टेष्ट ट्युब बेवीबाट ५४ वर्षिय महिला आमा बन्न सफल

116

काठमाडौं / महिनावारी सुकेको ४ बर्षपछि पनि काठमाडौंकी एक ५४ वर्षिय महिला आइभिएफ अर्थात टेष्ट ट्युब बेवी पद्धतीको उपचारबाट आमा बन्न सफल भएकी छिन् ।

ललितपुरको जालखालेखस्थित अल्का आइभिएफ एण्ड फर्टिलिटि सेन्टरमा टेष्ट ट्युब बेवी बिशेषज्ञ डा. नूतन शर्मासँग उपचार गराएकी ती महिला आमा बन्न सफल भएकी हुन् ।

टेष्टट्युबबेवी बिशेषज्ञ डा. शर्मासँग एक बर्ष पहिलेदेखि बाँझोपनको उपचार गराउँदै आएकी ती महिलाको गत आइतवार राती ९ बजे काठमाण्डौको बयोधास्थित अस्पतालमा जुम्ल्याहा सन्तान जन्मिएका छन् । जन्मिएका सन्तानमध्ये छोरीको तौल १ दशमलव ६ र छोराको १ दशमलव ४ किलो रहेको जनाइएको छ । अहिले आमा र बच्चाहरुको स्वास्थ्य अवस्था राम्रो रहको डा. शर्माले जानकारी गराउनुभयो ।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै निर्धारित समय अगावै झण्डै ३७ हप्तामै शल्यक्रियाद्वारा बच्चा निकालिएको हो ।

टेष्ट ट्युब बेवी पद्धतीबाट महिनावारी सुकेको ४ बर्षपछि पनि ५४ बर्षिय महिलाले सन्तान जन्माएको नेपालमै संम्भवत पहिलो पटक भएको डा. शर्माको अनुमान छ ।

नेपालको सन्दर्भमा उमेर बढ्दै जाँदा महिलाको हर्माेनमा आउने परिवर्तन, पाठेघरको अवस्था र विभिन्न स्वास्थ्य समस्याका कारण पनि ५४ बर्षको उमेरमा गर्भधारण हुनु असामान्य कुरा हो, त्यसमा पनि गर्भधारण परिपक्व भएर दुई सन्तान जन्मिनुले बाँझोपनको समस्या भएका बढी उमेर समुहका दम्पत्तिलाई धेरै राहत मिल्ने बिश्वास लिएको डा. शर्माले जनाउनुभयो । बढी उमेर भएकाले आफूले ती महिलालाई शुरुवातदेखि नै उच्च जोखिम समुहमा राखेर उपचार शुरु गरेको डा. शर्माले सम्झना गर्दै यो सफलताले जस्तोसुकै बाँझोपनको समस्या भएकाहरुको पनि नेपालमै उपचार सम्भव छ भन्ने पुष्टी गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here