काठमाडौं/प्रहरीलाई घुस दिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउमा परेका छन् । महानगरीय प्रहरी वृत्त कमलपोखरीले प्रहरीलाई घुस दिई प्रभावमा पार्न खोज्ने सुरेन्द्र पासवानलाई पक्राउ गरेको छ । प्रहरीले गएराती नागपोखरी स्थित बा ४१ प ५६१५ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा धुम्बाराही बस्ने रौतहटका पासवानलाई पक्राउ गरेको हो । उनले चेकजाचमा खटिएका प्रहरी टोलीलाई रू ५ सय घुस दिएका थिए । यसैगरी गएराती नै महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ महानगरपालिका १७ क्षेत्रपाटी स्थित को १४ प २६२८ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा काठमाण्डौ महानगरपालिका २३ ओमवहालका राजनराज भण्डारीले ब्लुबुक भित्र रू १ हजार राखि घुस रकम दिएकाले उनलाई पनि पक्राउ गरेको छ । दुबै जनामाथि कारबाही प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएका छन् ।















