग्गिने (ब्रेक्जिट) गरी यसअघि भएको सम्झौतामा परिमार्जन गर्न चाहेको बताउनुभएको छ ।

प्रधानमन्त्री मेले सम्झौतामा सबैभन्दा विवादास्पद मानिएको इयू–आइरिस सीमालाई केही समय खुला गर्नेसम्बन्धी प्रावधानलाई पूर्ण रुपमा हटाउन आफूले पहल गर्ने बताउनुभयो ।

भन्सार कार्यालय र सवारी जाँच चौकी पुनः राख्न लागिएको भन्ने सम्बन्धमा प्रकाश पार्दै प्रधानमन्त्री मेले बेलायत सरकार इयूको सदस्य राष्ट्र आयरल्यान्ड र बेलायतको उत्तरी आयरल्यान्डबीच भौतिक सीमाको पक्षमा छैन भन्नुभयो ।

उत्तरी आयरल्यान्डको बेल्फास्ट भ्रमणमा रहनुभएकी प्रधानमन्त्री मेले उत्तरी आयरल्यान्ड र आयरल्यान्डबीचको सीमामा कडा प्रावधानहरु राखिन्न, तर सीमा व्यवस्था नयाँ ढङ्गबाट गर्नुपर्ने हुन्छ भन्नुभयो ।

उहाँले सन् १९९८ मा सम्पन्न सुखद शुक्रबार (गुड फ्राइडे) सम्झौताप्रति बेलायत सरकारको पूर्ण समर्थन रहेकामा समेत जोड दिनुभयो । उक्त सम्झौताकै कारण उत्तरी आयरल्यान्डमा एक दशकभन्दा बढी चलेको हिंसात्मक घटना साम्य भएको थियो ।

प्रधानमन्त्री मेका प्रतिबद्धताका शब्दले पनि ब्रेक्जिट सीमाका द्विविधालाई समाधान गर्न कठिन छ ।

बेलायतले आगामी मार्च २९ मा इयू छाड्दैछ, तर बहिर्गमन सम्झौता बेलायती संसदबाट स्वीकृत भएको छैन । बेलायती संसदले प्रधानमन्त्री मेको यसअघिको प्रस्तावलाई गत महिना भारी बहुमतले अस्वीकृत गरेको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डको सीमाको व्यवस्थापनका विषयमा बेलायती संसदमा अझै मतैक्य हुन सकेको छैन । यही सीमा विवादका कारण दशकौंसम्म हिंसात्मक घटनाहरु भएका थिए, जसका कारण तीन हजार ७०० भन्दा बढीको ज्यान गएको थियो ।

आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको खुला सीमानाका कारण मानिस र वस्तुको निर्वाध आवतजावत हुने गरेको छ । तर धेरैजसो ब्रेक्जिट पक्षधर बेलायती सांसदहरु केही निश्चित समयसम्म यो सीमा खुला गर्दा इयूका नियमहरुले बेलायतमाथि समस्या निम्त्याउने बताउँछन् । उनीहरु ब्रेक्जिट सम्झौता हुनुअघि आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमा बन्द गर्नैपर्नेमा जोड दिन्छन् । तर, युरोपेली नेताहरु प्रधानमन्त्री मेले इयूसँग गरेको सहमतिमा पुनर्विचार गर्न नसकिने बताउँछन् ।

“इयूसँग भएको बहिर्गमन सम्झौता बेलायतका निम्ति इयूबाट विस्तारै बाहिरिनका लागि राम्रो सम्झौता हो,” आइरिस प्रधानमन्त्री लिओ भाराड्करले बताउनुभयो । “हामी इयू र बेलायतसँगको भावी सम्बन्धलाई अति निकट, व्यापक र महत्वाकाँक्षी बनाउन चाहन्छौं, ताकि आउँदा दिनमा सीमा बन्द गर्न यस्तो समयसीमा कहिल्यै आवश्यक नै पर्ने छैन ।”

तैपनि, प्रधानमन्त्री मेले युरोपेली आयोगका अध्यक्ष जाँ–क्लाउड जन्कर र अरु युरोपेली नेताहरुसँग ब्रसेल्समा बिहीबार भेट गर्दै हुनुहुन्छ । उहाँले आयरल्यान्ड र उत्तरी आयरल्यान्डबीचको सीमालाई केही समय खुला गर्ने यसअघिको प्रस्तावलाई हटाउन आग्रह गर्नुहुने बताइएको छ । प्रधानमन्त्री मेले युरोपेली नेताहरुसँग छलफल गरी उहाँले संशोधित प्रस्ताव अर्को साता बेलायती संसदमा प्रस्तुत गर्नुहुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here