भैरहवामा ब्लड बैंक स्थापना हुने

152

भैरहवा/रुपन्देही सदरमुकाम भैरहवामा ब्लड बैंक स्थापना हुने भएको छ । रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् र रगतका लागि बाहिर धाउन नपरोस् भन्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–३ स्थित सकुनी पथमा ब्लड बैंक निर्माण हुन लागेको हो। लायन्स क्लब अफ भैरहवाले उक्त ब्लड बैंक निर्माण गर्न लागेको जनाएको छ। सिद्धार्थनगर नगरपालिकाको नगरसभाको निर्णयबाट उपलब्ध भएको साढे १ कठ्ठा जग्गामा निर्माण हुन लागेको क्लबका अध्यक्ष रवीन्द्र शर्मा घिमिरेले बताए । मेडिकल हबको रुपमा विकसित हुँदै गएको भैरहवामा रहेको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजको नजिकै ब्लड बैंक निर्माण गर्न लागिएको बताउनु भयो ।

रेडक्रसले सञ्चालन गर्दै आएको ब्लड बैंक अब लायन्सले पनि सञ्चालन गर्ने उनले जानकारी दिए। ‘रगतको आवश्यकता भएका बिरामीले बुटवलबाट रगत ल्याएर उपचार गराउनुपर्ने बाध्यता थियो, त्यसको अन्त्यका लागि अभियान सञ्चालन गर्दैछौं’, उनले भने, ‘सबैको सहयोग रहनेमा विश्वस्त छौं,’। १ कठ्ठा जग्गामा ब्लड बैंकको दुईतल्ले भवनमा निर्माण हुने र यसको लागत सवा १ करोड रहने निर्माण समितिका संयोजक हेमन्त अग्रवालले बताए। भवनमा फ्रिज, जेनेरेटर, पार्किङ स्थल, भन्डारण कक्ष, बाथरुम, ट्रान्सफर्मर लगायतका उपकरण जडान गरिने उनले बताए। अहिले सञ्चालनमा रहेका ब्लड बैंकहरुभन्दा अझ बृहत रुपमा सञ्चालन लक्ष्य रहेको अग्रवालको भनाइ छ। ब्लड बैंक स्थापनापछि सम्पूर्ण नगरबासीलाई सुविधा पुग्ने क्लबका संस्थापक अध्यक्ष गणेश बहादुर क्षेत्रीले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here