यौनहिंसामा परेकी बालिका समाजबाट मानसिक यातनाको शिकार

75

कावासोती / सामूहिक बलात्कारमा परेकी नवलपुरकी एक बालिका सामाजिक लाञ्छनाका कारण पढाइबाट वञ्चित हुनुपरेको छ ।

तीन वर्षअघि बलात्कारमा परेकी ती बालिकाले लामो समयपछि न्याय त पाइन् तर आफ्नो पढाइलाई भने निरन्तरता दिन सकिनन् । विसं २०७२ चैत महीनामा उनीमाथि गाउँकै तीन युवाले सामूहिक बलात्कार गरेका थिए । उनी त्यतिबेला १३ वर्षकी थिइन् । कक्षा ५ मा पढ्दै थिइन् । अति विपन्न परिवारकी ती बालिकालाई न्याय पाउनै दुई वर्ष लाग्यो । विसं २०७५ वैशाख ३० गते मात्रै जिल्ला अदालतबाट तीन पीडकलाई १३ वर्षको कैद र रु एक/एक लाख क्षतिपूर्तिको सजाय भयो ।

पीडित बालिकालाई अहिले घरमा बसेर पढ्ने वातावरण नभएको उनी जनाउँछिन् । उनलाई पढ्न त मन छ तर गाउँमा विभिन्न किसिमले लाञ्छना लाउने हुँदा उनी पढ्न गएकी छैनन् । मुद्दाको फैसला नहुँदासम्म उनी कहिले परासीको सेवा केन्द्र कहिले आफन्तीकामा बस्नु प¥यो । फैसला हुन लामो समय लाग्दा उनले आफ्नो पढाइलाई निरन्तरता दिन सकिनन् । दुई वर्षसम्म पढाइ छुटेकाले उनका साथी अहिले कक्षा ८ मा पढ्दैछन । उनी छ कक्षामा भर्ना त भइन्, विद्यालय पनि केही समय गइन् तर उनले पढाइलाई निरन्तता दिन सकिनन् ।

उनी पढ्ने विद्यालय जाने बाटोमा पीडकका परिवारको घर पर्छ । विद्यालय जाने अन्य बाटो छैन । उनी विद्यालय जाने–आउने बेला पीडकका परिवारले अपशब्द प्रयोग गर्दै गाली गर्ने गर्छन्, जसले गर्दा उनलाई विद्यालय जान मन लाग्दैन । उनी भन्छिन्, ‘म स्कूल जाँदा उनीहरूको घरको बाटो भएर हिँड्नुपर्छ, उनीहरूका आफन्तले मलाई देखेपछि थुक्छन् । नराम्रो नराम्रो भन्छन् । दोषी त उनीहरू हुन् नि ! तर म नै दोषी झैँ गर्छन् ।’

उमेर ठूलो भएको र सानो कक्षामा पढ्दासमेत उनलाई असहज भएको छ । कक्षामा सबै उनीभन्दा साना उमेरका छन् । उनलाई कतिपय साथीहरूले पनि जिस्काउने गर्छन् । सम्पत्तिको नाममा १० धुर ऐलानी जग्गा र खरको सानो झुपडी छ । बुबाआमा नै पढेलेखेका छैनन् । बुबाले सामग्री बोक्ने रिक्सा चलाउनुहुन्छ । मुस्किलले दिनको रु तीन–चार सय कमाउनुहुन्छ । चार जना छोराछोरी छन् । उनीहरूको पढाइ, लेखाइ र घरखर्च धान्नसमेत धौधौ भएको उहाँले सुनाउनुभयो।

बालिकाले क्षतिपूर्तिबापत पाउनुपर्ने रु तीन लाख अझै पाउन सकेकी छैनन् । मुद्दा फैसला हँुदा तत्कालका लागि महिला तथा बालबालिका कार्यालय नवलपरासीमार्फत क्षतिपूर्ति रकम दिने भनिएको भए पनि अदालतको पत्र प्रक्रिया पु¥याएर महिला तथा बालबालिका कार्यालय नवपरासीमा पुग्दा ढिला हुनपुग्यो । असारपछि महिला तथा बालबालिका कार्यालय खारेज भएकाले क्षतिपूर्ति रकम पनि निकासा हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here