कमलपोखरीको सौन्दर्यकरण यस्तो आकर्षक डिजाइनमा गर्ने महानगरकाे तयारी

189

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीको परम्परागत शैलीमा सौन्दर्यकरण गर्ने भएको छ ।

सौन्दर्यकरणको क्रममा कमलपोखरीको पूर्वभागमा मूलद्धार रहनेछ । मूलद्धाराबाट छिर्ने बित्तिकै एउटा पार्टी रहनेछ , जसमा शिवलिङ्ग राखिने महानगरले जनाएको छ । पोखरीको चारै कुनामा ४र४ मिटरको पार्टी निर्माण गरिनेछ । जसमा आराम गर्नुको साथै पोखरी समेत हेर्न सकिन्छ । सौन्दर्यकरणको क्रममा पोखरीभित्र ढुंगेधारा समेत राखिने छ । यसको निमार्ण लागत भने करिब साढे ७ करोड रुपैयाँ हुने महानगरले जनाएको छ ।

महानगरका इन्जिनियर प्रेम श्रेष्ठका अनुसार पोखरीको वरिपरि फुटपाथ हाल कायमै रहेको अवस्थामा राख्नुको साथै सौन्र्दयकरणको क्रममा फुटपाथमा भने सुधार गरिने जनाए ।

‘उत्तर–पूर्वको कुनामा पुरानो संस्कृति झल्किने खालको ढुंगेधारा तथा अन्य ४ वटा स-साना धारा रहनेछ,’ इन्जिनियर श्रेष्ठले भने ।

उक्त धारा पोखरीको सौन्दर्य बढाउनको लागि मात्र भएको हुदाँ धाराको पानी पिउन मिल्ने छैन । सौन्दर्यकरणको क्रममा पोखरीको बीच भागमा पानीको फोहोरा निर्माण गरिनेछ ।

‘पानीको फोहोरा गमलाको जस्तो आकृतिमा देख्न सकिन्छ भने रातको समयमा बत्तीको उज्यालोको कारण पानीको फोहोरा विभिन्न रंगमा देख्न सकिने,’ इन्जिनियर श्रेष्ठले भने ।

यस्तै पोखरीको पश्चिमी क्षेत्रमा बालबाटिका समेत हुनेछ । पिङ ,चिप्लेटी हुने हुदाँ बालबालिकाहरु खेल्न सक्ने महानगरले जनाएको छ ।

बालबाटिका सँगैको स्थानमा युवाहरुका लागि भने दुईवटा टेबल टेनिस कोर्ट हुनेछ । पोखरीको दक्षिण क्षेत्रमा भने शौचालय रहनेछ । पोखरी वरिपरि बस्नका लागि बेन्चहरु निर्माण गरिने महानगरले जनाएको छ ।

महानगरले डिजाइन आफै निर्माण गर्ने भएको छ भने निर्माणको जिम्मा भने निजी क्षेत्रलाई दिने भएको छ । निर्माणको लागि महानगरले बोलपत्र आह्वान समेत गरिसकेको छ । ७ वटा समूहले निर्माणका लागि निवेदन दिएको छ ।

हाल निवेदकहरुको मूल्यांकन भइरहेको महानगरका अधिकारी देवेन्द्र पौडेलले जनाए । जिम्मा पाएको कम्पनीले महानगरबाट कार्यदेश पाएको मितिले एकवर्ष भित्रमा निर्माण सक्नुपर्ने व्यवस्था महानगरले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here