ठूला राजनीतिक दलहरुलाई राजतन्त्रबारे पुनर्विचार गर्न कमल थापाको आग्रह

135

काठमाडौं / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गणतन्त्र स्थापनापछिको १२ वर्षको समिक्षा गर्दै राजतन्त्रबारे पुनर्विचार गर्न ठूला राजनीतिक दलहरुलाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले राजतन्त्र र हिन्दुराष्ट्रको पहिचान मेटाएको १२ वर्षसम्म देश र जनताले कुनै उपलब्धि हासिल गर्न नसकेको भन्दै यस विषयमा गम्भीर समिक्षा गर्नुपर्ने जनाएका हुन् ।

‘यो १२ वर्षको अवधिलाई इमानदारितापूर्वक समिक्षा गरौँ । किन देशमा स्थायित्व भएन ? किन परिवर्तन भएन ? राष्ट्र विखण्डनको आवाज किन उठ्यो ? शान्ति प्रक्रिया टुङ्गिनुपर्ने बेलामा अर्को माओवादी विद्रोहको विउ कहाँबाट र किन आयो ?’ –थापाले प्रश्न गरे ।

अध्यक्ष थापाले पछिल्लो १२ वर्ष देशले अवलम्बन गरेको मार्गचित्र नै त्रुटिपूर्ण भएको दाबी गरे । थापाले २०६२ सालमा तत्कालिन नेकपा माओवादी र ७ दलबीच भारतमा भएको सम्झौतालाई त्यसबेला नै आफूहरुले अपवित्र भनेर टिप्पणी गरेको स्मरण गराए ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विधि र प्रक्रिया मिचेर जनतालाई थाहै नदिई ल्याएकाले अब समिक्षा गर्नुपर्ने बेला आएको थापाको जिकिर छ । थापाले यस्तै अवस्था रहे आगामी दिनमा नेपालमा ठूलै राजनीतिक अराजकता निम्तिन सक्ने चेतावनी पनि दिए ।

थापाले लोकतन्त्रसहितको राजसंस्थाको पनि आवश्यकत्ता रहेको औँल्याएका छन् । गणतन्त्रले बेथिती मात्रै बढाएको भन्दै अब लोकतन्त्रसहितको राजसंस्था स्थापना गर्नुपर्ने थापाको भनाई छ । उनले यी सबै विषयमा गोलमेच सम्मेलन गर्न सरकारसँग मागसमेत गरे ।

केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाईएको २२ बुँदे ज्ञापनपत्रका बारेमा पुष्टी गर्दै थापाले फागुन मसान्तसम्म सरकारले सकारात्मक सम्बोधन नगरे चैत्र १ गतेदेखि जनसंघर्ष सुरु गर्ने घोषणा गरे ।

२२ बुँदे माग समेटिएको ज्ञापनपत्रमा नेपाललाई हिन्दूराष्ट्र कायम गर्नुपर्ने, गोलमेच सम्मेलन तथा सुशासनका लागि २०४६ सालपछिका प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति छानबिनलगायतका माग समेटिएको जानकारी पनि थापाले दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here